• २० फागुन २०८१, मङ्गलबार

मासिक एक दिन श्रमदान अनिवार्य

blog

फुङ्लिङ, फागुन २० गते । नेकपा एमाले थेचम्बु वडा कमिटीले १ महिनामा कम्तीमा एक दिन श्रम अभियान सुरु गरेको छ । आफ्नो गाउँ आफैँ बनाऊँ भन्ने नारा सहित वडा कमिटीले उक्त अभियान सुरु गरेको हो ।

एमाले जिल्ला कमिटी सदस्य तेजवीर मेन्याङबोका अनुसार थेचम्बु वडा कमिटीले सुरु गरेको अभियान अन्तरगत स्थानीय स्तरका सडक, बाटो, पानीका मुहान आदिमा सरसफाइ तथा सडकका खाल्डा पुर्ने लगायतका कार्य गर्ने गरिएको छ । युवा पङ्ती जागृत भई सामाजिक कार्यमा सक्रिय भएको मेन्याङबोको भनाई छ ।

वडा तथा पालिकाका हरेक विकास निर्माणका कार्यमा श्रमदान अपरिहार्य रहेकाले यस्तो अभियान चलाइएको एमाले थेचम्बु कमिटीले जनाएको छ । श्रमदान सँगै स्थानीय स्तरका विकास निर्माणमा पनि सहयोग गर्ने श्रम दाताहरूको भनाई छ ।

अहिलेको अवस्था राजनीतिक दलहरू एक अर्कालाई आरोप प्रत्यारोपमा व्यस्त भइरहेको अवस्थामा एउटा राजनीतिक दल भित्रको कमिटीले यस्तो काम सुरु गरेकोले यो काम निक्कै उदाहरणीय बन्ने स्थानीय बासीहरूको भनाई छ । 

Author
साहारा लिम्बू

उहाँ ताप्लेजुङबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।