• ९ वैशाख २०८२, मङ्गलबार

बत्तिस वर्षमा व्यावसायिक उडान

blog

साँफेबगर समाचारदाता

अछाम, वैशाख ९ गते । निर्माण थालनी भएको ३२ वर्षपछि अछामको कमलबजार विमानस्थलमा व्यावसायिक उडान सुरु भएको छ । कमलबजार नगरपालिका, मङ्गलसेन नगरपालिका, पञ्चदेवल विनायक नगरपालिका, रामारोशन गाउँपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकाको संयुक्त पहल र सहयोगमा कमल बजार विमानस्थलमा आइतबारदेखि व्यावसायिक उडान सुरु भएको हो ।

यसअघि फागुन २५ देखि नियमित उडान हुने भनिए पनि सो दिन मौसम प्रतिकूल भएपछि पहिलो उडान नै अवरुद्ध भएको थियो । निर्माण थालनी भएको ३२ वर्षपछि गत पुस १३ गते तारा एयरको विमानले कमलबजार विमानस्थलमा परीक्षण उडान गरेको थियो । हाललाई हप्तामा एक दिन, आइतबार मात्र उडान हुने सम्झौता अनुसार व्यावसायिक उडान सुरु भएको कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकालले बताउनुभयो ।

आइतबार कमलबजार नगरपालिकाका नगरप्रमुख यज्ञप्रसाद ढकाल, उपप्रमुख शारदा कुँवरलगायत १५ जना सो जहाजमा सवार हुनुहुन्थ्यो भने, जहाज फर्किने बेला पनि १५ जना यात्रु लिएर उक्त जहाज नेपालगन्जका लागि उडेको थियो । नेपालगन्जदेखि कमलबजारसम्म २५ मिनेटको समय लागेको नगरप्रमुख ढकालले बताउनुभयो । तारा एयरको ट्विनअटर विमान क्याप्टेन जीवनकुमार श्रेष्ठले उडाउनुभएको थियो ।