• १२ असोज २०८१, शनिबार

पहुँचवाला दुर्घटनाकर्ता

blog

नवराज कट्टेल 

विराटनगर, पुस १८ गते । दुर्घटना गराउने पहुँचवाला भएपछि विराटगरमा एक जना बालक र उनका बुबा–आमा अस्पतालबाट घर फर्किनबाट रोकिएका छन्। मोरङको सुन्दरहरैँचा १ पचामका १३ वर्षीय रूपेश खवास दुर्घटनापछि अस्पताल भर्ना भएर आराम भइसक्दासमेत घर फर्किनबाट रोकिनु परेको हो। 

मङ्सिर २ गते रुपेशलाई स्कुटरले ठक्कर दिएर घाइते बनाएको थियो। घाइते बालकको आर्या न्यूरो अस्पताल विराटनगरमा उपचारका लागि भर्ना गरिएको थियो। त्यसयता रुपेश अस्पतालको शय्यामा छन्। गम्भीर घाइते बालकको उपचारपछि स्वास्थ्यमा सुधार आइसकेको छ। चिकित्सकले घर लैजान सुझावसमेत दिइसकेका छन्। उपचारबापतको रकम भुक्तानी भए घर पठाउन सकिने अवस्था छ। 

तर दुर्घटना गराउने पक्ष अहिलेसम्म अस्पताल आइपुगेकै छैन। मोरङ सुन्दरहरैँचाका दिलकुमार खवासले चलाएको स्कुटर सियाराम माझीको नाममा थियो। दिलकुमार खवाससँग लाइसेन्ससमेत थिएन। त्यति हुँदासमेत बालकको उपचारको सुनिश्चित व्यवस्था राज्यको निकायले गर्न नसक्दा घर फर्किन सकेका छैनन्। 

कक्षा ४ मा अध्ययनरत रुपेशका बुबा–आमा अछेकुमार र राजवती खवास घर र अस्पताल गरिरहनुभएको छ। ढेड महिना अगाडिदेखि अस्पताल बसाइले दैनिक कामसमेत रोकिएको छ तर दुर्घटना गराउने पक्षले उपचारबापतको रकम नबुझाएका कारण अझै कति दिनसम्म विराटनगर छोड्न नपाइने हो भन्ने यकिन छैन। 

खाना कता खाने, कसरी खाने यकिन छैन, बुबा अछेकुमारले भन्नुभयो, “मेरो डेढ लाख खर्च भइसकेको छ, बाँकी पाँच लाख रुपियाँ अस्पतालमा बुझाउन दबाब छ। अछेकुमारसँग आफ्नै स्वामित्वमा जग्गा जमिन छैन। अरूको जग्गामा अधियाँ खेती गर्दै आएको सुनाउनुभयो। आर्या न्यूरो अस्पतालका निर्देशक दिनेश ठाकुरका अनुसार बिरामीको उपचार गराएर आराम भइसक्दासमेत दुर्घटना गराउने पक्ष उपस्थित भएको छैन। अस्पताल प्रशासनले भने इलाका प्रहरी कार्यालय बेलबारीलाई पत्र लेखेर दुर्घटनाको उपचार भइरहेको र सोबापतको भुक्तानी बाँकी रहेको जानकारी गराएको छ। 

इलाका प्रहरी कार्यालय बेलबारीले पीडकबाट पीडितको उपचार खर्च भराउने प्रयास गरिरहेको बुझिएको छ तर पहुँचवाला पीडक भएका कारण प्रहरीले उनीहरूकै पक्षमा काम गरिरहेको पीडितहरूको भनाइ छ। घटनामा बारेमा मोरङका प्रहरी प्रमुख शान्तिराज कोइरालालाई समेत जानकारी गराइसकिएको छ। कोइरालाले कानुनी प्रक्रियासँगै घाइतेको उपचारबापतको रकम भराइने आश्वासन दिनुभएको आफन्तहरू बताउँछन्।