चितवन, वैशाख ९ गते । कोरोना महामारीका कारण बन्द भएका उद्योगको समस्या अझै समाधान हुन सकेको छैन । निरन्तरको प्रयासपछि केही उद्योग पुरानै लयमा सञ्चालन हुन थाले पनि अधिकांश उद्योगमा कोरोनाको असर अझै कायमै रहेको जानकारको भनाइ छ ।
नेपाल उद्योग परिसङ्घ बागमती प्रदेशका वरिष्ठ उपाध्यक्ष त्रिलोचन कँडेल प्रदेशभित्रका ४० प्रतिशत उद्योग अझै बन्द अवस्थामा रहेको बताउनुहुन्छ । सञ्चालनमा रहेका ६० प्रतिशतमध्ये १० प्रतिशत मात्रै नाफामा रहेको उहाँको भनाइ छ । उद्योग सङ्घ चितवनका पूर्वअध्यक्षसमेत रहनुभएका कँडेल बैङ्कको ऋणका लागि मात्रै उद्योग चलाउने धेरै रहेको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “ऋण थप्दै जाँदा अहिले धितोले ऋण नधान्ने अवस्थामा पुगेको छ, यसले उद्योगमा ऋण लगानी गर्ने बैङ्कलाई पनि समस्या भएको छ । बल्लतल्ल उत्पादन सुरु भए पनि माग बढ्न नसकेको अवस्था छ ।”
कच्चा पदार्थ किन्ने पैसा नहुँदा कम क्षमतामा उद्योग सञ्चालन हुँदा घाटा चुलिँदै गएको उहाँले बताउनुभयो । बढ्दो ऋणका कारण उद्योगको अवस्था कमजोर बनेको उहाँको बुझाइ छ । “गत वर्षसम्म महँगो बैङ्क ब्याजले पनि उद्योगलाई अप्ठ्यारो पारेको थियो । मजदुरको बढ्दो ज्याला, महँगो ढुवानी, कच्चा पदार्थको मूल्य वृद्धिलगायतका कारण नेपाली उत्पादनको लागत बढेको र विदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न नसकेको अवस्था छ,” कँडेलले बताउनुभयो ।
नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेल कोरोनाकै कारण धेरै पोल्ट्री व्यवसायीले पेसा छाडिसकेको बताउनुहुन्छ । सञ्चालनमा रहेका अधिकांश उद्योग ऋणको मारमा रहेको उहाँको भनाइ छ । वर्ष दिनमा एक पटक अण्डाले लागत मूल्य पाउँदा सरकारी निकायको ध्यानाकर्षण हुने भए पनि बर्सौंसम्म नोक्सानमा काम गर्नुपर्दा राज्यले ध्यान दिएको उहाँको गुनासो छ ।
भारतीय सीमा क्षेत्रबाट अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य पदार्थ रोकिए मात्रै पनि यहाँका पोल्ट्री व्यवसायीलाई केही राहत मिल्ने उहाँको बुझाइ छ । यस्तै अवस्था रहेमा आत्मनिर्भर यो व्यवसाय समाप्त भएर जाने उहाँको दाबी छ ।
क्षेत्रीय होटेल सङ्घ सौराहाका अध्यक्ष ओमप्रकाश पाण्डे आधा होटेल आर्थिक सङ्कटमा परेको बताउनुहुन्छ । होटेल चल्नका लागि कम्तीमा औसतमा ६० प्रतिशत अकुपेन्सी हुनु पर्छ तर हाल औसतमा ५० प्रतिशतभन्दा कममा सञ्चालन हुनु परिरहेको अवस्था छ ।
दिनहुँ घाटा बढ्दै जाँदा पर्यटन उद्योगमा सङ्कट थपिँदै गएको उहाँको दाबी छ । विदेशी पर्यटकको सङ्ख्या नबढाएसम्म आर्थिक समृद्धि नहुने भन्दै उहाँले नेपाली पर्यटक आएर मात्रै क्षणिक सञ्चालन हुन सके पनि दीर्घकालीन समस्या समाधान नहुने बताउनुभयो ।
चितवनको पर्यटन व्यवसाय प्रभावित हुनुको प्रमुख कारण सडक सञ्जाल पनि भएको उहाँको भनाइ छ । भैरहवा, पोखरा र काठमाडौँबाट आउने पर्यटक सडकका कारण आउन नसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ट्राभल कम्पनीले सडकका कारण पर्यटक पठाउनै छाडेका छन् ।”
कोभिडपछि व्यवसाय सञ्चालन हुन नसक्दा कतिपय होटेलमा बैङ्कले ताला लगाउने अवस्थासमेत आएको उहाँको भनाइ छ । उद्योग वाणिज्य सङ्घ चितवनका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी कोभिडपछि बजार क्षेत्रका धेरै पसल बन्द भएको बताउनुहुन्छ ।
समग्र अर्थतन्त्र प्रभावित भएपछि उद्योग र व्यवसाय पनि प्रभावित बनेको उहाँको भनाइ छ । सरकारले उद्योग व्यवसायका समस्यालाई मसिनो गरी केलाएर सम्बोधन गर्नुपर्ने उहाँको माग छ । ऋण थप्दै जाँदा धितोले धान्न नसक्ने अवस्थामा उद्योगी पुगेको उहाँ पनि बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अब पनि सरकारले सम्बोधन गरेन भने नेपालमा उद्योग टिकाउन निकै सकस हुन्छ ।”
उद्योग वाणिज्य सङ्घ चितवनका पूर्वअध्यक्ष राजन गौतमले भने लामो समयको मेहनत र लगानीपछि गौमन्त्र नामक अर्गानिक मल कम्पनी लयमा फर्किएको बताउनुभयो । उहाँले कमर्सियल अर्गानिक एग्रिकल्चर कन्सेप्ट प्रालि सञ्चालन गर्दै आउनुभएको छ । गौतमले भन्नुभयो, “कोरोना महामारीका कारण केही समय उत्पादन ठप्प गरेको कम्पनी अहिले बल्लतल्ल लयमा फर्किएको छ तर अहिले पनि समस्या बाँकी नै छन्, माग बढ्न नसक्दा उत्पादनले बजार पाउन सकेको छैन,” उहाँले भन्नुभयो ।