• १७ चैत २०८२, मङ्गलबार

योजनाको भइसक्यो भुक्तानी आउँदैन धारामा खानेपानी

blog

हुम्ला समाचारदाता

हुम्ला, चैत १७ गते । सदरमुकाम सिमकोटको खानेपानी समस्या दिगो रूपमा समाधान गर्नका लागि निर्माण भएको बृहत् खानेपानी योजनाको अन्तिम भुक्तानी भइसकेको छ तर सो आयोजनाबाट बनेका धारामा पानी भने आएको छैन । योजना अन्तर्गत निर्माण कम्पनीले आफ्नो काम सम्पन्न भएको जनाए पनि उपभोक्ताले गर्नुपर्ने काम नगरेका कारण धारामा पानी नआएको बताएको छ । योजनाको काम सकिएबापत खानेपानी तथा ढल निर्माण कार्यालय जुम्लाबाट अन्तिम भुक्तानी भइसकेको छ । 

सिमकोट गाउँपालिका–४, ५, ६ र ७ का लागि खानेपानीको दिगो व्यवस्था गर्नका लागि निर्माण गरिएको बृहत् खानेपानी योजनाले उपभोक्ताको धारामा पानी नखस्दै कार्यालयबाट अन्तिम भुक्तानी लिइसकेको खानेपानी तथा ढल निर्माण कार्यालय सुर्खेतका प्रमुख मनोजराज दैवज्ञले बताउनुभयो । यसअघि सो कार्यालय जुम्लामा रहेको थियो । गत साउनदेखि सो कार्यालय सुर्खेत सरेको हो । २०७८ सालको असार १० गते खानेपानी तथा ढल निर्माण कार्यालय जुम्लाले एएम धुलिखेल निर्माण कम्पनीसँग आयोजना निर्माणका लागि सम्झौता गरेको थियो । 

यसका लागि १७ करोड २९ लाख ३२ हजार रुपियाँ लागतमा निर्माण कम्पनीले कामको जिम्मा लिएको हो । निर्माण कम्पनी पक्षले गर्नुपर्ने काम सबै गरेको आधारमा अन्तिम भुक्तानी दिएको भए पनि त्यो काम कार्यालयले राम्रो नगरेको उहाँले बताउनुभयो । उहाँले अन्तिम भुक्तानी निर्माण कम्पनीलाई दिँदा उपभोक्ताले गर्नुपर्ने कामका सम्बन्धमा कुरा उठाउनुपर्नेमा त्यो नगरेको जानकारी दिनुभयो । त्यसमा उपभोक्ताले गर्नुपर्ने कुरा पनि कार्यालयले उठाएर काम पूरा गराउनेतर्फ कुनै चासो नदिएका कारण यो योजना अलपत्र अवस्थामा रहेको अधिकारकर्मी रामबहादुर भण्डारीले बताउनुभयो । यसका लागि सिमकोट गाउँपालिका र कार्यालयबिच पनि कुल लागतको नौ प्रतिशतले हुन आउने रकम बराबरको काम उपभोक्ताले गर्नुपर्ने उल्लेख छ । यस्तो सम्झौता भएर पनि काम गराउन गाउँपालिकाले चासो नदिएको आरोप कार्यालय प्रमुख दैवज्ञको छ । 

निर्माण कम्पनीका सबइन्जिनियर अमृत सिंहले सम्झौता अनुसार कम्पनीले निर्माण गर्नुपर्ने मुहानमा इन्टेक, पाइप लाइन खन्ने कामलगायत ट्याङ्की निर्माण गर्नुका साथै तीन वटा विद्यालयमा पनि निर्माणको काम सम्पन्न गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले गत भदौमा नै खानेपानी ट्याङ्कीमा खसालेका हौँ । सम्झौतामा उपभोक्ताले आफ्ना घरसम्म पाइप लाइन जोड्ने र धारा निर्माण आफैँ गर्नुपर्ने  उल्लेख छ तर हालसम्म त्यो काम हुन नसकेपछि घर घरमा पानी पुग्न नसकेको हो ।”

यो योजनाबाट ९५१ उपभोक्ताको घरमा धारा जडान हुनुपर्ने सम्झौतापत्रमा उल्लेख छ । यो योजनाको मर्मतका लागि सिमकोट गाउँपालिकाले ३७ लाख ४८ हजार २३८ रुपियाँको मर्मतसम्भार कोष खडा गर्नुपर्ने भए पनि त्यो पनि हुन सकेको छैन । निर्माण कम्पनी पक्षको काम सम्पन्न भएको भए पनि उपभोक्ताको काम नभएका कारण योजना अधुरो रहेको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताउनुभयो । अब गाउँपालिका, निर्माण कम्पनी र कार्यालय बसेर यो समस्या समाधान गरी घर घरमा धारा निर्माण गरेर पानी खसाल्नुको विकल्प नरहेको उहाँको भनाइ छ ।