कञ्चनजङ्गा हिमाल
इलाम, वैशाख ९ गते । इलामको माईजोगमाई गाउँपालिका–२ तुम्लिङबाट देखिएको कञ्चनजङ्गा हिमाल । आठ हजार पाँच सय ८६ मिटर उचाइमा रहेको विश्वकै तेस्रो अग्लो हिमाल हेर्न तुम्लिङ पुग्ने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । कोशी प्रदेश सरकारले फिक्कल–नयाँबजार सडक कालोपत्र गरेपछि पर्यटकलाई तुम्लिङ पुग्न सहज भएको हो । तस्बिरः रासस
डोल्पा जोड्ने पक्की पुल
मुस्ताङ, वैशाख ९ गते । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ४ स्थित डोल्पा जोड्ने पक्की मोटरेवल पुल र आसपासका क्षेत्र । पक्की पुल निर्माण भएपश्चात् ढोल्पा जानको लागि स्थानीयलाई सहज भएको छ । तस्बिरः रासस
कविता वाचन तथा विमर्श
नयाँ पुस्तालाई साहित्यमा जोड्न बाँकेमा क्याम्पसस्तरमा कविता वाचन तथा विमर्श कार्यक्रम सुरु गरिएको छ ।
विसं २०८२ का लागि चार नयाँ पञ्चाङ्गलाई स्वीकृति
काठमाडौँ, वैशाख ९ गते । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८२ का लागि चार वटा नयाँ पात्रो [पञ्चाङ्ग] लाई स्वीकृति दिएको छ । समितिले नारायण निरौलाको आर्यावर्त, केशवराज जोशीको भृगु अङ्गिरा, ज्ञानप्रसाद भण्डारीको मुक्तिनाथ र खगेन्द्रप्रसाद अधिकारीको कश्यप पञ्चाङ्गलाई यस वर्षदेखि प्रकाशन गर्नेगरी स्वीकृति दिएको हो । गत वर्षसम्म समितिको स्वीकृति लिएर प्रकाशित हुने पञ्चाङ्गको सङ्ख्या १४ थियो । विसं २०८१ मा स्वीकृति लिएर पनि दिव्यपुरुष ढकालको तारकेश्वर पञ्चाङ्ग प्रकाशन नभएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । उहाँका अनुसार सूर्यनाथ पन्तको तोयनाथ, बाबुराम शर्मा सापकोटाको बाबुराम, मुरारीराज पाण्डेको नरनाथ, विश्वनाथ त्रिपाठीको हिमाल, डिल्लीराज जोशीको अठोला, सुबोध ढुङ्गेलको सूर्य, लोकराज पौडेलको आकाश दर्शन, शशिधर जोशीको बगलामुखी, दामोदर जोशीको शुभ, श्रीकेश कौशिकको बाबा गोरखनाथ, कीर्तिकिरण जोशीको कीर्ति, सिद्धिलक्ष्मी व्यञ्जनकारको सिद्धि, चेतराज उपाध्यायको खप्तड तारानाथ र नारायणप्रसाद नेपालको गौरीशङ्कर पञ्चाङ्ग विगतका वर्षदेखि समितिको स्वीकृति लिएर प्रकाशित हुँदै आएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतको समितिलाई पञ्चाङ्ग [पात्रो], भित्तेपात्रो [क्यालेण्डर] प्रकाशनको स्वीकृति, चाडबाड एवं तिथिमितिको निर्णय र धर्म, संस्कृतिको क्षेत्रलाई नियमन गर्ने काम समितिको गठन आदेश, २०७७ ले दिएको छ । सरकारले विसं २०७७ पुस २० गते समितिको गठन आदेश स्वीकृत गरी उक्त जिम्मेवारी दिएको हो । धर्म, संस्कृति क्षेत्रलाई नियमन गर्नेगरी समितिको छुट्टै विधेयक मस्यौदा गर्नुपर्ने माग पनि यस क्षेत्रका अभियानकर्मीबाट हुँदै आएको छ ।
चलचित्र ‘कार्की साइँला’ को घोषणा
निर्देशक राजेन्द्र बस्नेतले चलचित्र ‘कार्की साइँला’ बनाउने घोषणा गर्नुभएको छ । चलचित्रको निर्माण पक्षले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा चलचित्र मुहूर्त गर्दै निर्देशक बस्नेतले वैशाख २० गतेदेखि छायाङ्कन सुरु हुने जानकारी दिनुभयो ।
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।
‘चाइल्ड हेल्थ’ लाई एक करोड प्रदान
महिला सशक्तीकरण र समतामूलक समाजको उन्नयनका लागि वकालत गर्दै आउनुभएकी प्रमिला आचार्य रिजालले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच) का संस्थापक डा. भगवान कोइरालालाई एक करोड रुपियाँको चेक प्रदान गर्नुभएको छ ।
पाल्ही बहुमुखी सहकारी संस्थामा ८५ लाख बढी हिनामिना
नवलपरासी, वैशाख ९ गते । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–४ मा सञ्चालित पाल्ही बहुमुखी सहकारी संस्था लिमिटेडको रु ८५ लाख ८० हजार ७५५ रकम सञ्चालक समितिले हिनामिना गरेको छ । सहकारी सञ्चालक समितिका १५ जनाको मिलेमतोमा करिब रु ८६ लाख रकम हिनामिना भएको हो ।जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरदत्त पन्तले सहकारीको रकम हिनामिनासम्बन्धी कसुर मुद्दा नवलपरासी जिल्ला अदालतमा दर्ता भएपछि प्रतिवादी सुरेश चौधरी [कुर्मी], वीरेन्द्रकुमार यादव र रामसेवक चौधरी [कुर्मी] ले जनही रु पाँच लाख धरौटी राखेर तारेखमा बसेका जानकारी दिनुभयो । “सहकारी संस्थाका सञ्चालक समितिका अध्यक्ष राजकिसोर गुप्ता [तेली], उपाध्यक्ष नाथु माली, सदस्य कमलादेवी कहार, सञ्जय कुर्मी, रवीन्द्र पासी, लेखा संयोजक सन्तराम यादव, जानकी देवी कुर्मी, इजहार धुनिया, प्रमोद यादव, सुग्रिम तिवारी, रामानन्द यादव र व्यवस्थापक मुनलाल यादव हाजिर हुनुभएको छैन”, जिल्ला अदालतका सूचना अधिकारी भेषराज खनालले भन्नुभयो । उहाँका अनुसार सहकारीको रकम हिनामिनासम्बन्धी कसुर मुद्दा दर्ता भएपछि मुद्दामा उल्लेख गरिएका १५ जनालाई जिल्ला अदालतले पक्राउ पुर्जीसहित ३५ दिनभित्र अदालतमा हाजिर हुन आउनु भनी पात्र पठाइएको छ ।उक्त सहकारीको रकम हिनामिनासम्बन्धी कसुर मुद्दामा तीन जना हाजिर भएका जिल्ला सरकारी वकिल कार्यालयका सूचना अधिकारी काशीराम लोधले बताउनुभयो । उहाँका अनुसार सहकारी दर्ता रहेको राप्ती उपत्यका दाङ [देउखरी] को पत्रबाट मुस्तफा शेखको जाहेरीले वादी नेपाल सरकार भएर जिल्ला अदालतमा सहकारीको रकम हिनामिनासम्बन्धी कसुर मुद्दा दर्ता भएको छ । सहकारीको रकम हिनामिनासम्बन्धी कसुर ठहर भएमा बिगो बराबरको जरिवाना र तीन वर्षसम्म कैद हुने सहकारी ऐन, २०७४ को दफा १२४ मा व्यवस्था रहेको सरकारी वकिल कार्यालयका सूचना अधिकारी लोधले जानकारी दिनुभयो ।
‘गणतन्त्र संस्थागत गर्न रासस फोटो पुस्तक उपयोगी’
गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गणतन्त्रलाई संस्थागत गर्न रासस फोटो पुस्तकले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, वैशाख ९ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १३६ रुपैयाँ ५१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १५६ रुपैयाँ ७० पैसा र बिक्रीदर १५७ रुपैयाँ ३९ पैसा, युके पाउन्डस्ट्रलिङ एकको खरिदर १८१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १८२ रुपैयाँ ७३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १६९ रुपैयाँ १९ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २७ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६६ पैसा, क्यानेडियन डलर एकको खरिदर ९८ रुपैयाँ ३९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ २१ पैसा र बिक्रीदर १०४ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिदर नौ रुपैयाँ ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ ६९ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा कायम भएको छ ।केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ११ पैसा र बिक्रीदर चार रुपैयाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ०० पैसा र बिक्रीदर ३७ रुपैयाँ १७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १० पैसा र बिक्रीदर ३१ रुपैयाँ २४ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ३० पैसा र बिक्रीदर १४ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ९९ पैसा र बिक्रीदर २१ रुपैयाँ ०८ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिदर १७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १७ रुपैयाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ०२ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६२ रुपैयाँ १६ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुयैयाँ ०२ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ५८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’ मा उपलब्ध हुने जनाइएको छ ।
अनुगमन टोली आएसँगै औषधि पसलले भागे
सदरमुकाम बेनी बजार क्षेत्रमा सञ्चालित औषधि पसल तथा क्लिनिक एवम् मानव स्वास्थ्य सँग सम्बन्धित संस्थाको अनुगमन गर्ने क्रममा एउटा पसलका सञ्चालक पसल बन्द गरेर भागेका छन् ।
नेपालको सम्पदा अध्ययन गर्दै इटालियन विज्ञ
हेरिटेज इन्टरनेसनल इन्स्टिच्युटका एकेडेमिक डाइरेक्टर प्रा. जिआन्लुइगी मास्तेन्द्राको आयोजना र त्रिभुवन विश्वविद्यालयकी डा. टिना मानन्धरको समन्वयमा चार सदस्यीय इटालियन टोलीले काठमाडौँ उपत्यकासँगै पनौतीको भ्रमण गरेका छन् ।
सिद्धार्थ रिभरसाइड रिसोर्ट चारतारे बन्ने
सिद्धार्थ ग्रुप अन्तर्गतको सिद्धार्थ हस्पिटालिटीले चितवनको चुम्लिङ्टारमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टलाई चारतारे स्तरीय रिसोर्टमा स्तरोन्नति गर्ने भएको छ ।
बत्तिस वर्षमा व्यावसायिक उडान
निर्माण थालनी भएको ३२ वर्षपछि अछामको कमलबजार विमानस्थलमा व्यावसायिक उडान सुरु भएको छ ।
करिब आठ लाखलाई श्रम स्वीकृति
पछिल्लो एक वर्षमा श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या करिब आठ लाख पुगेको छ ।
भारतका विद्युतमन्त्री नेपाल आउँदै
भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार नेपाल आउँदै हुनुहुन्छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उहाँ मङ्गलबार बिहान दुईदिने भ्रमणका लागि नेपाल आउन लागेको मन्त्रालयले जनाएको छ ।
स्कुटर चोर्ने तीन युवा पक्राउ
काठमाडौँ, वैशाख ९ गते । भक्तपुरको छुट्टाछुट्टै स्थानबाट स्कुटर चोर्ने तीन जना चोरलाई प्रहरीले पक्राउ गरेको छ । पछिल्लो समय काठमाडौँमा चोरेरै जीविका चलाउने गरी सङ्गठित रूपमै चोरको बिगबिगी बढेसँगै प्रहरीले कडाइ गर्न सुरु गरेको हो । मोटरसाइकल, मोबाइल, साइकल लगायतका चाँडो मूल्य पाउने प्रकारका सामामाग्रीहरु चोर्नेको गिरोह नै रहेको प्रहरीले जनाएको छ । यस्ता गिरोहलाई नियन्त्रणमा नलिए समाजलाई दुख दिने भन्दै कडाइ गरेपछि सोमबार दुई वटा स्कुटर सहित तीन जनालाई पक्राउ गर्न सफल भएको हो । पक्राउ पर्नेमा सुनसरीको धरान घर भई भक्तपुरको ठिमी बस्ने ३२ वर्षीय साजन तामाङ, सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका १ घर भई भक्तपुरको बोडे बस्ने २६ वर्षीय दावा शेर्पा र भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ६ बस्ने २७ वर्षीय रोजन थापा रहेका छन् ।वास्तविक नम्बर बागमती प्रदेश ०२ ०३७ प २४०७ रहेको स्कुटर नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२ ०४० प ०५२४ नम्बर राखी काठमाडौँको कागेश्वरी नगरपालिका ७ मा चलाई रहेको अवस्थामा साजनलाई ट्राफिक प्रहरीले फेला पारेको थियो । सो स्कुटर सलिना कार्कीको रहेको खुल्न आएको छ ।सोधपुछको क्रममा सो स्कुटर साजन र दावा मिलेर बिक्री गर्ने योजना बनाएको हुनाले दावालाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । दावालाई सोधपुछ गर्दा उक्त स्कुटर रोजनबाट लिएको बताएपछि रोजनलाई समेत भक्तपुरको मध्यपुर ठिमीबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।रोजनलाई समेत सोधपुछ गर्दा सो स्कुटर भक्तपुरको नलिनचोकका २७ बर्षीय सुजन गुरुङले दिएको भन्ने खुल्न आएपश्चात् खोजी गर्ने क्रममा उनी बस्दै आएको ठाउँमा बा ६६ प ८७८५ नम्बरको स्कुटर प्रहरीले बरामद गरेको थियो । सो स्कुटर काठमाडौँको सानोगौचरणबाट हराएको भनी विकास लामाले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए । फरार रहेका सुजनको भने खोजी भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । पक्राउ परेका तीनै जनालाई आवश्यक छानबिन तथा कारबाहीका लागि प्रहरी वृत्त मालिगाउँ पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
शीतभण्डारले किसानलाई राहत
तेह्रथुमको म्याङ्लुङ नगरपालिका–९, साब्लामा कृषि शीतभण्डार सञ्चालनमा आएपछि कृषिजन्य उत्पादन भण्डारण सहज भएको छ । कियाचु कृषि सहकारी संस्थाले मेयङ्लुङ कृषि शीतभण्डार सञ्चालनमा ल्याएसँगै आफ्ना कृषि उपज भण्डारण गर्न पाउँदा कृषक हर्षित छन् ।
खुम्बुमा एकैदिन सात सय पर्यटकको आगमन
सोलुखुम्बु, वैशाख ९ गते । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र यतिबेला पर्यटकले भरिभराउ बनेको छ । सोमबार मात्रै करिब सात सय पर्यटक खुम्बु प्रवेश गरेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । निकुञ्जका रेञ्जर विवेक श्रेष्ठका अनुसार सोमबार छ सय ९४ पर्यटक खुम्बु क्षेत्रमा प्रवेश गरेपछि यस क्षेत्रका होटलहरू भरिभराउ भएका हुन् । छ सय आठ विदेशी र ८६ जना नेपाली पर्यटक रहेका उहाँले जानकारी दिनुभयो । श्रेष्ठले नाम्चेको यात्रामा छ सय ५२ विदेशी र एक सय ५१ जना नेपाली रहेका बताउनुभयो । वसन्तयाममा खुम्बु क्षेत्रमा आएका पर्यटकहरूले होटलमा बास पाउन समेत मुस्किल भएको सगरमाथा आरोही तेम्बाछिरी शेर्पाले बताउनुभयो । मौसम अनुकूल भएसँगै लुक्लामा हवाई उडान बाक्लिएकाले खुम्बु आउने पर्यटकको सङ्ख्या बढेको तारा एयर लुक्लाका इन्चार्ज अमृत मगरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लुक्लामा मौसम अनुकूल भएकाले जहाजको उडान पनि बढाएका छौँ । सोही कारणले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै यहाँका होटलहरू पहिला नै ‘रिजर्भ’ हुन थालेका छन् ।” खुम्बु क्षेत्रका पर्यटन व्यवसायी पर्यटकको आगमन बढेपछि हर्षित भएका टेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल९टान० का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले बताउनुभयो । कोभिडपछि सुस्त बनेको पर्यटन व्यवसाय चलायमान हुन थालेको बताउँदै स्थानीयको आयआर्जन बढ्नुका साथै रोजगारीका अवसर वृद्धि हुन थालेका उहाँले उल्लेख गर्नुभयो । उपाध्यक्ष शेर्पाका अनुसार लुक्ला, नाम्चेलगायत क्षेत्रका होटलहरू पर्यटकले भरिएका छन् । खुम्बु क्षेत्रमा आएका अधिकांश पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गर्ने गरेका उहाँको भनाइ छ । स्वदेशी तथा विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेसँगै निकुञ्जले राजस्व सङ्कलन वृद्धि भएको जनाइएको छ ।निकुञ्जको कार्यालयका अनुसार सार्क राष्ट्रका पर्यटकबाट प्रतिव्यक्ति रु एक हजार ५००, अन्य मुलुकका नागरिकबाट प्रतिव्यक्ति रु तीन हजार र नेपालीबाट रु एक सय प्रवेश शुल्क लिने गरिएको छ । उक्त राजस्वले देशको अर्थतन्त्रमा सहयोग पुर्याउँदै आएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले बताउनुभयो । उहाँका अनुसार अधिकांश पर्यटक काठमाडौँ र रामेछापको मन्थली विमानस्थल हुँदै लुक्ला पुग्ने गर्दछन् । त्यहाँबाट उनीहरूले नाम्चे, ट्याङबोचे, फेरुचे हुँदै सगरमाथाको आधार शिविरतर्फ यात्रा गर्ने उहाँले जानकारी दिनुभयो ।
खरीखानीले गाउँमै रोजगारी
आठ वर्षदेखि दार्चुलाको खरी छिमेकी भारत निर्यात हुँदै आएको छ । दार्चुला जिल्लाको उत्तरमा पर्ने दुहुँ गाउँपालिका–५ को नौमुणे क्षेत्रबाट निकालिएको खरी दार्चुलाको खलङ्गा नाकाबाट भारतको हल्द्धानी निर्यात भइरहेको दार्चुला भन्सार कार्यालयका प्रमुख सुदीप मानन्धरले जानकारी दिनुभयो ।
उद्योगमा कोभिडको असर कायमै
कोरोना महामारीका कारण बन्द भएका उद्योगको समस्या अझै समाधान हुन सकेको छैन । निरन्तरको प्रयासपछि केही उद्योग पुरानै लयमा सञ्चालन हुन थाले पनि अधिकांश उद्योगमा कोरोनाको असर अझै कायमै रहेको जानकारको भनाइ छ ।
पोप फ्रान्सिसको निधन
इसाई धर्मगुरु पोप फ्रान्सिसको सोमबार निधन भएको छ । निमोनियाबाट ग्रसित उहाँको ८८ वर्षको उमेरमा निधन भएको सञ्चार माध्यमले जनाएका छन् । उहाँ लामो समयदेखि बिरामी भएर आराम गरिरहनुभएको थियो ।
बेइजिङमा नेपाली खाद्य महोत्सव
चीनको राजधानी बेइजिङस्थित नेपाली दूतावासले सोमबार दूतावास परिसरमा ‘नेपाल खाद्य महोत्सव २०२५’ कार्यक्रम आयोजना ग¥यो ।
चक्रपथ विस्तार योजना : आइपुग्यो चिनियाँ सर्भे टोली
करिब एक दशकदेखि अलपत्र रहेको चक्रपथको कलङ्की–महाराजगन्ज खण्ड विस्तारको काम सुरु हुने भएको छ । उक्त खण्डको विस्तारका लागि सर्भे र डिजाइन गर्न चीनको प्राविधिक टोली नेपाल आएको छ ।