• २६ जेठ २०८२, सोमबार

‘धितोपत्र बोर्ड दबाब र प्रभावमा पर्नु हुन्न’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २६ गते । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी परिचालनमार्फत आर्थिक समृद्धि हासिल गर्न आगामी दिनमा थप क्रियाशीलता लिन नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिनुभएको छ ।

धितोपत्र बोर्ड ३३ औँ वर्ष प्रवेशका अवसरमा आइतबार राजधानीमा आयोजित वार्षिकोत्सव कार्यक्रममा मन्त्री पौडेलले बोर्डले लगानीकर्ताको लगानी सुरक्षा र सुरक्षित कारोबारका लागि धितोपत्र बजारलाई आधुनिक एवं प्रविधिमैत्री बनाउन आग्रह गर्नुभयो ।

धितोपत्र बजारमा कारोबार लागत घटाउने, लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि गर्ने, संस्थागत क्षमता अभिवृद्धि र नियामकीय सक्षमता विकास गर्ने दिशामा समेत परिणाममुखी सक्रियता लिन पनि बोर्डको ध्यानाकर्षण गराउनुभयो ।

पुँजी बजारलाई सरकारले प्राथमिकतामा राखेर बजेट ल्याएको भन्दै उहाँले सरकार पुँजी बजारको विकास र विस्तारमा सकारात्मक रहेको पनि बताउनुभयो ।

धितोपत्र बोर्ड कुनै प्रभाव र दबाबमा पर्न नहुनेमा जोड दिँदै अर्थमन्त्री पौडेलले सोही अनुसार काम अगाडि बढाउन बोर्डलाई आग्रह गर्नुभयो ।

बोर्डका कामकारबाहीमा गुणात्मक सुधार चाहेको भन्दै उहाँले बजेटमा सम्बोधन भएका विषयलाई कार्यान्वयनमा लैजान बोर्डलाई आग्रह गर्नुभयो । कुनै पनि प्रभाव र दबाबभन्दा माथि उठेर नेपालको पुँजी बजारलाई माथि लैजाने गरी अहिलेको नेतृत्व र टिमले भूमिका निर्वाह गर्नुपर्नेमा उहाँको जोड थियो ।

पुँजी बजारको कारोबारमा पारदर्शिताका लागि इन्साइडर ट्रेडिङलगायत अन्य विकृति हुन नसक्ने गरी बोर्डले कामकारबाही अघि बढाउनुपर्नेतर्फ उहाँले बोर्डको ध्यानाकर्षण गराउनुभयो ।

विभिन्न मुलुकमा पुँजी बजारका नयाँ नयाँ उपकरण प्रयोग भइरहेकोतर्फ ध्यानाकर्षण गराउँदै उहाँले नेपालमा के, कस्ता उपयुक्त उपकरण कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्नेतर्फ लाग्न सुझाव दिनुभयो ।

बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले धितोपत्र बजारको विश्वसनीयता कायम राख्दै पुँजी बजारको विकास तथा विस्तार गर्न बोर्ड सधैँ प्रतिबद्ध रहेको बताउनुभयो । पुँजी बजारलाई स्वच्छ, पारदर्शी तथा भरपर्दो बनाई लगानीकर्ताको हकहित संरक्षण गर्न र धितोपत्र बजारलाई आधुनिक प्रविधिमैत्री बनाई लगानीका दीर्घकालीन अवसर प्रदान गरी अर्थतन्त्रमा उत्पादन, रोजगार तथा आम्दानीमा वृद्धि गर्ने मार्गतर्फ अग्रसर रहेको उहाँले बताउनुभयो । बोर्डले संस्थागत सुदृढीकरणका लागि प्रविधिमैत्री प्रणाली लागु गरी नियमन तथा सुपरिवेक्षणको काम प्रभावकारी रूपमा कार्यान्वयन गरिने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो । लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि गर्ने कार्यलाई थप महìवका साथ कार्यान्वयन गरिने बताउनुभयो ।