काठमाडौँ, फागुन १४ गते । सङ्खुवासभाकी अञ्जु राई वैकल्पिक चिकित्सामार्फत पक्षघात (प्यारालाइसिस) को उपचार गराइरहनुभएको छ । गत माघ ९ गते घरकै शौचालयमा एक्कासि ढलेपछि काठमाडौँको न्युरोड बस्नुहुने राईलाई वीर अस्पताल पुर्याइएको थियो ।
दस दिन वीर अस्पतालमा राखेर उपचार गर्दा उहाँको समस्या ठिक नभएपछि वीरले नरदेवी आयुर्वेदिक अस्पतालमा प्रेषण गर्यो । तत्काल अञ्जुलाई नरदेवी लगे पनि त्यहाँ शय्या पाइएन । उहाँको अवस्था झन्झन् जटिल बन्दै गयो । उहाँका भाइले इन्टरनेटमा खोज्दा प्यारालाइसिसको राम्रो उपचार हुने भएपछि स्पार्क हेल्थ होम अस्पताल लगेर उपचार गरियो । ४४ वर्षीया अञ्जु अहिले राम्रोसँग बोल्न, हिँडडुल गर्न सक्ने हुनुभएको छ । “प्यारालाइसिसले मुखसमेत बाङ्गिएको थियो । अब बिस्तारै आफैँ हिँड्न थालेकी छु । अझै केही दिन स्पार्क अस्पतालमा उपचार गरेपछि पूर्ण रूपमा ठिक हुन्छु,” अञ्जु राईले भन्नुभयो । अहिले राईको रक्तचाप पनि नियन्त्रणमा छ ।
उहाँलाई उपचार गर्ने डा. गीता केसीले राईलाई विभिन्न थेरापी माध्यमबाट उपचार गराइरहेको बताउनुभयो । “उहाँ सुरुमा अस्पताल आउँदा पूर्ण रूपमा अशक्त हुनुहुन्थ्यो । वैकल्पिक चिकित्सा पद्धतिको उपचारले गर्दा हिँडडुल गर्न सक्नुहुन्छ,” डा. केसीले भन्नुभयो । अस्पतालकी इलेक्ट्रोथेरापी इन्चार्ज मेनुका कार्कीले राईको स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै गएको बताउनुभयो । कार्कीले भन्नुभयो, “उहाँलाई इलेक्ट्रोथेरापीबाट उपचार गरिरहेका छौँ । अब केही दिन अस्पतालमा बसेपछि सबै ठिक भएर डिस्चार्ज हुनुहुने छ ।” यस्तै कीर्तिपुरका बालकृष्ण अधिकारीको तीन वर्षअघि ढाडको भागको नसा च्यापिएर न्युरो अस्पतालमा भर्ना हुनुभयो । अस्पतालले शल्यक्रिया गर्नु पर्छ भनेपछि शल्यक्रिया नगरी वैकल्पिक चिकित्सा उपचारमा लाग्नुभयो । केही दिनको थेरापीपछि उहाँ पूर्ण रूपमा ठिक भएर जानुभयो । तीन वर्षपछि उहाँको समस्या बल्झियो । अहिले उहाँ अस्पतालमा उपचाररत हुनुहुन्छ । अधिकारीले वैकल्पिक चिकित्साले आफ्नो स्वास्थ्यमा सुधार हुँदै गएको बताउनुभयो ।
पछिल्लो समय नेपालमा वैकल्पिक तथा प्राकृतिक चिकित्साको महत्व बढ्दै गएको छ । विशेष गरी नरदेवी आयुर्वेदिक अस्पताल, स्पार्क हेल्थ होम अस्पताल, सुस्वास्थ्यजस्ता अस्पतालमा प्राकृतिक तथा वैकल्पिक चिकित्सा विधिबाट प्रभावकारी उपचार हुने गरेको छ ।
नरदेवी अस्पतालकी अकुपन्चर रोग विशेषज्ञ डा. जया सत्यालले नरदेवी अस्पतालमा प्यारालाइसिसका १५ जना बिरामी उपचाररत रहेको जानकारी दिनुभयो । डा. सत्यालले भन्नुभयो, “उहाँहरू सुरुमा एलोपेथिक अस्पताल जानुहुन्छ । ती अस्पतालमा ठिक नभएपछि प्रेषण भएर यहाँ आउनुहुन्छ ।” उहाँले नरदेवीमा अकुपन्चर, अकुपे्रसर र फिजियोथेरापी विधिबाट उपचार गराएर बिरामी निको हुने गरेको बताउनुभयो ।
यीबाहेक प्यारालाइसिस, नसा च्यापिएको, हड्डी खिइएको, पिनास, अनुहार प्यारालाइसिस, माइग्रेनलगायत रोगको उपचार प्राकृतिक तथा वैकल्पिक चिकित्सा पद्धतिबाट हुने गरेको छ । डा. केसीका अनुसार इलेक्ट्रोथेरापी, फिजियोथेरापी, मसाजथेरापी गरेर उपचार गर्ने गरिन्छ ।
डा. केसीले वैकल्पिक तथा प्राकृतिक चिकित्सामा लामो समयसम्म उपचार गरेर बस्नुपर्ने बताउनुभयो । प्यारालाइसिसलगायतका रोगको उपचारका लागि कम्तीमा एक महिनादेखि तीन महिनासम्म लाग्ने गर्छ । कतिपय जटिलखालको प्यारालाइसिसलगायतका समस्या ठिक हुनलाई एक वर्षसम्म लाग्ने गरेको छ ।
नरदेवी अस्पतालकी डा. सत्यालले सडक दुर्घटना, रुखबाट लडेका बिरामी, स्पाइनल कर्ड इन्जुरी भएका बिरामीका लागि प्राकृतिक तथा वैकल्पिक चिकित्सा वरदान साबित हुने गरेको बताउनुभयो ।
डा. केसीले प्राकृतिक चिकित्साले वनस्पतिजन्य औषधी र जीवनशैलीलाई बढी महत्व दिने बताउनुभयो । उहाँले आहार, व्यायाम, प्राणायाम, ध्यानका माध्यमले उपचार गर्ने प्राकृतिक चिकित्सा विधाले स्वास्थ्यसम्बन्धी सचेतना र ज्ञान विस्तार गर्ने बताउनुभयो । उहाँले प्राकृतिक चिकित्साले शरीरमा ऊर्जा सञ्चार गरी सन्तुलित र ऊर्जावान् बनाउन सहयोग गर्ने बताउनुभयो ।