हुम्ला समाचारदाता
हुम्ला, चैत १७ गते । कर्णाली कोरिडोरको सिमकोट–हिल्सा सडकखण्डको हेक्पाखोलामा सम्झौता भएको आठ वर्षपछि पक्की पुलको निर्माण सम्पन्न भएको छ । हिल्सा–सिमकोट सडक योजनाको पटक पटक म्याद थप र ताकितापछि सो पुल निर्माण भएको हो ।
सम्झौता भएको आठ वर्षपछि सिमकोट र नाम्खा गाउँपालिकाको सिमानामा रहेको हेक्पाखोलामा पक्की पुलको निर्माण पूरा भएको हिल्सा–सिमकोट सडक योजनाका प्रमुख बेलबहादुर नेपालीले बताउनुभयो । पुलको निर्माण पूर्ण रूपमा सम्पन्न भएपछि हाल यातायातका साधनसमेत सञ्चालनमा आएका छन् । पुल नबन्दा यसअघि हेक्पाखोलामा काठेपुलबाट यातायातका साधन सञ्चालन हुने गर्दथे । कार्यालयले चार पटक म्याद थप गरेपछि निर्माण कम्पनीले बल्ल पुलको निर्माण सम्पन्न गरेको उहाँले बताउनुभयो ।
पुल हिल्सा–सिमकोट सडक योजनाले २०७४ साउन ६ गते निर्माण अगाडि बढाउने गरी सपना धुलिखेल जेभीसँग सम्झौता गरेको थियो । सो अवधिमा २०७६ साल साउन १५ गते पुलको निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको थियो । तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि पटक पटक गरी चार पटक कार्यालयले म्याद थप गरेर काम अगाडि बढाएको थियो । २५ मिटर लम्बाइ र फुटपाथसहित १० मिटर चौडा उक्त पुल निर्माण भएर सञ्चालनमा आएपछि यातायातका साधनलाई सहज भएको छ । पुल निर्माणमा ११ करोड २९ लाख दुई हजार रुपियाँ लागत लागेको छ । यतिबेला सडक सञ्जाल नजोडिएका कारण चीनको ताक्लाकोटबाट खच्चडमा निर्माण सामग्री ढुवानी गर्नुपर्ने भएपछि काममा ढिलाइ भएको निर्माण कम्पनीका सबइन्जिनियर धनराज शाहीले बताउनुभयो ।
जब हुम्ला औपचारिक रूपमा सडक सञ्जालसँग जोडिएपछि जिल्लाबाहिरबाट खरिद गरेर ढुवानी गर्नुपर्ने सामग्री सहज रूपमा ढुवानी हुन थालेपछि पुनर्निर्माण कार्यले गति लिएको उहाँको भनाइ छ । हेक्पाखोलाको पुल निर्माण सम्पन्न भएपछि अब सिमकोट हिल्सा र लिमी लाप्चाको सडकमा यातायात सेवा सञ्चालनमा सहजता भएको छ ।