• ६ पुस २०८१, शनिबार

साउदीबाट फर्किएका एक जनामा ‘मङ्कीपक्स’,सरकारले थाल्यो निगरानी

blog

काठमाडौँ, पुस ६ गते ।  नेपालमा ३६ वर्षीय युवामा मङ्कीपक्स (एमपक्स) पुष्टि भएको छ । एक विदेशी महिलालाई मङ्कीपक्स पुष्टि भएको झन्डै डेढ वर्षपछि नेपाली युवामा मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको हो ।

साउदी अरेबियाबाट बिहीबार फर्किएका एक युवामा शुक्रबार मङ्कीपक्स पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले ३६ वर्षीय नेपाली युवालाई मङ्कीपक्स पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँले मङ्कीपक्स पुष्टि भएका तनहुँका ती युवाको अवस्था सामान्य रहेको बताउनुभयो । साउदीबाट फर्किएका युवा मङ्कीपक्सको लक्षण देखिएपछि टोखास्थित ग्रान्डी अस्पताल पुग्नुभएको थियो । अस्पतालले मङ्कीपक्सको आशङ्का लागेर टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रिफर गरेको थियो । टेकु अस्पतालले छुट्टै आइसोलेसनमा राखेर टेकुमा रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्न नमुना पठाएको थियो । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले मङ्कीपक्स पुष्टि गर्दै सरकारले त्यसलाई नियन्त्रणको प्रयास गरिरहेको बताउनुभयो । उहाँले हालै साउदी अरबबाट फर्किएका करिब ३६ वर्षीय युवामा मङ्कीपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा मङ्कीपक्स सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो । 

उहाँले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको बताउनुभयो । यसअघि २०८० असारमा विदेशबाट आएकी एक जना ६० वर्षीय विदेशी महिलामा मङ्कीपक्सको सङ्क्रमण देखिएको थियो । 

कस्तो हुन्छ लक्षण ?

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले मङ्कीपक्स ‘भाइरल जुनोसिस’ रोग भएको जानकारी दिनुभयो । उहाँले मङ्कीपक्स जनावरबाट मानिसमा सरेको भाइरस भएको जानकारी दिँदै ज्वरो आउनु, हातखु्ट्टा, मुखमा बिमिरा देखिनु, सामान्य ज्वरो सुरु भएको एकदेखि तीन दिनभित्र छाला, अनुहार, हत्केला र पैतालामा डाबर देखा पर्ने बताउनुभयो । उहाँका अनुसार डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किनु, टाउको ढाड र मांसपेशी दुख्नु, शरीरका ग्रन्थी बढ्नु मङ्कीपक्सका लक्षण हुन् ।

डा. पुनका अनुसार मङ्कीपक्स सङ्क्रमित बाँदर, मुसा, लोखर्केलगायतका जनावरबाट सर्ने जानकारी दिनुभयो । उहाँले शरीरमा देखिएका डाबर परिवर्तन भई फोका हुँदै पाप्रा लागेर उप्किने, टाउको, ढाड र मांसपेशी दुख्ने र शरीरका ग्रन्थी बढ्ने बताउनुभयो । उहाँले मङ्कीपक्सका कारण आँखामा सङ्क्रमण भई दृष्टि गुम्ने, निमोनिया, मस्तिष्क ज्वरो, गर्भ खेर जाने र मृत्युसमेत हुन सक्ने बताउनुभयो । 

अफ्रिकी देशमा मङ्कीपक्सबाट कैयौँको मृत्यु भइसकेको छ । हाल मङ्कीपक्स १११ देशमा फैलिसकेको छ । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल मङ्कीपक्स सङ्क्रमणको जोखिममा रहेको जनाएको थियो । मङ्कीपक्सको भाइरस भारतमा दु्रत रूपमा फैलिएपछि नेपालमा उच्च जोखिममा राखेको थियो । 

प्रवक्ता डा. बुढाथोकीले मङ्कीपक्स नियन्त्रणका लागि यसअघि नै पूर्वतयारीबारे मन्त्रालयले विषयविज्ञसँग सुझाव लिइसकेको बताउनुभयो । उहाँले हवाई तथा सीमानाकामा रहेका हेल्थ डेस्क तथा सरुवा रोगको निगरानी गर्न सङ्घ, प्रदेश र स्थानीय तहलाई निर्देशन दिइसकेको बताउनुभयो । उहाँले यसअघि पनि मन्त्रालयले मङ्कीपक्स नियन्त्रणका लागि सात वटै प्रदेशमा रोगको रोकथाम र व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकेको जानकारी दिनुभयो ।    

Author
सरोज ढुङ्गेल

उहाँ गोरखापत्रका लागि स्वास्थ्य क्षेत्रको रिपोर्टिङ गर्नुहुन्छ ।