• २६ जेठ २०८२, सोमबार

कृषि उपजको निर्यातमा सहजीकरण गर्न आग्रह

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २६ गते । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी र संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) का विशेष प्रतिनिधि डयानियल गुस्टाफसनबिच भेटवार्ता भएको छ ।

मन्त्री अधिकारीले नेपालको प्रमुख विकास साझेदारका रूपमा एफएओले काम गरेको र सन् २०१५ पछि नेपालको विकास एजेन्डामा पोषण र खाद्य सुरक्षालाई मूल प्रवाहीकरणमा ल्याउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

नेपालको कृषि क्षेत्रको विकासका लागि एफएओद्वारा सञ्चालित परियोजनामार्फत खाद्य र पोषण सुरक्षा, दिगो प्राकृतिक स्रोतको व्यवस्थापन, जलवायु उत्थानशीलताको विकास, आल्पकालीन अवस्थाको तयारी एवं ग्रामीण महिलाको आर्थिक उत्थान र सबलीकरणमा योगदान पुर्‍याउने अपेक्षा गर्नुभयो । मन्त्री अधिकारीले एफएओको प्राविधिक विज्ञता र अनुभवलाई नयाँ कार्यक्रममार्फत कृषकसम्म सुरक्षित, पर्यावरणमैत्री र विज्ञानमा आधारित ज्ञान पुर्‍याउने दिशामा सहकार्य गर्न मन्त्रालय इच्छुक रहेको बताउनुभयो । नेपालबाट उत्पादन हुने कृषि उत्पादनलाई विभिन्न देशमा निर्यात गर्न सहजीकरणका लागि क्वारेन्टाइन तथा विषादी व्यवस्थापनलगायतका क्षेत्रमा र कृषि वस्तुको भौगोलिक साङ्केतीकरणमा एफएओको सहयोगको निरन्तरताको अपेक्षा गर्नुभयो । 

भेटवार्तामा एफएओका विशेष प्रतिनिधि गुस्टाफसनले जलवायु परिवर्तनका कारण कृषिक्षेत्रका विभिन्न पक्षलाई असर पारेको र नेपाल जस्ता देशलाई समस्या पारेको उल्लेख गर्दै जलवायु अनुकूलनका कार्यक्रममार्फत यस्ता चुनौतीको सामना गर्न जरुरी रहेको बताउनुभयो ।