• १२ असोज २०८१, शनिबार

निर्माण ढिलाइ भएपछि ठेक्का तोड्ने तयारी

blog

सचिन पोख्रेल

विराटनगर, पुस १८ गते । सडक निर्माण अभियानमा अत्यधिक ढिलाइ तथा लापरबाही भएपछि पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत खोटाङको चखेवा भन्ज्याङ–सेखुवा सडक खण्ड कालोपत्रे योजनाको ठेक्का तोड्ने तयारी गरिएको छ। निर्माण कम्पनी भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्दिसाई जेभी, काठमाडौँको अधिक ढिलासुस्तीका कारण सो सडक खण्डअन्तर्गतको दस किलोमिटर दूरीको निर्माण कार्य अलपत्र भएपछि ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको हो।

ठेकेदार कम्पनीले सडकमा कालोपत्रे गर्ने काम पूरा गर्ने सङ्केत नदेखिएपछि सडक निर्माणसम्बन्धी ठेक्का तोड्नका लागि सडक विभाग समक्ष सिफारिस गरिएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालयका प्रमुख सिनियर डिभिजन इन्जिनियर दीपेन्द्र पाण्डेले जानकारी दिनुभयो।

कार्यालयले पटक पटक औपचारिक रूपमा सूचना प्रकाशित गरेर कामलाई अगाडि बढाउन अनुरोध गरे पनि निर्माण कम्पनीले काममा कुनै प्रगति नगरेको बताइन्छ। सम्झौताअनुसार सार्वजनिक खरिद सम्झौता, सार्वजनिक खरिद ऐन, ०६३ तथा नियमावली ०६४ बमोजिम ठेक्का तोड्न सिफारिस गरिएको प्रमुख सिनियर डिभिजन इन्जिनियर दीपेन्द्र पाण्डेको भनाइ छ।

सम्झौताबमोजिम कालोपत्रे निर्माणको काम तोकिएको समयमा सम्पन्न नगरेपछि पटक पटक मौखिक तथा लिखित निर्देशनदेखि सूचना प्रकाशन गर्दासमेत कार्य सम्पन्न गर्नेतर्फ कुनै चासो नदेखाएको प्राविधिकको गुनासो छ। 

सिनियर डिभिजन इन्जिनियर पाण्डेका अनुसार सो सडकमा गर्नुपर्ने कालोपत्रेको काम करिब ३४ प्रतिशत मात्र भएपछि ठेक्का सम्झौता रद्द गर्ने प्रक्रियामा लगिएको हो। कालोपत्रेको काममा चरम ढिलासुस्ती भएपछि पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजनाको कार्यालयले उक्त निर्माण कम्पनीसँग २०७५ सालको फागुन ३० गतेसम्ममा काम सम्पन्न गर्ने गरी २०७२ साल चैत २ गते सम्झौता गरेको थियो।

सो सडक निर्माणका लागि गरिएको सम्झौताअनुसार काम नभएपछि पहिलो पटक २०७७ पुस १३ गतेसम्मका लागि समय अवधि थपिएको थियो भने दोस्रो म्याद २०७८ असार १३ गतेसम्मका लागि र तेस्रो पल्ट २०७८ फागुन ३० गतेसम्म काम सम्पन्न गर्ने गरी अवधि थप गरिएको थियो। यसरी पटक पटक अवधि थप गरिए पनि काममा कुनै प्रगति नदेखिएपछि कार्यालयले बाध्य भएर ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको कार्यालयले जनाएको छ। 

खोटाङ जिल्लाअन्तर्गत पर्ने चखेवा भञ्ज्याङ–सेखुवा सडकमा कालोपत्रे गर्ने काम सकिएपछि भोजपुरदेखि खोटाङ हुँदै काठमाडौँ आवतजावत गर्न स्थायी रूपमा छोटो र सहज बाटो खुल्ने छ। मध्यपहाडी राजमार्गअन्तर्गत भोजपुर तथा खोटाङभित्र पर्ने अन्य सबै सडक खण्ड कालोपत्रे भइसक्दा पनि चखेवा भन्ज्याङदेखि सेखुवासम्मको दस किलोमिटर सडक हालसम्म कालोपत्रे हुन सकेको छैन।