तराईका मुख्य सहरमा रगतको अभाव देखिएको छ । गर्मी मौसममा बिरामीको सङ्ख्या वृद्धि भएसँगै तराईका जिल्लामा रगतको अभाव भएको हो । नेपाल रेडक्रस सोसाइटीका अनुसार नेपालगन्ज, वीरगन्ज, भरतपुर, बुटवल, भैरहवा, विराटनगर, हेटौँडालगायत तराईका सहरमा रगतको अभाव देखिएको हो । तराईका कतिपय स्थानको तापक्रम ४४ डिग्रीभन्दा बढी भएको, गर्मीले अस्पतालमा बिरामीको सङ्ख्या बढेको, अत्यधिक गर्मीका कारण रगत सङ्कलन गर्न नसक्दा रगतको चरम अभाव हुन पुगेको हो ।
ग्रामीण ऋणग्रस्तता, स्वास्थ्य सेवामा सहज पहुँच नहुँदा र धामीझाँक्रीको भरमा सामान्य शल्यक्रियाबाटै उपचार हुने पाठेघर खस्ने समस्याबाट अहिले पनि १० औँ लाख आमा आक्रान्त छन् । कतिपय आमा ‘लगान लागेको, वनको लागेको’ भनेर आफ्नो जटिल रोग लुकाएरै बस्न बाध्य छन् । त्यसमाथि आफ्नो गोप्य अङ्गमा रोगबारे खुलेर आफन्तलाई भन्ने आँटसमेत गर्दैनन् । तर सिन्धुपाल्चोक पिस्करकी ६७ वर्षीय नेप्टी थामीलाई अहिले थाहा भयो, पाठेघर खस्ने रोगको न्यूनतम खर्चमै सहज शल्यक्रिया गरेपछि निको हुने रहेछ । उहाँ वर्षौंअघिदेखि पाठेघर खस्ने (आङ खस्ने) समस्याले पिरोलेको थियो । धेरैबेर उभिँदा र थोरै गह्रौँ भारी बोक्नासाथ पाठेघर खसिहाल्थ्यो । उहाँले अर्थिक अभावका कारण आङ खस्ने रोगको उपचार गर्न सक्नुभएको थिएन । उहाँले रोग पहिचान गर्न पनि सक्नुभएको थिएन ।
नर्सिङ विषय अध्ययन गरेका जनशक्ति स्वदेशमै अवसर नपाएपछि विदेशतिर पलायन हुने गरेका छन् । स्वदेशमा न्यून सुविधामा काम गर्नुपर्ने बाध्यता भएपछि उनीहरू विदेशतिर आकर्षित भएका हुन् । नेपालबाट नर्सिङ उत्तीर्ण भएपछि उनीहरूको पहिलो आकर्षण अमेरिका, क्यानडा, अस्ट्रेलिया बेलायतसहितका विकसित मुलुक हुने गरेको छ तर पछिल्लो समय साउदी अरेबिया, दुबई, कतार, कुबेतलगायतका देशप्रति उनीहरूको आकर्षण बढ्न थालेको छ । नेपाल नर्सिङ सङ्घका कोषाध्यक्ष कल्पना श्रेष्ठले पछिल्लो समय ‘करियर बनाउनकै लागि’ साउदी, दुबई, कतार, कुबेत, बहराइनसहितका देशलाई नेपाली नर्सले गन्तव्य बनाएको बताउनुभयो । उहाँले थोरै खर्चमा खाडी मुलुक गएर राम्रो आम्दानी हुने भएकाले नर्सहरू खाडीका देशमा जाने गरेको बताउनुभयो ।
अघिल्ला वर्षमा महामारीकै रूपमा फैलिएको डेङ्गु रोगको सङक्रमण यस वर्ष पनि प्रकोपकै रूपमा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्ममा देशका ६१ जिल्लामा डेङ्गु रोग सङक्रमण पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत डेङ्गु रोग नियन्त्रण प्रमुख डा. गोकर्ण दाहालले यस वर्ष डेङ्गुको सङ्क्रमण तीव्र रूपमा फैलिएको बताउनुभयो । उहाँका अनुसार जनवरी (पुस–माघ) यता एक हजार सात जना डेङ्गुका बिरामी भेटिएका छन् ।
स्वास्थ्यलाई सबै नागरिकको पहुँचमा पु¥याउने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको आठ वर्ष पूरा भएको छ । नेपालमा पाइलटिङ कार्यक्रमको रूपमा आठ वर्षसम्म आइपुग्दा ७७ जिल्ला र ७५३ स्थानीय तहमा स्वास्थ्य बिमा कार्यक्रम लागु भइसकेको छ । देशका नागरिकको स्वास्थ्य उपचारको जिम्मा राज्यले लिनुपर्ने उद्देश्य अनुसार स्वास्थ्य बिमा कार्यव्रmम देशव्यापी बन्न पुगेको छ । सुरुमा इलाम, कैलाली र बागलुङबाट स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको थियो ।
औषधी पसलले बिक्री गरिरहेको औषधी सक्कली भए नभएको पत्ता लगाउन अनुगमन गरी परीक्षण गरिने भएको छ । औषधी व्यवस्था विभागले त्यस्ता पसलमा मिनी ल्याब लगेर तत्काल औषधीको गुणस्तर पत्ता लगाउने छ । यसअघि औषधी व्यवस्था विभागले औषधीको नियमन र अनुगमन मात्र गर्दै आएको थियो ।
अबदेखि स्वास्थ्य बिमा कार्यक्रममा ‘सङ्गठित व्यक्ति’ (कर्मचारी) पनि समेटिने भएका छन् । यसअघि सर्वसाधारणलाई प्राथमिकता राखेको स्वास्थ्य बिमा बोर्डले अबदेखि ‘सङ्गठित व्यक्ति’ लाई पनि अनिवार्य रूपमा स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गराउने भएको हो । स्वास्थ्य बिमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीले तलब खाने जोकोही व्यक्तिलाई सङ्गठित व्यक्तिका रूपमा लिइएको बताउनुभयो । उहाँका अनुसार ‘सङ्गठित व्यक्तिमा शिक्षक, निजामती कर्मचारी, संस्थानका कर्मचारी, नेपाल प्रहरी, नेपाली सेना, उद्योग कलकारखानामा काम गर्ने व्यक्ति पर्छन् । डा. लोहनीले कानुनमा सङ्गठित व्यक्तिलाई अनिवार्य स्वास्थ्य बिमा गराउने भन्ने उल्लेख गरिएको भन्दै यसलाई कार्यान्वयनतर्फ लैजान खोजिएको बताउनुभयो ।
प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेका व्यक्ति अनुसन्धानकै क्रममा अस्पताल भर्ना हुने क्रम बढेपछि त्यसबारे कार्यविधि नै तर्जुमा गर्न लागिएको छ । विभिन्न आरोपमा पक्राउ भएका व्यक्तिले स्वास्थ्यको कारण देखाउँदै अस्पताल भर्ना हुने प्रवृत्ति बढेपछि नेपाल मेडिकल काउन्सिलले त्यससम्बन्धी कार्यविधि तर्जुमा गर्ने भएको हो । गत माघमा बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ पर्नुभएका उद्योगी अरुण चौधरी पक्राउ पर्नेबित्तिकै चिरायु अस्पताल भर्ना हुनुभएको थियो । सुरुमा चिरायु अस्पताल भर्ना गरिएकोमा पछि उहाँलाई ग्रान्डी अस्पताल भर्ना गरिएको थियो । त्यहीँबाट नै प्रहरीले थप अनुसन्धान गरेको थियो । उद्योगी चौधरीलाई हिरासतमुक्त हुनेबित्तिकै थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको थियो ।
नेपालमा ४५ प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँचबाहिर भएकाले क्षयरोग नियन्त्रणमा चुनौती देखिएको छ । क्षयरोग नियन्त्रणका लागि सरकार तथा विभिन्न गैरसरकारी निकायको प्रयास रहे पनि नियन्त्रण गर्ने मामिलामा चुनौती छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार नेपालमा प्रत्येक वर्ष क्षयरोगका ७० हजार नयाँ बिरामी थपिने गरेका छन् । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका निर्देशक डा. प्रज्वल श्रेष्ठले क्षयरोग नियन्त्रणमा चुनौती रहेको बताउँदै भन्नुभयो, “उपचारको पहुँचमा आउन नसकेका बिरामीमध्ये ३५ प्रतिशत महिला र ६५ प्रतिशत पुरुष छन् ।”
भक्तपुरको एक निजी विद्यालयमा कक्षा ३ मा अध्ययनरत सौरभ अवाल (नाम परिवर्तन) का दाँत काला भइसकेका छन् । दाँतमा किराको समस्याले गर्दा उहाँलाई विद्यालय छोडेर दन्त चिकित्सककहाँ पुर्याउनु परेको छ । चिकित्सकले गुलियो पदार्थ र जङ्क फुड (पत्रु खाना) नखान बारम्बार सुझाव दिइरहे पनि उहाँलाई गुलियो खानेकुराबाट रोक्न सकिएको छैन ।
मिर्गौलासम्बन्धी समस्याको उपचार हुने सरकारी अस्पतालमा डायलासिसका लागि पालो पाउन मुस्किल छ । बिरामीको चाप बढी, जनशक्ति र डायलासिस मेसिन कम भएका कारण डायलासिस गराउनुपर्ने बिरामीले सरकारी अस्पतालमा धेरै समय कुर्नुपर्ने बाध्यता छ । वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलगायतका सरकारी अस्पतालमा सहज तरिकाले डायलासिस गर्न सक्ने अवस्था छैन । वीर अस्पतालमा दैनिक तीन सत्रमा ६० जनाको नियमित र दैनिक एक/दुई जनाको आकस्मिक डायलासिस हुने गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले वीर अस्पतालमा दैनिक ६० जनाको डायलासिस हुने गरेको जानकारी दिनुभयो । उहाँले एक सत्रमा २० जनाको डायलासिस हुने गरेको बताउनुभयो ।
नेपाली औषधी उद्योगलाई प्रवर्धन गर्ने उद्देश्यसहित ‘नवौँ फर्मा एक्स्पो’ चितवनमा सुरु भएको छ । नेपाल औषधी उत्पादक सङ्घ (एपोन) को आयोजनामा भरतपुरमा तीन दिनसम्म सञ्चालन हुने उक्त एक्स्पोमा देश विदेशका गरी १८० वटा औषधी उद्योग, औषधी उपकरण तथा स्वास्थ्य विज्ञानसम्बन्धी स्टलहरू प्रदर्शन गरिएको छ ।
भक्तपुर क्यान्सर अस्पतालको फार्मेसीमा औषधी किन्न गएका प्रत्येक बिरामीलाई अस्पतालबाहिरका निजी फार्मेसीमा पठाउने गरिन्छ । अस्पतालमा रहेको सरकारी फार्मेसीमा बढीमा एक सय रुपियाँ मूल्य पर्ने औषधी मात्र पाइन्छ । बढी मूल्य पर्ने औषधी नपाइने भएकाले अस्पतालको फार्मेसीका दराज प्रायः खाली हुन्छन् । सरकारले क्यान्सर उपचारमा एक लाख रुपियाँ बराबरको उपचार तथा औषधी निःशुल्क उपलब्ध गराउने गरेको छ । निःशुल्क उपचार तथा औषधीका लागि फार्मेसीमा औषधी नपाइँदा बिरामी निःशुल्क पाइने औषधीसमेत अस्पतालबाहिरका फार्मेसीबाट शुल्क तिरेरै खरिद गर्न बाध्य छन् ।
जीवनशैली र खानपिनमा आएको परिवर्तन, धूमपान, मद्यपान, मोटोपनालगायतका कारण नेपालमा क्यान्सर रोगका बिरामी अत्यधिक बढ्न थालेका छन् । क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाहीले नेपालमा क्यान्सर रोगको अवस्था भयावह बन्दै गएको बताउँदै भन्नुभयो, “रोगका कारण मृत्यु हुनेमध्ये क्यान्सर रोग दोस्रोमा पर्दछ ।” विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वमा पहिलोमा मुटुसम्बन्धी रोगका कारण सबैभन्दा बढीका मृत्यु हुने गरेको छ ।
दुर्घटनाका घाइतेको उपचारको जिम्मेवारी वहन गरेको काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टरमा म्याग्नेटिक रेसोनेन्स इमेजिङ (एमआरआई) स्क्यानर नै छैन । सो अस्पतालमा आउने बिरामीमध्ये अधिकांश दुर्घटनाका कारण घाइते वा चोट पटक लागेकाहरू हुने गरेका छन् । त्यस्ता बिरामीको अवस्था अनुसार एक्सरे, कम्प्युटराइज्ड टोमोग्राफी, सिटी स्क्यान र एमआरआई गर्नुपर्ने हुन्छ । अत्याधुनिक विशाल अस्पतालमा हालसम्म एमआरआई मेसिन उपलब्ध छैन । एमआरआई गर्नुपर्ने बिरामीलाई निजी स्वास्थ्य संस्थामा सिफारिस गरिँदै आएको छ ।