फुङलिङ, फागुन ९ गते । नेपाल प्रहरीको टोलीले ताप्लेजुङमा घाइते अवस्थामा भेटिएको पोथी कस्तुरीको उद्धार गरेको छ । फक्ताङ्लुङ गाउँपालिका ७ ओलाङ्चुङगोलामा घाइते अवस्थामा भेटिएको पोथी कस्तुरीको बिहीबार उद्धार गरिएको हो । घाइते कस्तुरीको इलाका प्रहरी कार्यालय ओलाङ्चुङगोलाले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रबी रावलले जानकारी दिनुभयो । उहाँका अनुसार कञ्चनजङ्घा संरक्षण क्षेत्रका कर्मचारीको सहकार्यमा कस्तुरीको उद्धार गरिएको छ । जङ्गली जनावर मलसाँप्रोको आक्रमणका कारण कस्तुरी घाइते भएको प्रनाउ रावलले जानकारी दिनुभयो । प्रहरीका अनुसार उद्धार गरिएको कस्तुरीलाई उपचारपछि सुरक्षित वासस्थान तर्फ छोडिएको छ ।
फुङलिङ, फागुन ४ गते । ताप्लेजुङको ओलाङचुङगोलमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । गत वर्ष पुसमै भएको हिमपात यस वर्ष फागुनमा मात्र भएको छ । स्थानीय तेन्जिङ शेर्पाका अनुसार यस वर्षको पहिलो पटक गए राति देखि हिमपात भएको हो । ओलाङचुङगोला बस्तीमा करिब ४ सेन्टिमिटर हिमपात भएको उहाँले बताउनुभयो । उहाँले यस वर्षको हिउँद याममा आफूहरूले जाडो नै महसुस नगरेको समेत बताउनुभयो । गत वर्ष अत्यधिक हिमपात भएको र यस वर्ष हिमपात नै नभएकाले जाडोको अनुभूति नभएको उहाँको भनाइ थियो ३ हजार २ सय मिटरको उचाइमा रहेको यस बस्तीमा पहिलो पटक हिमपात हुँदा भ्रमण लागि पुगेका पर्यटक हर्षित भएका छन् । शेर्पाका अनुसार हिजो साँझ १० जना पर्यटक चीनको सीमावर्ती क्षेत्र टिपताला भञ्ज्याङसम्म भ्रमणका लागि पुगेका छन् । बस्ती क्षेत्रमा कम मात्रामा हिमपात भए पनि सीमावर्ती क्षेत्रमा अत्यधिक हिमपात भएको हुनाले गाडीमा यात्रा गर्न जोखिम हुने स्थानीयको भनाई छ । यस्तै सबैभन्दा बढी पर्यटक तथा तीर्थयात्री आउने क्षेत्र पाथीभरा मन्दिरमा समेत हिमपात भएको छ । तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा देवी मन्दिरदेखि करिब ४ किलोमिटर तल रहेको माथिल्लो फेदीसम्म हिमपात भएको स्थानीय राजेन्द्र महतले जानकारी दिनुभयो । जिल्लाका अन्य विभिन्न उच्च स्थानमा गएरातिदेखि नै हिमपात जारी रहेको छ ।
फुङ्लिङ, फागुन २ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा खेतीयोग्य जमिन बाँझो राखे जरिवाना लाग्ने भएको छ । पालिकाले जारी गरेको आर्थिक विधेयक २०८१ को अनुसूची–११ मा जरिवानाको व्यवस्था गरेको हो ।यस्तै जथाभाबी पशु चौपाया छाड्ने व्यक्तिलाई समेत सजाय र जरिवानाको व्यवस्था गरिएको छ । जस अनुसार खेतीयोग्य जमिन बाँझो राखेमा तोकिएको मालपोत करको थप एक सय प्रतिशत जरिवाना लिइने छ । विधेयकमा खेतीयोग्य जमिन हो की होइन भनेर ठहर गर्ने जिम्मेवारी सम्बन्धित वडाध्यक्षलाई दिइएको छ । खेतीयोग्य जमिन बाँझो राख्नेबाट प्राप्त भएको जरिवानाको २५ प्रतिशत रकम सम्बन्धित टोल विकास संस्थालाई पुरस्कार स्वरूप प्रदान गरिने छ ।विधेयक अनुसार जथाभाबी पशु चौपाया छाड्ने व्यक्तिलाई प्रति पशु एक सय रुपियाँ जरिवाना लिने छ । उक्त कार्यको अनुगमनको जिम्मेवारी सम्बन्धित टोल विकास संस्थालाई दिइएको छ । यस्तै गाउँपालिका क्षेत्रभित्रका नदी, खोला खोल्सी आदिमा पाइने दुर्लभ असला र तिते लगायतका माछा मार्न रासायनिक विषादी वा, करेन्ट वा महाजाल प्रयोग गर्ने व्यक्ति तथा समूहलाई प्रचलित सङ्घीय तथा प्रादेशिक कानुनमा उल्लेखित बाहेक गाउँपालिकाले थप १० हजार रुपियाँ जरिवाना लिने पालिकाले जारी गरेको विधेयकमा उल्लेख गरिएको छ ।