पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी, चैत १७ गते । पश्चिम नवलपरासीको ऐतिहासिक, धार्मिक तथा पुरातात्विक महत्त्वका स्थलहरूको समग्र विकासका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार छलफल भएको छ । पर्यटन मन्त्री खड्ग राज पौडेल र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं. २ का संघीय सांसद नरेन्द्र कुमार गुप्ताबिच भएको उक्त छलफल विशेष गरी बुद्धसँग सम्बन्धित ऐतिहासिक स्थलहरूलाई एउटै संयन्त्रभित्र ल्याएर एकीकृत विकास गर्ने विषयमा केन्द्रित थियो ।
उक्त भेटघाटमा स्थानीय सरोकारवाला तथा पर्यटन क्षेत्रका विज्ञहरूको समेत उपस्थिति रहेको थियो । विज्ञहरूले यी ऐतिहासिक क्षेत्रहरूको विकासले स्थानीय अर्थतन्त्रमा ठुलो टेवा पुग्ने र धार्मिक पर्यटनको नयाँ ढोका खुल्ने सुझाव दिएका थिए ।
छलफलमा सांसद गुप्ताले विश्वकै एक मात्र बुद्धको अस्तु धातु रहेको रामग्राम स्तूप, प्राचीन कोलिय गणराज्यको राजधानी दाबी गरिएको पण्डितपुर, बुद्धले प्रव्रज्या (केश मुण्डन) गरेको अनोमा घाट र ऐतिहासिक देवदह ताल (तरङ्गौली) लगायतका क्षेत्रहरूको संरक्षण र प्रवर्धनका लागि मन्त्री समक्ष माग राख्नुभएको छ । सांसद गुप्ताले यी क्षेत्रहरू लुम्बिनीसँग प्रत्यक्ष जोडिएको भए तापनि अपेक्षाकृत विकास हुन नसकेको भन्दै छुट्टै गुरुयोजनामार्फत अघि काम अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
छलफलमा पर्यटन मन्त्री पौडेलले रामग्राम र पण्डितपुर क्षेत्रको ऐतिहासिक गरिमा अन्तर्राष्ट्रिय स्तरको रहेको स्वीकार गर्दै यसको विकासका लागि मन्त्रालय अत्यन्तै सकारात्मक रहेको बताउनुभयो । उहाँले कोलिय गणराज्यको पहिचान जोगाउन आगामी बजेटमा यी क्षेत्रका लागि प्राथमिकताका साथ सम्बोधन गर्ने आश्वासन समेत दिनुभयो ।
छलफलमा नवलपरासीमा छरिएर रहेका बुद्धकालीन स्थलहरूको संरक्षणका लागि ‘कोलिय गणराज्य संरक्षण विकास समिति’ गठन गर्ने बारे सांसद गुप्ताले जोड दिनुभयो । रामग्राम स्तूप र पण्डितपुरको व्यवस्थित उत्खनन तथा अनोमा घाट र देवदह तालको पर्यटकीय पूर्वाधार निर्माण गर्न सके नवलपरासी (पश्चिम) लुम्बिनी पछिको दोस्रो ठुलो पर्यटकीय गन्तव्य (हब) बन्ने विश्वास व्यक्त गरीएको छ ।