• १७ चैत २०८२, मङ्गलबार

सार्वजनिक सेवालाई दूरदराजसम्म पुर्‍याउँछु

blog

नवराज नेपाली

गलकोट (बागलुङ), चैत १७ गते । बागलुङ–२ बाट निर्वाचित सांसद सोम शर्माले दुर्गम क्षेत्रलाई सुगम बनाउन पूर्वाधारको विकास गर्ने बताउँदै दुर्गमका नागरिकको सेवामा आफू खटिने जनाउनुभएको छ ।  उहाँले ढोरपाटनमा विश्व बजारका पर्यटक भित्र्याउने भन्दै मध्यपहाडी लोकमार्ग कालोपत्रेका लागि पहल गर्ने बताउनुभएको छ । 

‘आमयुवा र हाम्रो बागलुङ, हाम्रो जिम्मेवारी’ का संस्थापक सांसद शर्माले युवाको आवाजलाई सडकबाट संसद्मा पुर्‍याउने यात्रा थाल्नुभएको छ । उहाँले भन्नुभयो, “सडकबाट आवाज उठाउँदै संसद्मा पुगेको छु, खास गरी बागलुङको क्षेत्र नम्बर २ लाई दुर्गमको नाम दिइएको छ । इलाका कार्यालयबाट सेवा दिए पनि प्रभावकारी छैन । सेवालाई प्रभावकारी बनाई नागरिक सानो कामका लागि पनि सदरमुकाम आउने बाध्यताको अन्त्य गराउने छु ।” नागरिक सानो काम लिएर सदरमुकाम आउन नपरोस् भन्ने उहाँको भनाइ छ ।  

गाउँ गाउँमा मोबाइलको टावर स्तरोन्नति, विद्युतीकरणसँगै सेवा प्रवाहका लागि नीति बनाउने प्रतिबद्धता उहाँको छ । रास्वपाको राजनीति, समाजसेवा र व्यावसायिक नेतृत्वमार्फत आफ्नो क्षेत्र र समुदायको विकासमा योगदान पुर्‍याउन निर्वाचनमा होमिएका शर्माले बागलुङको पश्चिम क्षेत्र विकट नभएर विकट बनाइएको बताउनुहुन्छ । 

“बागलुङको पश्चिम क्षेत्रलाई विकट मानियो, तर विकट बनाइएको हो, अब विकट रहँदैन, पर्यटनमार्फत यहाँको विकास हुन्छ, निर्वाचित सांसद गाउँ नआएको गुनासो अब रहन्न, म नियमित गाउँ र सहरलाई जोड्ने छु,” उहाँले भन्नुभयो । उहाँले पश्चिम बागलुङ–२ को निर्वाचन जितेपछि बागलुङको पश्चिम क्षेत्रलाई पर्यटकीय हबका रूपमा विकास गर्दै सार्वजनिक सेवा प्रवाहलाई गाउँ गाउँमा पुर्‍याउने बताउनुभएको छ । 

३४ वर्षीय शर्मा सामाजिक अभियन्ता, जेनजी आन्दोलनका अगुवा हुँदै प्रतिनिधि सभा सदस्य हुन सफल हुनुभएको हो । शर्माले बागलुङ क्षेत्र नम्बर २ मा १२ हजार ६४७ मत ल्याएर निर्वाचन जित्नुभएको थियो ।  शर्माले कांग्रेसका टेकराज पौडेललाई ७७९ मतले पछाडि पार्दै निर्वाचन जित्नुभएको छ ।  क्षेत्र नम्बर २ मा खसेको जम्मा ४७ हजार २०७ मतमा शर्माका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार टेकराज पौडेलले ११ हजार ६८ मत प्राप्त गर्नुभएको थियो ।  

कोरोनाका समयमा सडकमा खाना बाँड्ने शर्मा अहिले संसद्को यात्रामा हुनुहुन्छ । बागलुङ बजारमा इलेक्ट्रोनिक्स पसल राखेका शर्मा कोरोनाअघि काठमाडौँ पुग्नुभएको थियो । जेनजी आन्दोलन र नागरिक खबरदारीको अगुवाका रूपमा चिनाउने शर्मा कोरोनाकालमा सडकमा खाना बाँड्दै काठमाडौँमा हिँड्ने गर्नुभएको थियो । 

कोरोना, विपत्, गरिबी तथा समाजका विभिन्न क्षेत्रका सेवाका सारथीका रूपमा चिनिएका शर्मा नयाँ अनुहारका रूपमा संसद् भवन छिर्नुभएको छ । २०४८ पुस २९ मा बागलुङ नगरपालिका–१२ मा जन्मिएका शर्मा सानै उमेरबाट विद्रोही स्वभावका हुनुहुन्थ्यो । प्रतिबद्ध, नैतिक र सुधारमुखी व्यक्त्विका रूपमा चिनिने शर्मालाई पहिलो पटक नै जनताले संसद् भवन पठाएका छन् । सामाजिक सञ्जालबाट सुशासनका पक्षमा बोल्दै आएका  शर्माले जनताको आशालाई निराश नबनाउने बताउनुभएको छ ।   

त्रिभुवन विश्वविद्यालय, रत्नराज्य क्याम्पसबाट राजनीतिशास्त्र र आमसञ्चारमा स्नातक तह अध्ययन गरेका सोम शर्माले कम्प्युटर, नेटवर्किङ र कृषि उद्यमशिलतासम्बन्धी विभिन्न तालिम लिइसक्नुभएको छ । पेसागत जीवनमा उहाँले कम्प्युटर शिक्षक, प्राविधिक विशेषज्ञ र व्यवस्थापन निर्देशकका रूपमा कार्य गरेको अनुभव छ । सांसद शर्माले पुराना परम्पराको संरक्षण, सडक पूर्वाधार, शिक्षा र स्वास्थ्यमा नीति निर्माणमा आफ्नो ध्यान जाने बताउनुभएको थियो ।