गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत २६ गते । सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ । इरान–अमेरिकालगायत पश्चिम एसियाको द्वन्द्वका कारण पेट्रोलियम पदार्थको अस्वाभाविक मूल्यवृद्धि हुँदा भाडा समायोजनमा यातायात व्यवसायीको निरन्तर दबाबपछि सरकारले बुधबारबाटै लागु हुने गरी वृद्धि गरेको हो ।
यातायात व्यवस्था विभागले अन्तरप्रदेशमा सञ्चालन हुने यात्रुवाहक सवारी र ढुवानीका सवारीको भाडा वृद्धि गरेको हो । यात्रुवाहक सवारीको भाडा १६.७१ प्रतिशतले वृद्धि भएको छ । पहाडी क्षेत्रमा चल्ने मालवाहक सवारीको भाडा २१.६८ प्रतिशत र तराईमा चल्ने मालवाहक सवारीको भाडा १५.७५ प्रतिशतले बढाइएको छ ।
विभागका अनुसार भाडा समायोजन गर्दा इन्धनको मात्र नभई अन्य मापदण्डका आधारमा पनि समायोजन गरिएको छ । सवारीका पार्टपुर्जा, लुब्रिकेन्ट्स र श्रम मूल्यलगायतका १३ वटा सूचकहरू समेटेर वैज्ञानिक आधारमा समायोजन भएको विभागका निर्देशक श्रीकान्त यादवले बताउनुभयो । वैज्ञानिक भाडादर समायोजनमा ३५ प्रतिशत हिस्सा इन्धनको हुन्छ भने बाँकी ६५ प्रतिशत हिस्सा सवारीका १३ वटा पार्टपुर्जा, बजार महँगी र श्रम सूचकलाई आधार मानिन्छ । नयाँ भाडादर अनुसार काठमाडौँ–सुर्खेत सुपर डिलक्सको भाडा तीन हजार ९६ रुपियाँ कायम भएको छ । काठमाडौँ–महेन्द्रनगर तीन हजार ४०६ रुपियाँ भएको छ भने काठमाडौँ–विराटनगर दुई हजार ६६७ कायम भएको छ । त्यस्तै काठमाडौँ भैरहवा सुपर डिलक्सको भाडा एक हजार ४३४ रुपियाँ छ । काठमाडौँ नेपालगन्जको भाडा दुई हजार ६२१ रुपियाँ भएको छ ।
सार्वजनिक यातायातमा नर्मल, डिलक्स र सुपर डिलक्स गरी तीन श्रेणीमा भाडादर कायम गरिँदै आएको छ । काठमाडौँ–वीरगन्जका लागि नर्मल बसमा ९६१, डिलक्समा एक हजार १५३ र सुपर डिलक्समा एक हजार ३८३ रुपियाँ कायम भएको छ । त्यस्तै काठमाडौँ–तम्घासका लागि नर्मलमा एक हजार ४८२, डिलक्समा एक हजार ७९० र सुपर डिलक्समा दुई हजार १४८ रुपियाँ कायम भएको छ तर नर्मलले पनि डिलक्सको भाडा उठाउने र डिलक्सले सुपर डिलक्सको भाडा उठाउने गरेको उपभोक्ता अधिकारवादीको दाबी छ । महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले भन्नुभयो, “सरकारले तोकेको भाडा पनि व्यवसायीले उठाउन सकेको छैन । यात्रुबाटै बार्गेनिङ हुन्छ, अस्वस्थ प्रतिस्पर्धा छ । बिचौलियाको बिगबिगी छ । पूरा भाडा उठाउने त दसैँ तिहारमा मात्रै हो ।”
२०६५ सालमा इन्धनको मूल्य पाँच प्रतिशत वा सोभन्दा बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित समायोजन प्रणाली लागु गरेको थियो । उक्त स्वचालित प्रणाली हालसम्म लागु हुन सकेको थिएन तर अहिले लागु भएको अध्यक्ष स्वाँरले बताउनुभयो । उहाँका अनुसार विभागले २०८२ साउन १ गते सवारीको भाडादर समायोजनका लागि समिति गठन गरेको थियो । उक्त समितिले टायर, लुब्रिकेन्ट, पार्टपुर्जा र श्रमिकको पारिश्रमिकलगायतका विषयमा बजार अध्ययन गरी बुझाएको प्रतिवेदनका आधारमा पनि समायोजन भएको हो । हाल, पेट्रोलको मूल्य प्रतिलिटर २०२ र डिजल १८२ रुपियाँ भएको छ ।