• ३० असोज २०८२, बिहिबार

तस्करबाट जोगिएका गैँडा कालगतिले मर्दै

blog

चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरमा मृत अवस्थामा फेला परेको २५ वर्षको भाले गैँडा । तस्बिर : बोमलाल गिरी

बोमलाल गिरी
नवलपुर, असोज ३० गते ।
चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टरमा २५ वर्षको भाले गैँडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जअन्तर्गत नवलपुरको अमलटारी सेक्टरको बाँदरझुला क्षेत्रमा २५ वर्षको गैंडा मृत फेला परेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो ।

दलदलमा फसेर मरेको गैंडाको खाग र खुर सुरक्षित रहेको उहाँले जानकारी दिनुभयो ।  चितवन राष्ट्रिय निकुञ्जमा यो आर्थिक वर्षमा मरेको यो चौथो गैँडा हो । गत आर्थिक वर्षमा यहाँ २८ वटा गैँडा मरेका थिए ।

प्राकृतिक कारणले गैँडा मर्नेक्रम बढे पनि झण्डै दुई वर्षदेखि चोरी सिकारीको निसानामा परेका छैनन् । अन्तिम पटक २०८० कात्तिक ३० गते चितवन राष्ट्रिय निकुञ्नको पूर्वि सेक्टरअन्तर्गतको चपरचुली क्षेत्रमा खाडलमा पारेर तस्करले दुईवटा गैँडा मारेका थिए । त्यसयता प्राकृतिक कारणले गैँडा मरे पनि तस्करको निसानाबाट जोगिँदै आएका सूचना अधिकारी थापा मगरले बताउनुभयो ।

पछिल्लो गणनाअनुसार नेपालमा सात सय ५२ वटा गैँडा रहेका छन् । यसमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै ६ सय ९५ वटा गैँडा रहेका छन् । त्यसबाहेक पर्सा वन्यजन्तु आरक्ष, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा आरक्षमा पनि गैँडा रहेका छन् ।