• २६ चैत २०८२, बिहिबार

सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिमा विश्वास

blog

प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखको शिष्टाचार भेटवार्ता । तस्बिर : प्रम सचिवालय

गोरखापत्र समाचारदाता

काठमाडौँ, चैत २६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको सन्तुलित र व्यावहारिक परराष्ट्र नीतिमा विश्वास राख्ने औँल्याउँदै अन्तर्राष्ट्रिय सहयोग र सद्भावको आशा सरकारले राखेको विश्वका कूटनीतिज्ञमाझ प्रस्ट पार्नुभएको छ । सो क्रममा उहाँले विश्वशान्तिको पक्षधर नेपाल रहेकाले सबैको साझा प्रयास शान्ति स्थापनामा हुनुपर्ने बताउनुभयो ।

विभिन्न मुलुकका राजदूतसँग हुने एकल शिष्टाचार भेटलाई सद्भाव र सामूहिकतामा बदल्दै प्रधानमन्त्री शाहले बुधबार नेपालस्थित विभिन्न मुलुकका राजदूतसँग सामूहिक संवाद आयोजना गरी नेपालको आवश्यकता र आशाका बारेमा प्रस्ट पार्नुभएको हो । छिमेकी, मित्रराष्ट्र र विकास साझेदारसँग विश्वास, पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्धलाई अझ प्रगाढ बनाउनु आजको आवश्यकता रहेको उहाँले उल्लेख गर्नुभएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । 

विश्वका विभिन्न स्थानमा युद्ध र द्वन्द्वको माहोलले विश्वशान्ति खलबलिएको स्मरण गर्दै प्रधानमन्त्री शाहले छलफलका क्रममा शान्ति र सद्भाव सबैको साझा प्राथमिकता हुनुपर्नेमा जोड दिनुभयो । नेपाली श्रमिक तथा विदेशमा रहेका नेपाली समुदायको सुरक्षा र हित सरकारको उच्च प्राथमिकतामा रहेको छलफलका क्रममा अवगत गराउनुभयो । प्रधानमन्त्री शाहको नेतृत्वमा सरकार गठन भएपछि यसरी पहिलो पटक विदेशी कूटनीतिज्ञसँग पहिलो पटक सामूहिक संवादसहित छलफल गर्नुभएको हो । प्रधानमन्त्री शाहले सरकारले सुशासन, आर्थिक विकास र वैदेशिक सम्बन्धलाई सन्तुलित रूपमा अगाडि बढाउने प्रतिबद्धता कूटनीतिज्ञसमक्ष व्यक्त गर्नुभयो । उहाँले नेपालको विकास प्रयासमा अन्तर्राष्ट्रिय समुदायको सहयोग र सद्भाव निरन्तर रहने विश्वास प्रकट गर्नुभएको थियो ।

परराष्ट्रमन्त्री शिशिर खनालसमेत उपस्थित रहनुभएको छलफलमा प्रधानमन्त्री शाहले मुलुकको पछिल्लो राजनीतिक अवस्था र सरकारका प्राथमिकताका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई अवगत गराउनुभएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार सरकारको आगामी कार्यदिशा र प्राथमिकताका विषयमा जानकारी दिने उद्देश्यले यो बैठक आयोजना गरिएको थियो । छलफलका क्रममा सहभागी विभिन्न मुलुकका राजदूतले नयाँ सरकारको कार्ययोजना र प्राथमिकताका विषयमा चासो व्यक्त गर्नुभएको थियो । ​राजदूत एवं नियोग प्रमुखहरूले प्रधानमन्त्री शाहलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । साथै राजदूतहरूले नेपाली जनताको हितमा परिणाम दिने गरी नेपाल सरकारका कार्यमा समर्थन र सहयोग रहने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।​प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा आयोजित उक्त सामूहिक भेट तथा संवादमा छिमेकी मुलुक भारतका तर्फबाट नेपालका लागि राजदूत नवीन श्रीवास्तव, नेपालका लागि चीनका राजदूत चाङ माओमिङ, नेपालका लागि पाकिस्तानका राजदूत अबरार हासमी, नेपालका लागि अमेरिकाका तर्फबाट कार्यवाहक राजदूत स्कट अरबाम, बेलायतका राजदूत रब फेन सहभागी रहनुभएको थियो । 

त्यस्तै कोरिया गणराज्य, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बङ्गलादेश, जर्मनी, इजिप्ट, श्रीलङ्का, साउदी अरेबिया तथा संयुक्त राष्ट्रसङ्घको नेपालस्थित कार्यालयका राजदूत एवं नियोग प्रमुखको पनि उपस्थिति रहेको थियो । ​सो अवसरमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाह, मुख्य सचिव सुमनराज अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई र अन्य सरकारी उच्च अधिकारीको उपस्थिति रहेको मन्त्रालयले जनाएको छ । संवादपछि उपस्थित राजदूतले शिष्टाचार भेटमा गरिने मर्यादासहित प्रधानमन्त्री वालेन्द्र शाहसँग छुट्टाछुट्टै तस्बिर खिचाउनुभएको थियो । 

कूटनीतिक आचारसंहितासम्बन्धी प्रशिक्षण 

प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वको सरकारका सबै मन्त्रीलाई परराष्ट्र मन्त्रालयले कूटनीतिक आचारसंहितासम्बन्धी प्रस्तुति प्रदान गरेको छ । विगतमा कूटनीतिक व्यक्तित्वसँग जथाभाबी हुने भेट तथा भ्रमणका कारण कूटनीतिक मर्यादा तथा शिष्टाचार उल्लङ्घनका घटना दोहोरिन नदिने उद्देश्यसहित यस प्रकारको ज्ञान अनुशिक्षण प्रदान गरिएको हो । 

परराष्ट्र मन्त्रालयले परराष्ट्र मामिला तथा कूटनीतिक आचारसंहिताका सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुधबार आयोजित प्रस्तुतीकरण कूटनीतिक मर्यादामा रहेर सम्बन्ध प्रगाढ बनाउने ज्ञान प्रदान गरेको हो । सबै मन्त्रीलाई परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले अन्तर्राष्ट्रिय परिवेश, नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध, राष्ट्रिय हितको प्रवर्धन, नेपालको समग्र परराष्ट्र नीतिबारे विस्तृत प्रस्तुति दिनुभएको थियो ।

सचिव राईले परराष्ट्र नीति सञ्चालन गर्दा अपनाउनुपर्ने विधि, सीमाहरू र कूटनीतिक मर्यादाका सम्बन्धमा सूक्ष्म ढङ्गले जानकारी गराउनुभएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । नेपालको परराष्ट्र नीतिका प्राथमिकता, सम्बन्धको सन्तुलन र कूटनीतिक आचारसंहिताका प्राविधिक पक्षलाई उहाँले विशेष जोड दिनुभएको थियो । साथै विदेशी पदाधिकारीसँग हुने भेटवार्ताका क्रममा पालना गर्नुपर्ने सामान्य शिष्टाचारदेखि कूटनीतिक आचारसंहिताका अनिवार्य पालनाका विषयमा समेत मन्त्रीहरूलाई अवगत गराइएको थियो ।