• १७ चैत २०८२, मङ्गलबार

‘प्राथमिकतामा सुकुमवासी समस्या समाधान’

blog

हरिप्रसाद कोइराला 

उर्लाबारी, चैत १७ गते  । प्रतिनिधि सभामा मोरङ–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बनेर निर्वाचित हुनुभएका गणेश कार्कीले निर्वाचन क्षेत्रको सुकुमवासी समस्या र दोहोरो स्वामित्वको जग्गा व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ । 

उहाँले संसद् पुगेर कानुन निर्माणसँगै आफ्नो निर्वाचन क्षेत्रको विकासमा महìवपूर्ण काम गर्ने बताउनुभयो । आफू जन्मेको भूगोलमा नै सुकुमवासी र जग्गामा दोहोरो स्वामित्वको समस्याबाट ग्रसित रहेको बताउँदै उहाँले साढे चार दशकदेखिको समस्या समाधान गाउँबाट नै सुरु गर्ने जानकारी दिनुभयो । म मोरङको निर्वाचन क्षेत्र नं. ३ का समस्यासँग अपरिचित छैन । 

शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधारका क्षेत्रमा गरिने काम आवश्यकता र प्राथमिकताका आधारमा गर्ने उहाँको भनाइ छ । कसैको भनसुनका आधारमा भन्दा स्थानीय आवश्यकताका आधारमा योजना छनोट गर्ने र ती योजना सम्पन्न गर्ने उहाँको भनाइ छ । 

कार्की नेपाली कांग्रेसका उम्मेदवार निवर्तमान सांसद डा. सुनीलकुमार शर्मालाई हराएर विजयी हुनुभएको हो । शर्मा अघिल्लो संसदीय निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार भानुभक्त ढकाललाई २२ हजार ७३६ मतान्तरले पराजित गरी विजयी हुनुभएको थियो । डा. शर्मालाई कार्कीले यो पटक १२ हजार ५७० मतान्तरले हराउनुभएको हो । कार्कीले ३६ हजार ९२४ मत पाउँदा शर्माले २४ हजार ३५४ मत पाउनुभयो । 

साबिक शनिश्चरे गाविस–८ हाल पथरीशनिश्चरे–४ मा २०४२ साल पुस २८ गते जन्मनुभएका कार्कीले प्रारम्भिक शिक्षा गाउँकै भागीरथ माध्यमिक विद्यालयबाट पूरा गर्नुभयो । २०५७ सालमा प्रवेशिका उत्तीर्ण गरेपछि उहाँले विज्ञान विषयमा कक्षा १२ उत्तीर्ण गर्नुभयो । १२ कक्षा पढ्दापढ्दै गाउँबाटै सारथी नामको हवाई पत्रिका प्रकाशन गरेर त्यसको कार्यकारी सम्पादक बन्नुभएका कार्कीले अमृत साइन्स क्याम्पसबाट बिएस्सी पूरा गर्नुभयो । अमृत क्याम्पसमा पढ्दै गर्दा नवराग साहित्यिक पत्रिकाको प्रधान सम्पादक भएर काम गर्नुभयो । पत्रिकाको सम्पादक बन्दा खासै गर्जाे चलेन । त्यसपछि उहाँ ताप्लेजुङको चाँगे माध्यमिक विद्यालयमा विज्ञान शिक्षक बन्नुभयो । बिएस्सीको नतिजा नआउँदासम्म झन्डै १४÷१५ महिना कार्कीले त्यहीँ काम गर्नुभयो । 

पोखरा विश्वविद्यालयबाट एमएस्सी सकेपछि उहाँले केही समय ‘मेडिकल रिप्रिजेन्ट’(एमआर) को जागिर खानुभयो । त्यसपछि थप उच्चशिक्षा लिन नर्वे पुग्नुभएका कार्कीले त्यहीँबाट स्नातकोत्तर पूरा गर्नुभयो । मिडियाप्रतिको पुरानो भोक जगाउन उहाँले नर्वे छँदै गाउँमा पथरी एमएफ सञ्चालनका लागि लगानी गर्नुभयो । पछि रेडियो चल्न सकेन । सञ्चार क्षेत्रमा मात्र होइन, कार्कीले ‘दोवाटे’ ‘चलनचल्ती’ र ‘स्टुडेन्ट’ नामका टेलिचलचित्र पनि उत्पादन गर्नुभयो । कुनै समय प्रेरणादायी वक्ता भएर काम गर्नुभएका कार्की २०७९ सालको स्थानीय निर्वाचनमा काठमाडौँका मेयरका उम्मेदवार बालेन्द्र शाहको चुनावी अभियान प्रमुख भएर काम गर्नुभयो । पार्टीको प्रेस संयोजक र सामाजिक सञ्जाल परिचालनको प्रमुख भएर काम गर्नुभयो । 

उहाँले शिक्षा, स्वास्थ्य र गरिबी निवारणका लागि ठोस काम गर्ने बताउनुभयो । काम गर्न बाधक भएका कानुन संशोधन, परिमार्जन तथा निर्वाचन क्षेत्रभित्र कृषि तथा घरेलु उद्योग स्थापना गरी रोजगारी सिर्जनामा आफ्नो ध्यान जाने उहाँको भनाइ छ ।