• ४ जेठ २०८२, आइतबार

मिर्गाैला प्रत्यारोपी सर्वोच्च शिखरमा

blog

काठमाडौँ, जेठ ४ गते । मिर्गौला प्रत्यारोपण गर्नुभएका सोलुखुम्बुका पेम्बा शेर्पाले सगरमाथाको सफल आरोहण गर्नुभएको छ । मिर्गौला प्रत्यारोपण गरेपछि सगरमाथा चढ्ने उहाँ पहिलो व्यक्ति बन्नुभएको छ । 

सगरमाथाको सफलतापूर्वक आरोहण गरी फर्किनुभएका शेर्पालाई काठमाडौँमा स्वागत गरिएको छ । उहाँलाई स्वागत गर्न अर्का मिर्गौला प्रत्यारोपी झम्क श्रेष्ठलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो । शेर्पाले बुधबार बिहान ९ बजेर ३० मिनेट जाँदा सगरमाथाको शिखरमा पाइला टेक्नुभएको हो । शेर्पा एक महिनाअघि नै सगरमाथाको आधार शिविरतर्फ प्रस्थान गर्नुभएको थियो । 

ओरोही शेर्पाले अन्य स्वस्थ व्यक्तिलाई लेक लाग्ने, श्वासप्रश्वास बढ्ने जस्ता समस्या भए पनि आफूलाई केही नभएको बताउनुभयो । उहाँले मिर्गौला प्रत्यारोपणपछि सगरमाथा आरोहण गर्ने उद्देश्य सफल भएको बताउनुभयो । 

विमानस्थलमा स्वागत गर्न पुग्नुभएका अर्का मिर्गौला प्रत्यारोपी झम्क श्रेष्ठले शेर्पाको सगरमाथा आरोहणले मिर्गौला प्रत्यारोपण गरिएका व्यक्ति पनि सामान्य व्यक्ति सरह नै सबै काममा सक्षम हुन्छन् भन्ने सन्देश दिएको बताउनुभयो । २०७९ कात्तिक २ गते शेर्पाको मिर्गौला प्रत्यारोपण गरिएको थियो । 

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।