• ३ साउन २०८१, बिहिबार

नगरपालिकालाई साझा चौतारीको रुपमा विकास गर्ने प्रतिवद्धता

blog

कबिन्द्र नेपाल

मणिग्राम (रुपन्देही), जेठ ७ गते । बुटवल उपमहानगरपालिकाको मेयरमा निर्वाचित खेलराज पाण्डेयले बुटवल नगरपालिकालाई साझा चौतारीको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । आफूलाई बुटवलको मेयरमा निर्वाचित गराएकोमा बुटवलका मतदाताप्रति आभार व्यक्त गर्दै जनताको साथ र भरोसाको सम्मान गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो । 

मेयर पदमा निर्वाचित भएपछि आफ्ना योजनाको बारेमा संक्षिप्त कुराकानी गर्दै आफूलाई विजयी बनाउन भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । नवनिर्वाचित मेयर पाण्डेयले बुटवल नगरपालिका भित्रै सबै राजनीतिक दल र संघ संस्थाहरुको लागि छुट्टै कक्ष निर्माण गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

‘मैले नगरपालिकामा राजनीतिक दलहरु र सामाजिक तथा व्यवसायिक संघ संस्थाहरुको लागि छुट्टै कक्ष बनाउने छु’ उहाँले भन्नुभयो– ‘त्यहाँ सबै आउनुहुनेछ, बुटवललाई कस्तो बनाउने सुझाव दिनुहुनेछ ।’ सबैको सुझावलाई समेटेर अगाडि बढने प्रतिवद्धता उहाँले दोहो¥याउनुभयो । त्यस्तै, ईतिहासलाई जिवन्त बनाउन बुटवल नगरपालिकाभित्र वीपी, पुष्पलाल र बुटवलका पूर्वमेयर सूर्यप्रसाद प्रधानको शालिक बनाउने बताउनुभयो । 

बुटवलको राजमार्ग चौराहादेखि गोलपार्क–चिडियाखोला सडकलाई व्यवस्थापन गर्न पहिलो प्राथमिकता रहेको उहाँले बताउनुभयो । त्यस्तै, ज्योतिनगर, लक्ष्मीनगर पहिरोको समस्या समाधानका लागि तत्काल पहल थाल्ने प्रतिवद्धता पनि जनाउनुभयो ।  

तिनाउ–दावन कोरिडोरबाट विस्थापित भएकालाई व्यवस्थापन र मोतिपुर औद्योगिक क्षेत्रको समस्या समाधान पनि आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो । बुटवलको खानेपानी समस्या, फोहोरमैला व्यवस्थापनको समस्या, स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधानमा प्राथमिकताका साथ काम गर्ने बताउनुभयो ।