वसन्त पराजुली
नारायणगढ, चैत १७ गते । भरतपुर महानगर पालिकाको वडा नम्बर १९ र माडी नगर पालिकामा जापनिज इन्सेफलाइटिस रोगविरुद्धको खोप लगाइने भएको छ । चैत २५ देखि ३० गतेसम्म सञ्चालन गर्न लागिएको सो खोपको तयारी तीव्र बनाइएको मङ्गलबार भरतपुरमा आयोजित जिल्ला खोप समन्वय समितिको बैठकमा जानकारी दिइयो ।
बैठकमा बोल्नुुहुँदै स्वास्थ कार्यालय चितवनका प्रमुख निर्मल घिमिरेले जापनिज इन्सेफलाइटिस रोगको चितवनमा सबैभन्दा जोखिम ठानिएका दुई स्थानमा खोप सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।
“यो राष्ट्रिय अभियान होइन । विशेष परिस्थितिमा सञ्चालन गरिएको खोप कार्यक्रम हो । हामीले चितवनमा जोखिम क्षेत्र भएका स्थान छानेर खोप दिन थालेका हौँ”, उहाँले भन्नुभयो ।
विगत पाच वर्षको अवधिमा चितवनमा ३८ जना जापनिज इन्सेफलाइटिसका सङ्क्रमित भेटिएका छन् । जसमध्ये भरतपुर महानगरको वडा नम्बर १९ मा ४ जना र माडी नगरपालिकाका सात जना रहेका छन् । इन्सेफलाइटिस एकै ठाममा दुई जना बिरामी भेटिए त्यो सङ्क्रमण मानिन्छ ।
प्रमुख घिमिरेले चितवनमा यो पटक ३२ वर्ष माथिका २२ हजार जनालाई खोप लगाइने योजना रहेको पनि जानकारी दिनुभयो । यसका लागि स्थानीय निकायसँग समन्वय गरी स्वास्थ्य प्राविधिकहरूको टोली खटाइने बताइएको छ ।
चितवनमा यस अघि सन् २००८ मा ३० वर्ष मुनिका लागि यो खोप दिइएको थियो ।
इन्सेफलाइटिसको उच्च ज्वरो आएर मस्तिस्कसम्बन्धी समस्या हुने लक्षण हुने चिकित्कसहरूले जनाएका छन् । यो विशेषत सङ्क्रमित क्युलेक्स जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग भएको घिमिरेले जानकारी दिनुभयो ।
सुङ्गुर, बङ्गुर, हाँस जस्ता जनावर तथा पक्षीबाट लामखुट्टेमा र लामखुटेबाट मान्छेमा यो रोग सर्ने गर्दछ । यो रोग सार्ने लामखुट्टे विशेष त फोहोर पानीमा बस्ने पनि उहाँले जनाउनुभयो ।
बैठकको अध्यक्षता गर्दै समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले खोप अभियान सफल बनाउन सबैलाई निर्देशन दिनुभयो ।