भुवन कार्की
रुपन्देही, चैत १७ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाभित्र रहेका पर्यटकीय स्थलहरूलाई नगरपालिकाले व्यवस्थित गर्दै लगेको छ। पर्यटकीय स्थलहरूको स्तरवृद्धि भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा पनि वृद्धि भएको छ। यहाँका प्रमुख पर्यटकीय गन्तव्यहरू यस प्रकार छन्ः
वनवाटिका
तिलोत्तमा–२, शंकरनगरमा अवस्थित शंकरनगर बन बिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) प्रमुख पर्यटकीय स्थल हो। बुटवल तथा भैरहवाबाट सहजै पुगिने यो स्थलमा विभिन्न प्रजातिका रुखबिरुवा, सानो चिडियाखाना र बाल उद्यान रहेका छन्। यहाँ हरिण, अजिंगर, बाँदर, मयुर, खरायो तथा अन्य चराचुरुङ्गी अवलोकन गर्न सकिन्छ।
वनभोजका लागि आकर्षक सेडहरू निर्माण गरिएको छन्। प्रवेश शुल्क सामान्यतया २०–५० रुपियाँसम्म राखिएको छ भने विद्यार्थीलाई छुट दिइन्छ। वनवाटिकाको समग्र विकासमा नगरपालिकाले करिब ७ करोड रुपियाँ लगानी गरेको छ। यहाँ वार्षिक करिब साढे तीन लाख पर्यटक आउने गर्छन्।

वनवाटिका भित्र रहेको तिलोत्तमा भ्यू टावर पनि पर्यटकका लागि आकर्षक मानिन्छ। दस तले टावरमा वरिपरिको दृश्य देख्न सकिन्छ। टावरमा विभिन्न जिवजन्तुको आकार पनि निर्माण गरिएको छ। करिब १२ करोड रुपियाँ लगानीमा निर्माण भए पनि पूर्ण सञ्चालन अझै हुन सकेको छैन।
अस्ट्रिच फर्म
तिलोत्तमा–१७ मा रहेको अस्ट्रिच फर्म पनि पर्यटकको लागि विशेष गन्तव्य हो। यहाँ संसारकै दुर्लभ र ठुलो चरा अस्ट्रिच नजिकबाट अवलोकन गर्न पाइन्छ। विद्यार्थी तथा अनुसन्धानकर्ताका लागि उपयुक्त फर्ममा अस्ट्रिचको छाला, मासु तथा अण्डा खरिद गर्न पनि सकिन्छ। सामान्यतया एक सय प्रवेश शुल्क राखिएको छ।
कुन्जपार्क
तिलोत्तमा मध्यभाग, मंगलापुर नजिक अवस्थित कुन्जपार्क शान्त र सुन्दर वातावरणका लागि परिचित छ। पार्कमा बगैचा, सानो पोखरी, डुंगा तथा बनभोजका लागि सेडहरू निर्माण गरिएको छ। म्युजिकल वाटर फोहरा निर्माणको लागि नगरपालिकाले करिब एक करोड २७ लाख सहयोग उपलब्ध गराएको छ।

वाटरपार्कहरू
नगर क्षेत्रमा निजी क्षेत्रबाट सञ्चालित बुटवल वाटरपार्क, लुम्बिनी वाटरपार्क, वाटर फनपार्क लगायत जलपर्यटनका लागि आकर्षक स्थलहरू रहेका छन्। यी पार्कमा वाटर स्लाइड, साना र ठुला स्वीमिङ पुल, रेस्टुरेन्ट तथा रिसोर्टको व्यवस्था छ।
धार्मिक स्थलहरू
तिलोत्तमा क्षेत्रका प्रमुख धार्मिक स्थलहरूमा निलकण्ठबाबा धाम, शंकरनगर शिव मन्दिर, मणिग्राम हनुमान मन्दिर, रामजानकी मन्दिर, श्री सिद्धबाबा टेम्पल, दुर्गा मन्दिर, कृष्ण मन्दिर, बुद्ध बिहार, नन्देश्वर शिवालय आदि पर्छन्। यी स्थलहरूमा साना–ठुला धार्मिक कार्यक्रमहरू चलिरहेका हुन्छन्।
नगरप्रमुख रामकृष्ण खाँण का अनुसार तिलोत्तमा नगरपालिकाले साना र ठूला सबै पर्यटकीय स्थल तथा पार्क, मन्दिर लगायतका संरचनाको स्तरवृद्धिका लागि आवश्यक सहयोग र समन्वय गरिरहेको छ। यसले पर्यटकको संख्या बढाउन समेत मद्दत गरेको छ।
