• ९ वैशाख २०८२, मङ्गलबार

शीतभण्डारले किसानलाई राहत

blog

ठाकुर सेनेहाङ

तेह्रथुम, वैशाख ९ गते । तेह्रथुमको म्याङ्लुङ नगरपालिका–९, साब्लामा कृषि शीतभण्डार सञ्चालनमा आएपछि कृषिजन्य उत्पादन भण्डारण सहज भएको छ । कियाचु कृषि सहकारी संस्थाले मेयङ्लुङ कृषि शीतभण्डार सञ्चालनमा ल्याएसँगै आफ्ना कृषि उपज भण्डारण गर्न पाउँदा कृषक हर्षित छन् । 

कोशी प्रदेश सरकार, म्याङ्लुङ नगरपालिका र कियाचु कृषि सहकारी संस्थाको साझेदारीमा एक हजार मेट्रिक टन क्षमताको मेयङ्लुङ शीतभण्डार निर्माण गरी सञ्चालनमा ल्याइएको हो । सिजनमा फलफूलको कम मूल्य हुने र बजार अभावको समस्या भोगिरहेका किसानलाई शीतभण्डारमा केही महिना राखेर बिक्री गर्दा निकै फाइदा हुँदै आएको छ । 

कृषि क्षेत्रको व्यावसायीकरण र प्रवर्धनका निम्ति सञ्चालनमा ल्याइएको शीतभण्डारले कृषकलाई राहत दिन थालेको कियाचु कृषि सहकारी संस्थाका अध्यक्ष टङ्कमाया लिम्बूले बताउनुभयो । “सुरुमा कृषकलाई जानकारी थिएन अहिले थाहा पाउन थालेकाले सामान ल्याउन थालेका छन्,” उहाँले भन्नुभयो ।

विद्युतीय उपकरणको माध्यमद्वारा कृषि उत्पादनलाई आवश्यक तापक्रम दिई महिनौँसम्म जस्ताको तस्तै भण्डार गर्न सकिने शीतभण्डारमा किसानले यस वर्ष किवी, आलु र सुन्तला भण्डारण गरेका छन् । शीतभण्डारले कृषिका उपज प्रतिकिलो महिनाको दुई रुपियाँ ५० पैसा शुल्क किसानबाट लिने गरेको छ । 

आलु उत्पादक कृषकले आफूले उत्पादन गरेकोे आलुको सिजनमा सस्तो मूल्यमा बेचेर रोप्ने बेलामा आफैँले बिक्री गरेको तेब्बर मूल्यमा खरिद गर्नुपर्ने बाध्यता शीतभण्डार सञ्चालनमा आएपछि टरेको म्याङ्लुङ–६ का मङ्गलादेवी नेपाली बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यस वर्ष मैले पनि आलु राखेर दाम आएपछि मात्र बेचेँ ।”

यस शीतभण्डारमा तेह्रथुमका अलावा छिमेकी जिल्ला पाँचथरबाट समेत किसानले आफ्नो उत्पादन भण्डार गर्न ल्याउन थालेका छन् । सिजनमा धेरै किवी भएर बोटमै कुहिने, सुँगुरलाई दिनुपर्ने अवस्थामा शीतभण्डारमा भण्डारण गरेर केही महिनापछि बजारमा निकाल्दा भण्डार गरेको समयको मूल्यको दोब्बर मूल्य पाएको किसान बताउँछन् । सुन्तला र किवी जस्ता फलले सिजनमा कम मूल्य र बजार अभावका समस्या भोगिरहेका किसानले शीतभण्डारमा केही समय भण्डारण गरेर बेच्दा दोब्बर मूल्य पाइने भएकाले किसान शीतभण्डारप्रति आकर्षित भएका हुन् । शीतभण्डारमा अहिलेसम्म फलफूल मात्रै भण्डारण भएको तर यहाँ दाल, मकै, कोदो, फापर, जौ, गहुँ, धानलगायतका अन्न भण्डारण गरी घुनपुत्ली लाग्नबाट बचाउन सकिने सहकारीले जनाएको छ । मेयाङ्लुङ शीतभण्डार प्रदेश सरकारको तीन करोड, कियाचु कृषि सहकारी संस्थाको एक करोड ३४ लाख र म्याङ्लुङ नगरपालिकाको १५ लाख गरी कुल चार करोड ४९ लाख रुपियाँको लागतमा निर्माण भएको हो ।