• २३ पुस २०८१, मङ्गलबार

दातृनिकायको सहयोग बालुवामा पानी

blog

काठमाडौँ, मङ्सिर १७ गते । नेपालमा एचआइभी/एड्स नियन्त्रणमा लगानी गरे अनुसारको प्रतिफल प्राप्त हुन नसकेको भन्दै सरोकारवालाले आक्रोश व्यक्त गरेका छन् । नेपालमा ग्लोबल फन्डले मात्रै २.३ मिलियन डलर एचआइभीमा खर्च गर्ने गरेको छ । तर उक्त रकमको सही सदुपयोग हुन नसकेको भन्दै सङ्क्रमितले बताएका छन् । राष्ट्रिय एचआइभी/एड्स सङ्क्रमित महासङ्घका अध्यक्ष खगेन्द्र खड्काले ग्लोबल फन्डको रकम सही सदुपयोग हुन नसकेको बताउनुभयो । 

नेपाल सरकारले गरेको लगानी भने एचआइभी सङ्क्रमितका लागि औषधोपचारमा खर्च भएको देखिन्छ । सरकारले नेपालमा एचआइभी सङ्क्रमितका लागि वार्षिक ३६ करोड रुपियाँ औषधोपचारमा खर्च गर्ने गरेको छ । तर एचआइभी क्षेत्रमा ग्लोबल फन्डलगायत अन्तर्राष्ट्रिय सङ्घ संस्थाले गरेको सहयोगको औचित्य पुष्टि हुने अवस्था देखिएको छैन । 

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेस शर्माले दातृनिकायले एचआइभी तथा एड्स रोग क्षेत्रमा गरेको लगानीबारे कुनै पनि जानकारी नहुने गरेको बताउनुभयो । उहाँले नेपालमा एचआइभी एड्सबाट हुने मृत्युदरमा भने उल्लेखनीय रूपमा कमी आएको बताउनुभयो । निर्देशक डा. शर्माका अनुसार नेपालमा सन् २०१० को तुलनामा एड्सबाट हुने मृत्युदरमा ८५ प्रतिशतले कमी आएको हो । सन् २०१० मा एक हजार सात सय जनाको एड्सका कारण मृत्यु भएकोमा सन् २०२३ मा २६१ जनाको मृत्यु भएको पाइएको छ । 

विश्व एड्स दिवसका अवसरमा केन्द्रले आइतबार काठमाडौँमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचआइभी सङ्क्रमण नियन्त्रणका क्षेत्रमा नेपालले ठुलो उपलब्धि हासिल गरेको भन्दै अझै पनि यसमा देखिएका चुनौती पत्ता लगाएर समाधानतर्फ जानुपर्ने बताउनुभयो । उहाँले नेपालमा नयाँ सङ्क्रमण दर सन् २०१० को तुलनामा ७८ प्रतिशतले कम र सन् २००० को तुलनामा ९१ प्रतिशतले कम भएको बताउनुभयो । यसबाट हुने मृत्युदर ८५ प्रतिशतमा झार्न मन्त्रालय मात्र नभएर समुदाय, स्वास्थ्यकर्मी, सरोकारवाला सङ्घ संस्था तथा बिरामीको पनि ठुलो भूमिका रहेको बताउनुभयो । 

यसै गरी नेपालमा १ देखि १४ वर्ष उमेर समूहका बालबालिकामा हुने सङ्क्रमणमा पनि उल्लेख्य रूपमा कमी आएको छ । सन् २०१० मा २२२ जना बच्चामा नयाँ सङ्क्रमण भएकोमा सन् २०२३ मा जम्मा ४८ जना बच्चामा सङ्क्रमण भएको अनुमान गरिएको छ । यो भनेको ७८ प्रतिशतले घटेको हो ।

विश्व एड्स दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. विकास देवकोटाले एचआइभी सङ्क्रमण नियन्त्रण गर्न समुदायमा आधारित कार्यक्रम बढी प्रभावकारी देखिएको बताउनुभयो । उहाँले सक्रियता अझ बढी चाहिएको भन्दै संयुक्त रूपमा गरिएको कार्यक्रममध्ये एचआइभी नियन्त्रण कार्यक्रम नमुना कार्यक्रम रहेको भन्दै समुदायको पनि सहभागितासहितको कार्यक्रम आगामी दिनमा पनि गरिने बताउनुभयो ।

नेपालमा सन् २०२३ को अन्त्यसम्म नेपालमा ३० हजार तीन सय व्यक्तिमा एचआइभी सङ्क्रमण भएको अनुमान गरिएको छ । सन् २०२३ अर्थात् एक वर्षमा ४५७ जनामा नयाँ सङ्क्रमण पुष्टि भएको थियो । कुल सङ्क्रमितमध्ये २४ हजार ७९३ जनाले एन्टी रेट्रो भाइरल (एआरभी) उपचार लिइरहेका छन् । नेपालमा सन् २०३० सम्ममा एड्स महामारी अन्त्य लक्ष्य लिइएको छ । 

 

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।