गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत १७ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व लक्ष्यप्राप्तिमा लाग्न भन्सारका कर्मचारीलाई निर्देशन दिनुभएको छ । भन्सार विभागको अनुगमन गरी जानकारी लिँदै गर्दा उहाँले त्यस्तो निर्देशन दिनुभएको हो ।
उहाँले भन्सार विभागका कर्मचारीलाई इमानदारीपूर्वक राजस्व लक्ष्यप्राप्तिमा लाग्न निर्देशन दिँदै राजस्व सङ्कलनमा इमानदारीपूर्वक लागे मन्त्रालयले प्रोत्साहनका कार्यक्रम ल्याउन सक्ने पनि बताउनुभयो ।
राजस्व सङ्कलन बढाएर सरकारको बृहत् समृद्धिको लक्ष्य पूरा गर्न प्रधानमन्त्रीको पनि खास चासो रहेको भन्दै उहाँले मन्त्रालय र प्रधानमन्त्री कार्यालयबाट समेत विशेष अनुगमन भइरहेको बताउनुभयो । त्यस क्रममा उहाँले विभागमा रहेको भन्सार ल्याबको पनि अनुगमन गर्नुभएको थियो ।
‘अब निजी क्षेत्रले घुस खुवाउनु पर्दैन’
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको निजी क्षेत्रले अबदेखि घुस खुवाउनु नपर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका प्रतिनिधिसँग सोमबार मन्त्रालयमा भेट गर्दै उहाँले निजी क्षेत्रले अबदेखि लाइन लाग्नु नपर्ने र थुनिनु नपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो क्रममा उहाँले नेपालमा लगानीसहित रोजगारी बढाउन निजी क्षेत्रका प्रतिनिधिसँग आग्रह गर्नुभयो । आफू घुस खान नभई काम गर्न आएको उहाँको भनाइ थियो । “म घुस खान आएको होइन, कसैलाई खान पनि दिन्नँ,’ उहाँले भन्नुभयो, “म अर्थतन्त्रको जहाज मोडेर देशलाई नयाँ गतिमा लैजान आएको हुँ ।”
सो क्रममा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रले अबदेखि दुःख नपाउने बताउनुभयो । सरकार निजी क्षेत्रको सहयात्री भएकाले यसको विकासमा लाग्ने उहाँको भनाइ थियो । आर्थिक बेइमानीमा अब आर्थिक जरिबानामै जाने प्रबन्ध गर्ने भएकाले उद्योगी व्यापारी थुनिनु नपर्ने उहाँले बताउनुभयो ।
राज्य साथी र सहयात्री बन्दा निजी क्षेत्र पनि बेइमानी नहोला भन्ने अपेक्षा रहेको उहाँको भनाइ थियो । नियोजित बेइमानी कसैले गर्छ भने त्यसमा भने सरकार निर्मम बन्ने उहाँले बताउनुभयो । त्यस्तै उहाँले निजी क्षेत्रका सुझावलाई ग्रहण गर्दै अर्थतन्त्र सुधारका लागि संरचनागत सुधार, नीतिगत स्पष्टता र कार्यान्वयनमा प्रभावकारिता ल्याउन सरकार प्रतिबद्ध रहेको धारणा राख्नुभयो ।
भेटका क्रममा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले सुरुमै निजी क्षेत्रका धेरै माग सम्बोधन हुने गरी काम गरेको बताउनुभयो । त्यस्तै उहाँले सरकारबाट निजी क्षेत्रले लगानीमैत्री वातावरण, कर प्रणालीमा सुधार र निजी क्षेत्रको मनोबल उच्च बनाउने नीतिगत निर्णयको अपेक्षा गरेका धारणा राख्नुभयो । आगामी नीति तथा कार्यक्रम एवं बजेट निजी क्षेत्रमैत्री हुनुपर्नेमा उहाँको जोड थियो । सो क्रममा उहाँले मुलुक अझै सङ्क्रमणमा रहेको र छिमेकी मुलुक बङ्गलादेशले समेत स्तरोन्नतिको समय सार्न पहल गरेकाले नेपालको स्तरोन्नतिको समय सार्न सरकारले पहल गर्नुपर्ने सुझाव दिनुभयो ।
महासङ्घका निवर्तमान अध्यक्ष शेखर गोल्छाले राजस्व न्यायाधिकरण जस्ता संस्थाको पुनर्संरचना आवश्यक रहेको बताउनुभयो । त्यस्तै उहाँले पश्चिम एसियाको सङ्कटले नेपाललाई पार्न सक्ने असरबारे सरकारले ध्यान दिनुपर्ने सुझाव दिनुभयो ।
महासङ्घका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले वैदेशिक नीति तर्जुमा गर्दा देशको अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राख्नुभयो ।