• ११ फागुन २०८१, आइतबार

फुङ्लिङमा अनिश्चितकालीन निषेध आदेश जारी

blog

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ ।

फुङ्लिङ, फागुन ११ गते । ताप्लेजुङ फुङ्लिङमा अनिश्चितकालीन निषेध आदेश जारी गरिएको छ । आइतबार बिहान ५ बजे देखि अर्को आदेश नआए सम्मको लागि निषेध आदेश जारी गरिएको हो । 

जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै फुङलिङ नगरपालिका बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस र स्थानीय स्तरमा हुलदङ्गा, झडप साथै प्रतिकुल स्थितिको सृजना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिका कारण निषेध आदेश जारी गरेको जानकारी गराएको छ । 

आइतबार बिहान ५ बजे देखि अर्को आदेश नभए सम्मको लागि चार किल्ला भित्रको क्षेत्रमा लागू हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ [संशोधन सहित] को दफा ६ को उपदफा ३ [क] बमोजिम निषेधित क्षेत्रमा पाँच जना भन्दा बढी व्यक्ति भेला भई सभा, जुलुस, प्रदर्शन, घेराउ जस्ता कार्यक्रम गर्न निषेध गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

फुङलिङ नगरपालिका बजार क्षेत्रभित्र पर्ने पुर्व – फुङलिङ नगरपालिका वार्ड नं। ७ सल्लेरी, पश्चिम– फुङलिङ नगरपालिका वार्ड नं। ७ घोडे चौर [थलाङ धारा क्षेत्र सम्म], उत्तर– फुङलिङ नगरपालिका वार्ड नं। ४ उकालीपानी, दक्षिण– फुङलिङ नगरपालिका वार्ड नं। ६ शेर्पा टोल [भेटनरी कञ्चनजंघा टोल] मा निषेध आदेश जारी गरिएको छ । 

यस्तै काफ्लेपाटी बल्लुडाँडा क्षेत्रमा पुर्व – पर्यटक प्रहरीको भवनको सय मिटर इलाका, पश्चिम – बल्लुडाँडा –डडेले इलाका, उत्तर – केबलकार बेस स्टेसन ÷ पानीको मुहान इलाकाको सय मिटर पर र दक्षिण – नयाँ बसपार्क इलाकाको सय मिटर [जङ्गल इलाका समेत] मा निषेधाज्ञा जारी गरिएको छ । 

घोषित अवधिभर जारी आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने कुनै पनि व्यक्ति वा समूह उपर प्रचलित कानून बमोजिम कारबाही समेत जानकारी गाइएको छ । 

ताप्लेजुङमा नो केबलकार पक्षधरले आन्दोलन गर्दै आइरहेका छ । सोही क्रममा पटक पटक प्रहरी र आन्दोलनरत पक्ष बिच झडप भइरहेको छ । शुक्रवार साँझ फुङलिङको बिरेन्द्रचोकमा भएको झडपमा प्रहरी सहित धेरै जना घाइते भएका छन् । 

Author
साहारा लिम्बू

उहाँ ताप्लेजुङबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।