वर्तमान सरकार गठन भएको एक वर्षमा स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार भएको छ । त्यसको प्रत्यक्ष लाभ गरिब तथा विपन्न वर्गले पाउने अवस्था सिर्जना भएको छ । गरिबको निःशुल्क उपचार गर्ने व्यवस्थादेखि लिएर निजी क्षेत्रका अस्पतालमा समेत १० प्रतिशत शय्या अनिवार्य निःशुल्क छुट्याउनुपर्ने र निजी अस्पतालले उपचारमा समेत १० प्रतिशत निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएको छ ।
कैदीबन्दीको उपचार गर्ने केन्द्रीय कारागार अस्पताल सुधार हुँदै गएको छ । यसअघि सामान्य उपचारका लागि पनि कैदीबन्दी बिरामीलाई रिफर गर्नुपर्ने बाध्यता रहेकामा अहिले कारागार अस्पतालमै कैदीबन्दीलाई सम्पूर्ण स्वास्थ्य प्रदान हुन थालेको छ । केन्द्रीय कारागार कार्यालयका कारागार प्रशासक ललितकुमार बस्नेतले हाल विशेषज्ञ सेवा पनि कारागार अस्पतालमै हुने गरेको र उपचार गर्न नसकिने जटिल रोगका लागि अन्य विशेषज्ञ अस्पतालमा सम्झौता भएको बताउनुभयो । उहाँले त्यस्ता अस्पतालमा नगद बोकेर जानुपर्ने बाध्यता नरहेको र उपचारपछि मात्र उपचार खर्च लिने व्यवस्था गरिएको बताउनुभयो ।
अब आयुर्वेदिक औषधी उद्योगले पनि अनिवार्य रूपमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को गुणस्तरसम्बन्धी मापदण्ड (जिएमपी) पूरा गर्नुपर्ने भएको छ । हाल नेपालमा सञ्चालित आयुर्वेदिक औषधी कम्पनीहरूले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड पूरा गर्न सकेका छैनन् । नेपालमा ८० वटा आयुर्वेदिक औषधी उद्योग दर्ता भए पनि ५५ वटा कम्पनी सञ्चालनमा रहेका छन् । विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड गुड म्यानिफ्याक्चरिङ प्राक्टिस (जिएमपी) लागु भएपछि जडीबुटीजन्य तथा परम्परागत औषधीजन्य उद्योगले समेत अनिवार्य जिएमपी लागु गर्नैपर्ने छ ।
मस्तिष्कघातका बिरामी ढिलो गरी अस्पताल आउँदा पूर्ण रूपमा निको पार्न र बचाउन कठिन हुने गरेको छ । मस्तिष्कघात भएको ३० मिनेटदेखि तीन घण्टासम्म अस्पताल पुर्याएर विज्ञ चिकित्सकबाट उपचार गराउन सकेको अवस्थामा मस्तिष्कघात पूर्ण रूपमा ठिक हुने सम्भावना बढी रहन्छ तर बिरामी ढिलो गरी अस्पताल आइपुग्दा बचाउन कठिन हुने गरेको हो । ढिलो उपचार गर्दा बिरामीलाई पहिलेको अवस्थामा पूर्ण रूपमा ल्याउन नसकिने सम्बन्धित विज्ञहरूको भनाइ छ । वरिष्ठ न्युरोरोग विशेषज्ञ डा. लेखजङ्ग थापाले मस्तिष्कघात भएका बिरामी अस्पतालसम्म आउँदा बचाउन सक्ने अवस्था तथा पहिलेकै जस्तो अवस्थामा ल्याउन सक्ने समय गुज्रिसक्ने बताउनुभयो ।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १४ औँ पटक कलेजो प्रत्यारोपण भएको छ । काठमाडौँकी ६२ वर्षीया महिलाको कलेजो प्रत्यारोपण भएको हो । उहाँलाई ३७ वर्षीया बुहारीले कलेजो दान गर्नुभएको थियो । प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले शुक्रबार सहिद प्रत्यारोपण केन्द्रमा कुल १४ जनामा कलेजो प्रत्यारोपण भएको जानकारी दिनुभयो । पछिल्लो प्रत्यारोपणमा सघाउन भारतको लेकसोर अस्पतालका डा. शिल्भाकुमार नागानाथम आउनुभएको छ ।
वीर अस्पताल प्रशासनले आइतबारदेखि कोभिड–१९ महामारीका समयमा करार सेवामा राखिएका नर्सलगायत २७६ जना स्वास्थ्यकर्मी हटाएपछि अस्पतालले दिँदै आएको सम्पूर्ण सेवा प्र्रभावित भएको छ । आइतबार तय गरिएका शल्यक्रिया भएनन्। वीर अस्पताल प्रशासनले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड महामारीका बेला राखिएका कर्मचारीलाई तलब भत्ताका लागि बजेट अभाव रहेकाले करार अवधि नथप्न निर्देशन दिएपछि बाध्य भएर हटाएको जानकारी दिएको छ । वीर अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई निष्कासन गरेसँगै सम्पूर्ण सेवा प्रभावित बन्न पुगेको जानकारी दिनुभयो । “उनीहरूलाई हटाउने चाहना होइन तर मन्त्रालयले तलब खुवाउने रकम नभएको र देश आर्थिक मन्दीमा भएकाले हटाउनु परेको हो,” उहाँले भन्नुभयो ।
नेपालले रेबिजलाई सन् २०३० सम्म शून्यमा झार्ने लक्ष्य लिएको छ तर चिकित्सकहरूले रेबिजबाट हुने क्षति अझै पनि कम नभएको भन्दै सन् २०३० सम्म रेबिजलाई शून्यमा झार्ने सरकारको लक्ष्य पूरा गर्न कठिन हुने बताएका छन् । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले नेपालमा पशुबाट मानिसलाई सर्ने रेबिज रोग चुनौती बन्दै गएको बताउनुभयो । “मानिसमा अझै पनि रेबिज रोगप्रतिको गलत धारणा रहेकाले लक्ष्य प्राप्त गर्न कठिन भएको छ,” उहाँले भन्नुभयो । रेबिज रोगलाई कसैले पनि ध्यान नदिएको बताउँदै उहाँले कुकुरले टोकेको त हो, केही गर्नु पर्दैन, किन खोप लगाउनु भन्ने जस्ता गलत धारणा आममानिसमा रहेको उल्लेख गर्नुभयो । उहाँले रेबिजबाट बच्न कुकुर वा अन्य जनावरबाट टोकेपछि तत्काल रेबिजविरुद्धको खोप लगाइहाल्नुपर्ने सुझाव दिनुभयो ।
मानिसको अस्वस्थकर जीवनशैलीमा आएको परिवर्तनले मुटुरोगको जोखिम बढिरहेको छ । त्यस्तै उमेर, तनाव, खानपान, अल्छीपनजस्ता कारणले पनि मुटुरोगको जोखिम बढ्दो छ । नियमित शारीरिक अभ्यास तथा शारीरिक श्रमपूर्ण काम नगर्ने प्रवृत्तिले मुटुरोगी बढ्दै गएको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले मिठो, मसलेदार, चिल्लो, स्वादिलो खाना मुटुका लागि अप्रिय रहेको बताउनुभयो । यीबाहेक चुरोट, खैनी, गुट्खा, रक्सी पिउने बानी त मुटुका लागि घातक हुने उहाँले बताउनुभयो ।
वर्षौंदेखि खाली रहेको वीर अस्पतालको अति विशिष्ट तथा विशिष्ट कक्षमा पछिल्लो समय विशिष्ट व्यक्तिको उपचार हुन थालेको छ। आइतबार पूर्वराष्ट्रपति डा. रामवरण यादव वीर अस्पतालको विशिष्ट कक्षमा भर्ना हुनुभएको छ। यसअघि विभिन्न मन्त्रालय सम्हाल्नुभएका मन्त्रीहरूले यसको सुविधा उपयोग गरिसक्नुभएको छ। अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले वीर अस्पतालको विशिष्ट कक्षको स्तरोन्नति तथा शय्या थप भएपछि विशिष्ट व्यक्तिको उपचार सुरु हुन थालेको जानकारी बताउनुभयो। उहाँले वीर अस्पतालको विशिष्ट कक्षमा पूर्वराष्ट्रपति यादवसहित कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एकराज कार्की र नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्रप्रसाद यादवको उपचार भइरहेको जानकारी गराउनुभयो।
देशभर फैलिएको आँखा पाक्ने सङ्क्रमणले गर्दा बजारमा औषधीको अभाव भएको छ । पछिल्लो समय देशभर आँखा पाक्ने रोगको सङ्क्रमण बढेसँगै बजारमा आँखामा राख्ने औषधी आइड्रपको अभाव भएको हो । भक्तपुर लोकन्थलीका कृष्ण सिन्जाली मगरले भक्तपुरदेखि कोटेश्वरसम्मका सबै औषधी पसलमा पुग्दा पनि आइड्रप नपाएपछि तिलगङ्गा आँखा अस्पतालमा पुग्नुभयो । “तिलगङ्गामा टोकन लिएर डेढ घण्टा लाइनमा बसेपछि बल्ल त्यो औषधी पाएँ,” उहाँले सुनाउनुभयो ।
छ महिनाअघि विराट मेडिकल कलेजका एक चिकित्सक काम छाडेर विराटनगरमै रहेको अर्को अस्पतालमा काम गर्न गए। विराटले राम्रो सेवा सुविधा दिएर राखेको डाक्टर किन सामान्य अस्पतालमा काम गर्न गएको होला भनेर खैलाबैला भयो। पछि ती डाक्टरले ‘इम्प्लान्ट’ (शल्यक्रिया गर्दा हाडका लागि राखिने पाता वा रड) मा बिरामीसँग मनलाग्दी पैसा असुल गरेको र कमिसन पनि खाएको थाहा पाएपछि अस्पताल प्रशासनको दबाबमा अस्पतालै छाडेर गएको भन्ने बुझियो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नक्कली डाक्टरविरुद्धको कारबाहीमा पक्राउ गरेका डा. रञ्जितकुमार यादव रिहा हुनुभएको छ। उहाँको रिहासँगै नेपाल चिकित्सक सङ्घले डा. यादवलाई पक्राउ गर्न सूचना दिने नेपाल मेडिकल काउन्सिलका पदाधिकारीले दिएको सूचना तथा सिआइबीले गरेको अनुसन्धानमाथि प्रश्न गरेको छ।
महाराजगन्जस्थित कान्तिबाल अस्पतालमा नवजात शिशु सघन उपचार कक्ष (एनआइसियू) को कुरुवा घरमा उडुस, उपियाँले गर्दा बस्न सक्ने अवस्था छैन । एक महिनाभन्दा कम उमेरका नवजात शिशुलाई एनआइसियूमा राखेर उपचार गरिन्छ । उनीहरूका आमालाई एनआइसियू कुरुवाघरमा राखिन्छ । त्यहाँ ३० वटा छुट्टै शय्याको व्यवस्था गरिएको छ । एनआइसियू कुरुवा बस्ने बेडमा नवजात शिशुका आमालाई बस्न सकस हुन्छ । एकछिन बस्दा उपियाँ र उडुसले टोकेर खपिसक्नु हुँदैन । त्यसैले त्यहाँ बस्ने सुत्केरी भुइँमा बिस्तारा लगाएर सुत्ने गरेका छन् ।
ओखलढुङ्गा पोकलीका बलबहादुर परियारलाई भक्तपुर क्यान्सर अस्पतालमा ठुलो आन्द्रा र मलाशय जोडिने भागमा क्यान्सर भएको पत्ता लाग्यो। रेक्टम क्यान्सर भनिने रोगको उपचारका लागि उहाँलाई तत्काल रेडियोथेरापी गरेर शल्यक्रिया गर्न चिकित्सकले सल्लाह दिए। बलबहादुरले चिकित्सकको सल्लाह अनुसार रेडियोथेरापी गर्न चार महिना कुर्नुपर्ने भयो भने यो अवधिसम्म क्यान्सर अन्यत्र फैलिइसक्ने सम्भावना थियो। चार महिनासम्मको पालो कुर्नुभन्दा अन्य क्यान्सरका बिरामीको सल्लाहमा बलबहादुर तत्काल भारतको नयाँदिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पताल जानुभयो। अहिले त्यहीँ उहाँको उपचार हुँदै छ। नेपालमै तत्काल रेडियोथेरापीको पालो पाएको भए उहाँ भारतमा गएर उपचार गर्नुहुन्नथ्यो।
ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीको अभाव भएपछि दरबन्दीभन्दा फरक ठाउँमा कामकाज गर्दै आएका स्वास्थ्यकर्मीलाई धमाधम फिर्ता पठाउन थालिएको छ । स्वास्थ्यमा नेतृत्व सम्हालेर बसेका तथा पहुँचका आधारमा केन्द्रमा बसिरहेका स्वास्थ्यकर्मीलाई यस पटक स्वास्थ्य मन्त्रालयले कुनै पनि बहानामा छुट दिन नसकिने भन्दै दरबन्दी भएकै स्वास्थ्य संस्थामा काज फिर्ता गरेको हो । आइतबार मात्र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा काजमा रहेका सात जना कर्मचारीको मन्त्रालय प्रशासनले हाजिर काटिदिएको छ । उनीहरूले सोमबारदेखि मन्त्रालयमा हाजिर गर्न पाउने छैनन् । ती कर्मचारी पनि आफ्नो दरबन्दी भएकै स्थानमा जानुपर्ने छ ।