जनार्जन खत्री
सर्लाही, चैत १७ गते । सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) रामुराज कडरियाले आर्थिक गणना गर्न खटिने गणकलाई सही तथ्याङ्क दिन आग्रह गर्नुभएको छ ।
जिल्ला आर्थिक गणना कार्यालय सर्लाहीले सोमबार सदरमुकाम मलङ्गवास्थित जिल्ला समन्वय समितिको सभा हलमा आयोजना गरेको जिल्ला स्तरीय सचेतना गोष्ठीलाई सम्वोधन गर्दै सिडिओ कडरियाले सबै पक्षबाट सही तथ्याङ्कको अपेक्षा गरिएको बताउनुभएको हो । “सही तथ्याङ्क दिइयो भने मात्र विकासको मार्ग चित्र बनाउन सहज हुन्छ,” प्रजिअ कडरियाले भन्नुभयो,“प्रत्येक आर्थिक प्रतिष्ठानमा आउने गणकलाई सही तथ्याङ्क उपलब्ध गराउनहुनेछ भन्नेमा विश्वस्त छौँ ।”
जिल्ला आर्थिक गणना समन्वय समितिको संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी कडरियाले आर्थिक गणना गर्दा उद्योगी, व्यवसायीलगायत सबै पक्षलाई बढाइचढाइ र नघटाइ तथ्याङ्क उपलब्ध गराइदिन अनुरोध गर्नुभयो । डाक्टरकहाँ परीक्षण गराउन जाँदा रोग र समस्याबारे सही, सत्य बताए झैँ आर्थिक गणनामा आउने गणकलाई पनि वास्तविक आर्थिक तथ्याङ्क उपलब्ध गराएर सहयोग गरिदिन सिडिओ कडरियाले आग्रह गर्नुभएको छ ।
यस्तै जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंहले २० वटा पालिकाका २०० वडामा खटिने गणकलाई सही, साँचो विवरण दिएर राष्ट्रिय आर्थिक गणना–२०८२ लाई सफल पार्नुपर्नेमा जोड दिनुभयो । सर्लाहीसहित देशभर आगामी वैशाख २ देखि असार ७ गतेसम्म आर्थिक गणना कार्य हुँदै छ ।
आर्थिक गणनाका लागि गणक तथा सुपरीवेक्षकको ‘सर्टलिष्ट’ सार्वजनिक भइसकेको छ । अब उनीहरुमध्ये आवश्यक सङ्ख्या छनोट गरेर अभिमुखीकरण प्रदान गर्ने तयारी गरिएको जिल्ला आर्थिक गणना कार्यालय सर्लाहीका प्रमुख राजु पोखरेलले जानकारी दिनुभयो ।
‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ भन्ने नाराका साथ जिल्लाभर दर्ता भएका र नभएका उद्योग प्रतिष्ठान तथा सानादेखि ठुला व्यवसायीकहाँ पुगेर आर्थिक गणना गरिने छ । आर्थिक गणना अभियानमार्फत नेपालमा उद्योगको अवस्था, रोजगारी सिर्जनाको अवस्था लगायतका विषय हेरिने छ ।
राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी सार्वजनिक संस्थाहरूको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण सङ्कलन गर्ने योजना अघि बढाइएको छ ।