मकवानपुरगढी समाचारदाता
मकवानपुरगढी, कात्तिक १८ गते । बागमती प्रदेश सभा गत साउनदेखि निष्क्रिय अवस्थामा छ । यसअघि प्रदेश सभाको अन्तिम बैठक साउन २७ गते मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने प्रयोजनका लागि बसेको थियो । त्यसपछि तीन महिनासम्म सभाका गतिविधि रोकिएको छ । सभामुख भुवनकुमार पाठकले असोज १ गते राजीनामा दिएपछि नयाँ सभामुख चयन नहुँदा अप्ठ्यारो स्थिति उत्पन्न भएको हो । अब प्रदेश सभाको पहिलो काम नै पाठकको राजीनामा स्वीकृत गरेर नयाँ सभामुखको निर्वाचन प्रव्रिmया अघि बढाउनु हो । प्रदेश सभा सचिव रामकुमार पौडेलका अनुसार उपसभामुखले राजीनामापत्र वाचन गरेपछि मात्र सभामुख पद रिक्त हुने र त्यसपछिका १५ दिनभित्र नयाँ सभामुख चयन गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।
सत्ता गठबन्धनका दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) दुवैले सभामुख पदमा दाबी गर्दै आएका छन् । एमालेले शक्ति सन्तुलनका लागि सभामुख आफूहरूले पाउनुपर्ने तर्क गर्दै उपसभामुख अपसरा चापागार्इंलाई राजीनामा गराएर सभामुख लिने र उपसभामुख कांग्रेसलाई दिने प्रस्ताव अघि सारेको छ ।
कांग्रेसले भने उपसभामुख एमालेको भएको अवस्थामा सभामुख पद पनि आफ्नो दलले नै पाउनुपर्ने अडान लिएको छ । सत्तारूढ दल कांग्रेस बागमती प्रदेश सभाका मुख्य सचेतक पुकार महर्जनका अनुसार ‘जेनजी समूहको आन्दोलन’ का व्रmममा प्रदेश सभा भवनमा क्षति पुगेकाले बैठक बस्न ढिलाइ भएको हो । उहाँले भन्नुभयो, “सभामुखको कारणले होइन, भौतिक संरचनाको अभावका कारण सदन चल्न सकेको छैन ।” उहाँका अनुसार वैकल्पिक रूपमा हेटौँडा–२ स्थित हेटौँडा उपमहानगरपालिका पछाडिको मुख्यमन्त्री सभा हलमा बैठक बस्ने तयारी भइरहेको छ ।
महर्जनले सबै दलसँग छलफल गरेर सदन छिट्टै सुचारु गरिने बताउनुभयो । उहाँका अनुसार आउँदो कात्तिक अन्तिम साता वा मङ्सिरको पहिलो साताभित्र बैठक बोलाउने तयारी भइरहेको छ । यस्तै सत्ता साझेदार दल एमालेका प्रमुख सचेतक एकलाल श्रेष्ठले भने शक्ति सन्तुलनका हिसाबले सभामुख एमाले र उपसभामुख कांग्रेसले लिने सहमतिनजिक आइरहेको बताउनुभएको छ । उहाँका अनुसार मुख्यमन्त्री कांग्रेसको भएकाले सत्ता सन्तुलनका लागि सभामुख एमालेले लिने विषयमा छलफल अघि बढेको हो । श्रेष्ठले एक साताभित्र सभामुख र उपसभामुख दुवै पदको नयाँ प्रक्रिया अघि बढाइने र त्यसपछि स्थगित प्रदेश सभा बैठक पुनः आह्वान गरिने जानकारी दिनुभयो ।