• २० असोज २०८१, आइतबार

नदीजन्य पदार्थको चोरी निकासी बढ्यो

blog

रामेछाप समाचारदाता

रामेछाप, पुस १८ गते । हरेक वर्ष असारदेखि भदौ महिनासम्म नदीजन्य पदार्थ उत्खनन गर्न नपाउने कानुनी व्यवस्था रहेको छ। अन्य समयमा पनि स्थानीय तहले लगाउने व्यवस्थित ठेक्कामार्फत वा आवश्यक राजस्व बुझाएरै मात्रै उत्खनन र निकासी गर्न पाइन्छ। तर, रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुम खैरेनीस्थित सुनकोसी नदीमा हरेक मौसममा रातको समयमा एक्साभेटर नै लगाएर नदीजन्य पदार्थ (ढुङ्गा, गिटी र बालुवा)को उत्खनन गरी तस्करी भइरहेको छ। 

खाँडादेवी गाउँपालिका–१, राकाथुम खैरेनीस्थित सुनकोसी नदीमा रातको समयमा नदीजन्य पदार्थ उत्खनन र चोरी भइरहेको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले बताउनुभयो। “गाउँपालिकाले नदीजन्य पदार्थ उत्खननका लागि बोलपत्र आह्वान गरेको छ तर यहाँ रातको समयमा टेन्डर नभएको ठाउँमा एक्साभेटर नै लगाएर नदीजन्य पदार्थको तस्करी भइरहेको छ,” उहाँले भन्नुभयो। 

बिहीबार राति नदीजन्य पदार्थ उत्खनन गरी चोरी गरिरहेको अवस्थामा दुईवटा एक्साभेटर र तीनवटा टिप्पर नियन्त्रण लिई प्रहरीलाई बुझाएको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताउनुभयो। रातको समयमा नदीजन्य पदार्थ तस्करी भएको भन्ने विषयमा जिल्ला प्रशासन कार्यालयले आवश्यक छानबिन गरिरहेको रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बताउनुभयो। उहाँले भन्नुभयो, “बिहीबार राति नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा एक्साभेटर र टिप्परहरू नियन्त्रणमा लिइएको छ। यसका बारेमा आइतबार सम्बन्धित पक्षसँग छलफल गरी आवश्यक प्रक्रिया अगाडि बढाउँछौँ।” 

जिल्ला समन्वय समिति रामेछापका प्रमुख चिना खड्का कार्कीले खाँडादेवी गाउँपालिका–१, राकाथुमको खैरेनीस्थित सुनकोसी नदीबाट रातको समयमा नदीजन्य पदार्थको तस्करी हुने गरेको भन्ने जानकारी आएको बताउनुभयो। “खैरेनीस्थित सुनकोसी नदीबाट रातको समयमा नदीजन्य पदार्थको तस्करी भइरहेको भन्ने जानकारी आएको छ, यसका बारेमा जिल्लास्थित सरोकारवाला निकायसँग आवश्यक छलफल गरी तत्काल अनुगमन गरी आवश्यक प्रक्रिया अगाडि बढाउछौँ,” उहाँले भन्नुभयो। 

अब नदीजन्य पदार्थको तस्करीलाई रोक्न स्थानीय तह, प्रहरी प्रशासन सबै जिम्मेवार भएर लाग्न आवश्यक रहेको उहाँले बताउनुभयो। जिल्लाको विभिन्न स्थानमा यसरी रातको समयमा नदीजन्य पदार्थको तस्करी हुँदा राजस्व गुमिरहेको छ भने अर्कोतिर अव्यवस्थित उत्खननले चौतर्फी जोखिम बढाइरहेको छ।