• १७ चैत २०८२, मङ्गलबार

दीपक खरेलको एकल साँझ हुने

blog

काठमाडौँ, चैत १७ गते । गायक तथा सङ्गीतकार दीपक खरेलको पहिलो बृहत् अर्केस्ट्रासहितको एकल साँझ ‘इकोज अफ इटरनिटी’ चैत २७ गते शुक्रबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना हुने भएको छ । कार्यक्रममा खरेलले आफ्ना कालजयी ‘पूर्णिमाको रात पनि’, ‘तिम्रो त्यो हँसिलो मुहारको’, ‘यो कर्मभूमिको आँगनमा’, ‘प्रतीक्षा गर मेरी मायालु’, ‘बादल बनाइदेऊ’, ‘गरुँ कि मिठो भूल’ र ‘बिहानीको सिरेटोमा’ सहित १७ गीत प्रस्तुत गर्ने छन् ।

सो साङ्गीतिक साँझमा नर्वेका चार जना कलाकारसहित कुल ५२ जना वाद्यवादक तथा १६ जना युवा तथा बालबालिकाको कोरस प्रस्तुति रहने आयोजक संस्था सुधाकर भ्वाइलिन स्कुलले जनाएको छ । कार्यक्रममा ११ वर्षदेखि ७० वर्ष उमेर समूहका सङ्गीतकर्मीको सहभागिता रहने र यसले सङ्गीतको तीन पुस्ताबिचको साङ्गीतिक सेतु निर्माण गर्ने आयोजकले जनाएको छ । “नेपाली सुगम सङ्गीत रुचाउनेका लागि यो कार्यक्रमबाट अविस्मरणीय अनुभव दिनका लागि म तयारी गरिरहेको छु । यस खालको अर्केस्ट्रासहितको कार्यक्रमले श्रोतालाई एउटा फरक अनुभव दिने छ,” गायक खरेलले बताउनुभयो । 

आफ्ना गीतमार्फत उहाँले राष्ट्रभक्ति, प्रेम, वियोग र मानवीय संवेदनालाई सरल तर गहिरो ढङ्गले प्रस्तुत गर्नुभएको छ । चार सयभन्दा बढी गीत तथा १४ एल्बममार्फत नेपाली सङ्गीतलाई समृद्ध बनाएका खरेलको गायन शैली अनुकरण गर्न कठिन मानिन्छ ।