• १३ मंसिर २०८१, बिहिबार

बुल्दी–चुँदी सरसफाइ

blog

तनहुँ समाचारदाता

तनहुँ, वैशाख ३१ गते । जथाभावी फोहोर फाल्ने र खोला अतिक्रमण गर्ने क्रम बढेपछि बुल्दी र चुँदी खोला संरक्षण र सफाइ अभियान सुरु गरिएको छ । तनहुँ सदरमुकाम दमौलीनिवासी सुदीप गफ्फारलगायत स्थानीय सामाजिक सङ्घ संस्था, टोलवासीको सहयोगमा सो अभियान सुरु गरिएको हो । खोलामा फोहोर फाल्ने, ढल मिसाउने, अतिक्रमण गर्ने प्रवृत्ति बढ्दै गएको र यसले दुर्गन्ध र रोग व्याधी फैलाएकोले सरसफाइ अभियान सञ्चालन गरेको अभियन्ता गफ्फारले बताउनुभयो । 

नदीबाट धेरै फोहोर सङ्कलन गर्नेलाई १० हजार र पाँच हजार पुरस्कारको व्यवस्था गरिएको छ । व्यास नगरपालिका–५, चापाघाटस्थित कालीभन्ज्याङ गणले एक हजार २४ किलो फोहोर सङ्कलन गरी प्रथम भएको छ । व्यास नगरपालिका–२, अमरापुरीस्थित पुल्चोक टोल विकास संस्थाले ९४० किलो फोहोर सङ्कलन गरी द्वितीय भएको छ । यसै गरी विद्यालयतर्फ न्यू मनकामना बोर्डिङ स्कुल ६४० किलो फोहोर सङ्कलन गरी प्रथम र कन्काई ग्लोबल बोर्डिङ स्कुलले ५१६ किलो फोहोर सङ्कलन गरी द्वितीय भएको छ । प्रथम हुनेलाई चार हजार र द्वितीय हुने विद्यालयलाई दुई हजार रुपियाँ पुरस्कार प्रदान गरिएको छ । जेठ ५ गते फोहोर सङ्कलन गर्ने प्रतियोगिता गरिने गफ्फारले बताउनुभयो । अभियानमा उत्साहजन सहभागिता रहेकाले बुल्दी खोलाबाट सात हजार २०६ किलो फोहोर सङ्कलन गरिएको छ । तनहुँको सदरमुकाम दमौलीको घनाबस्तीबाट नाला बुल्दी खोलामा मिसाउने र जथाभावी फोहोर फाल्ने गरेर प्रदूषण बढेको छ । बन्दीपुर गाउँपालिकामा रहेको डुम्रे बजार र भानु नगरपालिका–१ को सालबिस्ने क्षेत्रबाट फोहोर चुँदी खोलामा फाल्ने र ढलसमेत मिसाउँदा चुँदी खोला प्रदूषणको चपेटामा परेको छ ।