घोडाघोडी समाचारदाता
घोडाघोडी (कैलाली), चैत १७ गते । लम्कीचुहा नगरपालिका–५ की ४४ वर्षीय उमा बुढाले कपडा सिलाउने काम थालेको २७ वर्ष भयो । उहाँ एकल महिला हुनुहुन्छ । आफ्नो कमाइबाट उहाँ परिवार पाल्दै छोरालाई उच्च शिक्षा दिलाउन पनि सफल हुनुभएको छ । तीन हजार रुपियाँको हाते मेसिनबाट सिलाइ सुरु गरेकी बुढाले गत वर्ष नगरपालिकाबाट एउटा आधुनिक सिलाइ मेसिन सहयोग पाउनुभयो । त्यो क्षण स्मरण गर्दै बुढाले भन्नुभयो, “अहिलेसम्म कतैबाट केही सहयोग पाएको थिइनँ । नगरप्रमुख सुशीला शाहीले मलाई सम्झनुभयो । धेरै खुसी लाग्यो । यसबाट मलाई ठुलो राहत मिलेको छ ।”
बुढा जस्तै लम्कीबजारमा सिलाइ व्यवसाय गर्ने अर्की महिला हुनुहुन्छ, देबु टमटा । उहाँले पनि पोहोर साल नगरपालिकाबाट मेसिन पाउनुभएको थियो । लम्कीचुहा नगरपालिका–७ की स्थायी बासिन्दा ४२ वर्षीय देबुमा अपाङ्गताको समस्या छ । एउटा खुट्टा दुई वर्षकै उमेरमा गुमाएकी उहाँले २० वर्षअगाडि नेपाल अपाङ्ग सङ्घको सहयोगमा सिलाइकटाइसम्बन्धी तालिम लिनुभएको थियो । सरकारबाट खासै सहयोग नपाएको बताउने उहाँले नगरपालिकामा शाही नगरप्रमुख भएर आएपछि आफूले पहिलो पटक सहयोग पाएको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाबाट महिलालाई आत्मनिर्भर बनाउन उनीहरूकै इच्छा अनुसार सहयोग भएको छ । यसले महिलालाई केही प्रोत्साहन मिलेको छ ।”
उमा र देबु जस्ता समाजमा पछाडि परेका विपन्न महिलालाई लम्कीचुहा नगरपालिकाले चालु आर्थिक वर्षमा ४५ वटा सिलाइ मेसिन सहयोग गरेको जनाएको छ । उपप्रमुख जुना चौधरीले सिलाइकटाइ सिप सिकेका तर मेसिन किन्न नसकेर खाली बसेका वा आफ्नो व्यवसाय बढाउन नपाएका महिलालाई नपरपालिकाले मेसिन सहयोग गरेको स्पष्ट पार्नुभयो । १० वटै वडाका विपन्न, दलित, अपाङ्गता भएका, अल्पसङ्ख्यक, एकल महिलाले मेसिन पाएपछि अहिले उनीहरूले सिकेको सिपलाई प्रयोगमा ल्याएका छन् ।
उपप्रमुख चौधरी भन्नुहुन्छ, “मेसिन पाएपछि कोही बजारमा सिलाइ व्यवसाय गर्नुहुन्छ, कसैले गाउँघरमै कपडा सिलाएर थोरै भए पनि आम्दानी गर्न थाल्नुभएको छ ।”
लम्कीचुहाका नगरप्रमुख सुशीला शाहीले आफू आइसकेपछि महिला स्वरोजगारमा जोड दिएको बताउनुभयो । मेसिन वितरणबाहेक लम्कीचुहाले १० वटा वडामा दुई/दुई लाख रुपियाँका दरले लक्षित वर्गका लागि बजेट छुट्याएको छ । वडामा आवश्यकता अनुसार सो बजेट खर्च गरिने नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख शाही भन्नुहुन्छ, “चुनावमा बोलेको विषयमा काम गरेको छु । सबै टोलमा काम भएको छ । महिनामा चार वटा टेन्डर गरेको छु । म नगरप्रमुख भएर आएपछि धेरै सङ्घसंस्था काम गर्न आएका छन् । त्यसले महिलालाई आर्थिक सशक्तीकरणमा सहयोग मिलेको छ ।”
शाही महिलाका लागि सिपमूलक तालिम, अचार बनाउनेदेखि मोटरसाइकल बनाउने, पार्लर, सिलाइकटाइ, दुनाटपरी उद्योग एवं व्यवसाय सञ्चालनमा सहयोग गरेको बताउनुहुन्छ ।