तुलसीपुर उपमहानगनगरमा एमालेको अग्रता
दाङको तुलसीपुर उपमहानगरपालिकामा नेकपा (एमाले) का उम्मेदवार टीकाराम खड्का ८११ मतले अग्रता लिनुभएको छ । उहाँले हालसम्म १५ हजार ४०५ मत ल्याउनुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १४ हजार ५९४ मत ल्याउनुभएको छ ।
जनप्रतिनिधिका लोकप्रिय निर्णय
शपथ र पदभार ग्रहणसँगै लुम्बिनीका जनप्रतिनिधिहरू लोकप्रिय र जनमुखी निर्णय गर्न थालेका छन् । यद्यपि, निर्वाचन सकिएको एक हप्ता हुँदासमेत कतिपय पालिकाको मत परिणाम सार्वजनिक हुन सकेको छैन ।
विजयनगरमा पुनः एमाले उम्मेदवारको विजय
नारद कोहारतौलिहवा, जेठ ७ गते । कपिलबस्तुको विजयनगर गाँउपालिकामा नेकपा (एमाले) का अध्यक्ष गोपालबहादुर थापा र उपाध्यक्षमा लक्ष्मीकुमारी चौधरी पुनः दोहोरिनुभएको छ । स्थानिय तह निर्वाचन २०७४ मा समेत उहाँहरु एमालेबाट निर्वाचित हुनुहुन्थ्यो । अध्यक्षमा एमालेका उम्मेदवार थापाले ५ हजार ८ सय ३८ मत प्राप्त गरी निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार जानकीप्रसाद यादवले ५ हजार ३ सय ३४ मत प्राप्त गर्नुभयो । त्यस्तै गाउँपालिकाका उपाध्यक्षमा चौधरीले ४ हजार ९ सय ३० मत प्राप्त गरी विजयी हुनुभयो । उहाँकी प्रतिस्पर्धी जसपाकी गुन्जेश्वरी कुर्मीले ४ हजार ८ सय ४९ मत प्राप्त गर्नुभयो । सात वटा वडा रहेको गाउँपालिकामा ६ वटामा एमाले र एकमा जसपाले वडाध्यक्ष जितेको छ ।
निर्वाचनपछि घर फर्किए म्यादी प्रहरी
नारद कोहारतौलिहवा, जेठ ७ गते । बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा शान्ति सुरक्षा व्यवस्थापनका लागि भर्ना गरिएका म्यादी प्रहरीलाई एक कार्यक्रमका वीच विदाई गरिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुको परिसरमा औपचारिक कार्यक्रमको आयोजना गरी १ हजार ९२३ म्यादी प्रहरीको सामूहिक बिदाई गरिएको हो ।स्थानीय निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्नमा म्यादी प्रहरीको महत्वपूर्ण भुमिका रहेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । सुरक्षा निकायले म्यादी प्रहरीको अनुभवलाई उपयोग गर्ने समेत उहाँले विश्वास दिलाउनुभयो । राज्यले दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेकामा म्यादी प्रहरीलाई धन्यवाद दिँदै प्रहरी उपरीक्षक कार्कीले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका बेलामा पनि भर्ना प्रक्रियामा सहभागी हुन आग्रह गर्नुभयो ।सबै तहका सुरक्षाकर्मीको प्रभावकारी समन्वय हुँदा जिल्लामा निर्वाचनमा शान्तिपूर्ण रूपले सफल भएको मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्मा सापकोटाले बताउनुभयो । बिदाइ कार्यक्रममा जिल्ला प्रहरी कार्यालयले प्रसंशापत्र समेत प्रदान गरेको छ । म्यादी प्रहरीलाई नेपाल सरकारले तोकेको सेवा सुुविधा दुई किस्तामा प्रदान गरेको जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले जनाएको छ ।पहिलो किस्तामा ४० दिनको रासन भत्ता, भ्रमण भत्ता र पोशाक भत्ता बैंक खातामार्फत भुक्तानी भइसकेको उहाँले जानकारी दिनुभयो । दोस्रो किस्ता कोष तथा लेखा नियन्त्रक कार्यालयमा फाइल पेश भई रकम खातामा आउने प्रक्रिया सुरु भइसकेको उहाँले बताउनुभयो । म्यादी प्रहरीलाई ४० दिन बराबरको पारिश्रमिक उपलब्ध गराइएको छ ।
बुटवल उपमहानगरपालिकाको प्रमुखमा कांग्रेसका पाण्डेय विजयी
बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसका खेलराज पाण्डेय प्रमुखमा विजयी हुनुभएको छ । नेकपा एमालेको विरासत तोड्दै कांग्रेसका नगरसभापति समेत रहनुभएको पाण्डेय विजयी हुनुभएको हो ।
नगरपालिकालाई साझा चौतारीको रुपमा विकास गर्ने प्रतिवद्धता
कबिन्द्र नेपालमणिग्राम (रुपन्देही), जेठ ७ गते । बुटवल उपमहानगरपालिकाको मेयरमा निर्वाचित खेलराज पाण्डेयले बुटवल नगरपालिकालाई साझा चौतारीको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । आफूलाई बुटवलको मेयरमा निर्वाचित गराएकोमा बुटवलका मतदाताप्रति आभार व्यक्त गर्दै जनताको साथ र भरोसाको सम्मान गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । मेयर पदमा निर्वाचित भएपछि आफ्ना योजनाको बारेमा संक्षिप्त कुराकानी गर्दै आफूलाई विजयी बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । नवनिर्वाचित मेयर पाण्डेयले बुटवल नगरपालिका भित्रै सबै राजनीतिक दल र संघ संस्थाहरुको लागि छुट्टै कक्ष निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘मैले नगरपालिकामा राजनीतिक दलहरु र सामाजिक तथा व्यवसायिक संघ संस्थाहरुको लागि छुट्टै कक्ष बनाउने छु’ उहाँले भन्नुभयो– ‘त्यहाँ सबै आउनुहुनेछ, बुटवललाई कस्तो बनाउने सुझाव दिनुहुनेछ ।’ सबैको सुझावलाई समेटेर अगाडि बढने प्रतिवद्धता उहाँले दोहो¥याउनुभयो । त्यस्तै, ईतिहासलाई जिवन्त बनाउन बुटवल नगरपालिकाभित्र वीपी, पुष्पलाल र बुटवलका पूर्वमेयर सूर्यप्रसाद प्रधानको शालिक बनाउने बताउनुभयो । बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क–चिडियाखोला सडकलाई व्यवस्थापन गर्न पहिलो प्राथमिकता रहेको उहाँले बताउनुभयो । त्यस्तै, ज्योतिनगर, लक्ष्मीनगर पहिरोको समस्या समाधानका लागि तत्काल पहल थाल्ने प्रतिवद्धता पनि जनाउनुभयो । तिनाउ–दावन कोरिडोरबाट विस्थापित भएकालाई व्यवस्थापन र मोतिपुर औद्योगिक क्षेत्रको समस्या समाधान पनि आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो । बुटवलको खानेपानी समस्या, फोहोरमैला व्यवस्थापनको समस्या, स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानमा प्राथमिकताका साथ काम गर्ने बताउनुभयो ।
चन्द्रकोटले स्वास्थ्य बीमामा र रुरुक्षेत्रले विद्युत महशुलमा छुट दिने
गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष युवराज केसीले पदभार ग्रहण गर्दै गाउँपालिका भित्रका विपन्न नागरिकहरुको स्वास्थ्य बीमामा गाउँपालिकाले ५० प्रतिशत छुट दिने पहिलो निर्णय गरेको जानकारी दिनुभयो ।
नरैनापुरमा जसपाका शाह बिजयी
बाँकेको नरैनापुर गाउँपालिकाको अध्यक्षमा दोस्रो कार्यकालका लागि मोहम्मद इस्तियाक अहमद शाह बिजयी हुनुभएको छ ।
काँग्रेस, एमालेबीच प्रतिस्पर्धा
लुम्बिनी प्रदेशमा सार्वजनिक नतिजाअनुसार स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीच मुख्य प्रतिस्पर्धा देखिएको छ ।