चन्द्र पन्दाक
ताप्लेजुङ, चैत १६ गते । चैत पहिलो सातापछि सुरु भएको बेमौसमी वर्षाका कारण ताप्लेजुङको हिमाली भेगमा बाक्लो हिमपात भएको छ । पछिल्लो एक सातायता दिनहुँ वर्षा भइरहेको र वर्षाका कारण हिमाली भेगमा हिमपात भएको हो । हिमपातका कारण पर्यटनमा असर पुगेको व्यवसायी बताउँछन् ।
यसपटक उच्च भेगसँगै हिमाली बस्तीसम्म नै हिमपात भएको छ । बाक्लो हिमपात भएपछि हिमाली भेगका बासिन्दा र पर्यटक बढी प्रभावित भएका छन् । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा बस्ती, वडा ७ ओलाङ्चुङगोलाको याङ्मा र मौवाटार बस्तीमा बाक्लो हिमपात भएको छ ।
ओलाङ्चुङगोलाका स्थानीय तेन्जिङ शेर्पाका अनुसार गोला बस्तीसम्म नै सामान्य हिमपात भएको छ । चार हजार २०० मिटर उचाइ रहेको जिल्लाकै उच्च हिमाली बस्ती याङ्मा र मौवाटार क्षेत्रमा करिव आधा फिटसम्म हिउँ परेको स्थानीयले बताएका छन् । निरन्तरको बेमौसमी वर्षा र हिमपातका कारण स्थानीय प्रभावित बनेका छन् । हिमपातले गर्दा पशुपालन पेशासहित हिमाली भेगका बासिन्दाको दैनिकमा असर पुग्ने गरेको शेर्पाले बताउनुभयो ।
लेलेपको घुन्सा बस्तीमा शुक्रबार निकै बाक्लो हिउँ परेको सामुदायक वन उपभोक्ता महासङ्घ नेपाल ताप्लेजुङका अध्यक्ष सुरज ओझाले जानकारी दिनभयो । अध्यक्ष ओझाका अनुसार कञ्चनजङ्घा आधार शिविर जाने पदमार्गमा पर्ने पर्यटकीय वस्ती घुन्सामा गाउँ ढाक्नेगरी सेताम्मे हिउँ परेको छ । घुन्सा बस्तीसम्म नै हिमपात भएपछि त्यहाँको जनजीवन प्रभावित बनेको छ ।
यस्तै पर्यटकीय मौसमसमेत सुरु भई सकेको समयमा वर्षा र हिमपात भएकाले पर्यटन क्षेत्रमा असर पुगेको छ । कञ्चनजङ्घा आधार शिविर क्षेत्र, सिँजेमा ताल, तिम्बुङ पोखरी र प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा बाक्लो हिमपात भएका कारण पर्यटकहरु प्रभावित भएका छन् । बाक्लो हिमपात भएपछि कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने बाह्य तथा आन्तरिक पर्यटक प्रभावित बनेका पर्यटन व्यवसायी तेन्जिङ सेराप शेर्पाले बताउनुभयो ।
कञ्चनजङ्घा आधार शिविर क्षेत्र लोनाकमा होटल व्यवसायसमेत गर्दै आउनुभएका व्यवसायी शेर्पाले पछिल्लो सातायता निरन्तर हुँदै आएको वर्षाका कारण आधार शिविर क्षेत्रमा बाक्लो हिमपात भएको जानकारी दिनुभयो । बाक्लो हिउँ परेका कारण कञ्चनजङ्घा भ्रमणमा आएका केही विदेशी तथा स्वदेशी पर्यटक लोनाक र पाङ्पेमा आधार शिविर क्षेत्रमा रोकिएका शेर्पाले बताउनुभयो ।
यस्तै तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरा दर्शनमा आउने धार्मिक पर्यटक तथा तीर्थयात्रीलाई पनि हिमपातका कारण निकै असहज भइरहेको छ । हिउँ परेको क्षेत्रमा पदयात्रा गर्दा चिप्लिएर लड्ने र लेक लाग्ने अधिक सम्भावना हुने भएकाले पर्यटक तथा तीर्थयात्रीलाई असहज हुने पर्यटन व्यवसायी बताउँछन् । दीर्घरोगी तथा कमजोर स्वास्थ्य अवस्था भएकालाई हिउँ परेका बेला हिमाली भेगमा लेक लाग्ने लगायतका अन्य समस्या आउने सम्भावना बढी हुने गर्दछ ।
त्यसो त अहिले भएको हिमपातका कारण कञ्चनजङ्घा र पाथीभरा क्षेत्रमा गरी लेक लागेर दुई जनाको ज्यान गइसकेको छ । आइतबार बिहानको राति करिव २ः३० बजेको समयमा कञ्चनजङ्घा क्षेत्र लोनाक आधार शिविर पुगेका एक व्यक्तिको लेक लागेर मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लास्थित समृद्ध पहाड नामक संस्थाको योजना अधिकृतका रुपमा कार्यरत जुल्मा, कनकासुन्दरी गाउँपालिका–५ का ३३ वर्षीय चन्द्रजङ्ग हमालको मृत्यु भएको छ ।
लोनाकमा पुगेका बेला शनिबार अचानक विरामी हुनुभएका हमाललाई हेलिकोप्टरमार्फत उद्धार गर्ने प्रयास गरिए पनि प्रतिकूल मौसमका कारण सम्भव भएको थिएन । विरामी हुनुभएका हमाललाई मौसमका कारण हेलिकोप्टरमार्फत उद्धार गर्न नसकिएको र बोकेर तल्लो क्षेत्रसम्म झार्नलाई पनि बाक्लो हिउँका कारण सम्भव नभएको पर्यटन व्यवसायी सेराप शेर्पाले बताउनुभयो । हमालको शव आइतबार एभरेष्ट एयरको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
त्यस्तै पाथीभरा दर्शनमा आएका पाँचथर, हिलिहाङ गाउँपालिका–२ का हरि श्रेष्ठका तीन वर्षीय छोरा सोहनको गएको सोमबार मृत्यु भएको थियो । आफ्ना अभिभावक र आफन्तसँग आएका बालक पाथीभरा दर्शन गरेर फर्कने क्रममा अचानक बिरामी भएका र उपचारका लागि जिल्ला अस्पताल ताप्लेजुङ पुर्याएको केही समयमै मृत्यु भएको थियो । सो समयमा पाथीभरा क्षेत्रमा हिउँ परेको र हिउँका कारण लेक लागेर बालकको मृत्यु भएको अनुमान गरिएको थियो ।
ताप्लेजुङमा अझै वर्षा हुने क्रम रोकिएको छैन । पछिल्लो एक सातायता प्रत्येक दिन साँझको समय र राति वर्षा हुँदै आएको छ । कुनै दिन बिहानै र दिउँसोसमेत वर्षा हुने गरेको छ भने घाम नलागेर हिजोआज दिनहुँ मौसम बदली र धुम्मिने गरेको छ । वर्षा अर्थात पानी पर्ने क्रमसँगै हिमाली भेगमा हिमापात पनि जारी रहेको छ ।