नेपालको राजनीतिक इतिहासमा विसं १९९७ देखि २०६२/६३ र २०८२ भदौ २३ र २४ गतेसम्म आइपुग्दा थुप्रै क्रान्ति, पर्व, नैतिक आन्दोलनहरू भएका छन् । पछिल्लो अवधिको आन्दोलन साँच्चै ऐतिहासिक, स्मरणीय र असाधारण आन्दोलनका रूपमा दीर्घकालसम्म जीवित रहने छ । नेपालको इतिहासमा नेपाल राज्यलाई स्थायी मार्गदर्शन प्रदान गर्ने भविष्यका उज्ज्वल कर्णधार जेनजी पुस्ताले स्वतःस्फूर्त सञ्चालन गरेको क्रान्ति हो । यथास्थितिवादी परम्परागत राजनीतिक सोच र विद्यमान सत्ता संरचनामा नवीन परिवर्तन उजागर गर्ने जेनजी पुस्ता आफ्नो दरिलो उपस्थिति स्थापित गर्न सफल भयो । अत्याधुनिक सञ्चार तथा सूचना प्रविधि र सचेतनाको २१ औँ शताब्दीको युगमा जन्मिएका यी पुस्ताले प्रत्येक नेपाली नागरिकको मानसपटलमा विराजमान सर्वकालिक शब्दहरू सुशासन प्रवर्धन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, समानता, सामाजिक न्याय, आर्थिक सदाचार र समावेशी लोकतन्त्र केन्द्रमा राख्दै शान्तिपूर्ण आन्दोलन सुरु गरेका थिए ।
शान्तिपूर्ण आन्दोलनको संज्ञा दिइए तापनि इतिहास सधैँ सरल, सहज र शुद्ध रेखामा अघि बढ्छ भन्न सकिने स्थिति देखिएन । आन्दोलनले अलग बक्ररेखा पछ्यायो, जसको कारण पहिलो दिन कैयाैँ युवाले वीरत्व प्राप्त गरे । जेनजीको बलिदानपूर्ण यो अभूतपूर्व आन्दोलन सर्वोच्च चुचुरोमा पुगेर आमनेपालीको हृदयमा बास बस्न सफल रह्यो । दोस्रो दिनको शान्तिपूर्ण आन्दोलन परिकल्पना गरेको लक्ष्मण रेखाको घेरा तोडेर बिचलित हुन पुग्यो । शान्तिपूर्ण आन्दोलनको सफा पानीको मुहानमा विभिन्न गन्ध, अनुशासनहीन र विध्वंसकारी समूहहरू घुसपैठ गर्न पुगे । देशका थुप्रै ऐतिहासिक सम्पदामा आगजनी भयो, अर्बाैं मूल्य बराबरको राष्ट्रिय सम्पत्ति नष्ट भयो । बिनाकारण कतिपय अबोध नागरिकले जीवन उत्सर्ग गर्नु प¥यो भने कतिपय घाइते हुन पुगे । यी घटना र परिघटनाको सूक्ष्म विश्लेषणको निष्कर्षबाट के भन्न सकिन्छ भने वास्तवमा यो आन्दोलन थिएन, यो एक युगान्तकारी सफल क्रान्ति थियो ।
राष्ट्रहित र आर्थिक सदाचार
नयाँ पुस्ता जेनजीको माग कुनै राजनीतिक दलको घोषणापत्र जस्तो थिएन । राष्ट्रसेवक कर्मचारी– शिक्षकको जस्तो तलब भत्तालगायत अन्य सुविधा वृद्धिका माग थिएनन् र ट्रेड युनियनका बुँदै बुँदाले भरिएका कागजी मागपत्र जस्ता पनि देखिएनन् । राष्ट्रहितलाई सर्वोपरि राख्ने प्रशासनिक र राजनीतिक संरचना, आर्थिक सदाचार, भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता, सामाजिक सञ्जालमा अभिव्यक्तिको स्वतन्त्रता तर जिम्मेवार प्रयोग, समान अवसरसहितको समावेशी लोकतन्त्र, खुला, पारदर्शी र प्रविधिमैत्री आर्थिक प्रणाली, सामाजिक न्याय र समतामूलक विकासलगायत नै उनीहरूले उठाएका प्रमुख माग थिए । यी यस्ता मागहरू के उनीहरूका निजी स्वार्थपूर्ति गर्ने थिए र ? उनीहरूका यी माग नेपाल राज्यको दीर्घकालीन हकहित, शान्ति, समृद्धि र राजनीतिक स्थिरतासँग जोडिएका नैतिक, सत्यनिष्ठा, सकारात्मक र स्वतः सृजित स्वदेशी मौलिक आवाज थिए । अर्को अर्थमा जेनजी पुस्ताका आवाज के तपाई हाम्रा आफ्नै आत्मा बोल्ने आवाज होइनन् र ? राष्ट्रप्रति निष्ठावान् जेनजीका मुखरित राष्ट्रिय चिन्तन हामीले अपनत्व ग्रहण गर्नु पर्दैन ? के उनीहरूले तत्कालीन सरकारसमक्ष प्रस्तुत गरेका मागहरू कच्चा थिए र ? वास्तवमा यी सवालहरू अत्यन्त परिपक्व थिए र समसामयिक छन् र चिरकालपर्यन्त जीवन्त रहने छन् । यी मागहरूले उनीहरूका पुस्ताका वास्तविक अनुभव र व्यथा बोल्थे । उनीहरूले देखेको नेपाल र सोचेको कल्पना बेरोजगारी, असमानता, शिक्षा तथा स्वास्थ्यमा असमान पहुँच, अवसरमा भेदभाव र राजनीतिक दलहरूमा जरा गाडेको अवसरवाद सहनयोग्य थिएन ।
वीरत्व र भावनात्मक उद्वेलन
युगान्तकारी सफल क्रान्तिको पहिलो दिनमै प्रहरीको गोली वा भिडको कुशल व्यवस्थापन हुन नसक्दा र विविध कमजोरीका कारण केही किशोर किशोरीले वीरगति प्राप्त गरे । जेनजी कुनै राजनीतिक लाभका लागि सडकमा उत्रिएका थिएनन् । उनीहरू आफ्नो व्यक्तिगत स्वार्थपूतिका लागि भन्दा आमनेपाली नागरिकका वंशीय एवं संवैधानिक मौलिक हक हित र सुरक्षित भविष्यका लागि धुलोधुवा मिश्रित सडकमा उत्रिएका थिए । वीरगति प्राप्त किशोर किशोरीहरूको पवित्र रगतले सम्पूर्ण राष्ट्रप्रेमीलाई ब्युझायो । उनीहरूको बलिदानले देशैभरका राष्ट्रप्रेमी नेपालीमा चेतनारूपी अकल्पनीय भेल अनियन्त्रित ज्वाला प्रज्ज्वलित भई भड्कन पुग्यो । दोस्रो दिन केही विध्वंसकारी समूह जो निर्जीववस्तु झैँ धनमा बिक्री भएका थिए, तिनीहरू आन्दोलनमा घुसपैठ गरी प्रवेश गर्दा स्थिति किशोर किशोरीहरूको नियन्त्रण बाहिर गयो । सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु आमनागरिकको कर्तव्य हो भन्ने संवैधानिक कर्तव्यसमेत भुलेर ऐतिहासिक दरबार क्षेत्र तथा स्मारक स्तम्भहरू, पुरातात्त्विक सम्पदाहरू र सरकारी, व्यावसायिक क्षेत्रका भवनहरू, सरकारी एवं निजी सवारीसाधनमा आगजनी भयो । जेनजी पुस्ताको शुद्ध आत्माबाट यो हिंसात्मक र अराजक अवैध तत्व आएको थिएन । देशलाई अस्थिर राजनीतिक दिशातिर धकेल्ने खोज्ने अवैध सन्तान र तत्वको निम्तिएको यो षड्यन्त्र थियो । यी अवैध सन्तान र तत्वका कारण कैयौँ बाआमाको काख रित्तियो । नेपाल राज्यकोषको धरोहर ऐतिहासिक सम्पदा नष्ट भए, अर्बौं रुपियाँका सरकारी भवन र सवारीसाधन नष्ट भए । व्यक्ति र व्यावसायी मर्माहत भए भने कामदार कर्मचारी रोजगारबिहीन भए ।
नवीन राजनीतिक नेतृत्व उदय
नेपालको संविधानको पालन र संरक्षण गर्नु, सङ्घीय कानुनबमोजिम आफ्नो कार्यसम्पादन गर्नु, राष्ट्रिय एकताको प्रवर्धन गर्नु र राष्ट्रपति राष्ट्राध्यक्षसमेत हुने संवैधानिक व्यवस्थाबमोजिम राष्ट्रपतिले जनभावनाको सम्मान गर्दै जेनजीको भावना अनुकूल उनीहरूको मर्ममा चोट नपुग्ने गरी विगतमा स्वच्छ छवि, आर्थिक पारदर्शिता र न्यायिक क्षेत्रको निर्भीक व्यक्तित्व, सरल स्वभाव एवं जनविश्वास जित्न सफल न्यायमूर्ति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्नुभयो । यस ऐतिहासिक नियुक्तिसँगै प्रधानमन्त्रीको सिफारिसमा विविध क्षेत्रबाट स्वच्छ छविका व्यक्तिहरू प्राध्यापक, चिकित्सक, अभियन्ता, सामाजिक कार्यकर्ता र युवा उद्यमीलाई मन्त्रीमा नियुक्त गरियो । यस ऐतिहासिक क्रान्तिपश्चात् पहिलो पटक राजनीति राजनीतिज्ञको मात्र होइन, सर्वसाधारण नागरिक र राष्ट्रसेवकको पनि हो भन्ने ऐतिहासिक मूल्यमान्यता स्थापित भएको छ ।
आमनिर्वाचनको घोषणा
राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधि सभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्ने संवैधानिक व्यवस्था अनुसार मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपतिले सङ्घीय संसद् अन्तर्गतको प्रतिनिधि सभा विघटन गरी २०८२ फागुन २१ गतेका लागि आमनिर्वाचनको घोषणा भयो । यस आमनिर्वाचनको घोषणाले लोकतन्त्रलाई पुनर्जीवन दिने ऐतिहासिक अवसर सिर्जना ग¥यो । लोकतान्त्रिक शासन व्यवस्थाको सुन्दर पक्ष भनेकै जनता आफ्ना जनप्रतिनिधि स्वयम् निर्वाचित गर्न सक्षम छन् भन्ने अटल विश्वास हो । राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा गरेको यो निर्णय जनताको माग र मर्मसँग मेल खाने नै देखिन्छ । सत्तामा रहेका वा प्रतिपक्षमा बसेका कुनै पनि व्यक्ति वा राजनीतिक दल घोषित निर्वाचनमा सक्रिय सहभागी भई आमनिर्वाचन सम्पन्न गर्नु नै हरेक नेपाली नागरिक र राजनीतिक दलको सफलता हो । यस निर्वाचनको आकर्षक पक्ष भनेको जेनजी पुस्ता मतदानमा सरिक भई आफ्नो शक्ति संस्थापित गरी आगामी राजनीतिक समीकरणमा निर्णायक भूमिका निर्वाह गर्नु हो ।
जेनजीको सूक्ष्म चेतना
जेनजी पुस्तालाई सञ्चार तथा सूचना प्रविधिमैत्री पुस्ताको रूपमा सम्बोधन गर्नु अनुपयुक्त नहोला । उनीहरूद्वारा सञ्चालित अनेकौँ सामाजिक सञ्जालमार्फत आफ्ना उमेरका सहपाठीहरूसँग संवाद र एकता कायम गरी क्रान्तिका सन्देशहरू देशव्यापी अभियानका रूपमा फैलाएर जनमानसमा अभूतपूर्व लहर ल्याउन सफल भए । वास्तवमा यो पुस्ताले सूचना प्रविधिको प्रयोग मनोरञ्जनका लागि नभई सामाजिक–राजनीतिक परिवर्तनको संवाहक शक्तिशाली अस्त्रको रूपमा प्रयोग ग¥यो । जेनजी पुस्ताले नागरिक पत्रकारिता, तथ्यमा आधारित प्रतिवेदन र विद्युतीय सचेतनाको माध्यमबाट आर्थिक सदाचार, पारदर्शिता, जवाफदेहितालगायत विविध सवालको सुनिश्चितताको वकालत गरे ।
सामाजिक न्याय र समावेशी लोकतन्त्र
जेनजी पुस्ताद्वारा सञ्चालित युवा क्रान्तिले पथप्रदर्शन गरेको अर्को महत्वपूर्ण पाटो भनेको समावेशी लोकतन्त्रको आवश्यकता हो । यस ऐतिहासिक क्रान्तिमा सर्वपक्षीय (ग्रामीण, दलित, जनजाति, मधेशी, थारू, महिला, अपाङ्गता भएका व्यक्तिहरू र तेस्रो लिङ्गी समुदाय) नागरिक प्रतिनिधिहरूको साथ, सहयोग, समर्थन, सहभागिता र एकता उजागर हुनु पनि हो । युवा क्रान्तिले नेपालका विविध समुदायका नागरिकको भाग्य, भविष्य, आकाङ्क्षा र सबैका लागि समान अवसर तथा सम्मानको भावनासमेत विकास गर्न अतुलनीय भूमिका खेल्यो ।
आर्थिक सदाचारप्रति प्रतिबद्ध
दशकौँको राजनीतिक अस्थिरताका कारण लगानीको सुखद वातावरण नभएकाले देशको अर्थन्त्रमा व्यापक सुधार ल्याउन पनि नयाँ सरकार र क्रान्तिको मूल भावनाले खुला र सदाचारयुक्त अर्थतन्त्रको मार्ग प्रशस्त हुने विश्वास लिइएको छ । क्रान्तिले अर्थतन्त्र प्रविधिमैत्री, प्रतिस्पर्धात्मक र स्वच्छ बनाउने दिशामा समेत अग्रसर हुने अपेक्षा गरिएको छ ।
नयाँ युगको सुरुवात
विगतमा भएका क्रान्ति र आन्दोलनले व्यापक परिवर्तन ल्याए पनि कुशलतापूर्वक यसको व्यवस्थापन हुन नसक्दा देशमा राजनीतिक स्थायित्व कायम हुन सकेन । जेनजी पुस्ताको क्रान्तिले सरकार हल्लियो र सहमतिमा नयाँ सरकार निर्माण भएपश्चात् देशमा राजनीतिक स्थिरता स्थापित हुनेमा आमनागरिक विश्वस्त छन् । जेनजी युवा पुस्ताबाट भएको सफल क्रान्तिको व्यवस्थापन गर्ने जिम्मेवारी वर्तमान नयाँ सरकारको काँधमा आएको छ । यस सरकारले गराउने आमनिर्वाचनमार्फत गठन हुने प्रतिनिधि सभाबाट निर्मित सरकारबाट अझ गतिशील राजनीतिक स्थायित्व कायम गरी जेनजी युवा पुस्ताले आत्मगौरवका साथ भन्न पाऊन्– हामीले क्रान्ति ग¥यौँ र अब नवनिर्माण पनि हामी स्वयम्ले गर्छौं ।
नेपालको राजनीतिक इतिहासमा भएका ठुला परिवर्तनको शृङ्खलामा जेनजी पुस्ताको क्रान्ति अर्को एक महìवपूर्ण आधारस्तम्भ (माइलस्टोन) भएको छ । यो क्रान्ति राजनीतिक परिवर्तन होइन, चेतनाको पुनर्जागरण हो र जेनजी युवा पुस्ताले आफ्नो राष्ट्र, शासन र भविष्यप्रति उत्तरदायित्व लिएका छन् । सुशीला कार्कीको प्रधानमन्त्रित्व, प्रविधिमैत्री युवाको एकता र नेपाली नागरिकको सूक्ष्म चेतनाले नेपाललाई अब सदाचारयुक्त, भ्रष्टाचार शून्यता, सुशासन, पारदर्शिता र समानताको बाटोमा डो¥याउने विश्वास दिलाउँछ । नेपालले अब नयाँ पुस्ताबाट नयाँ कार्यदिशा प्राप्त गरेको छ । जेनजी युवा पुस्ताले राष्ट्रभक्ति, आर्थिक सदाचार र सामाजिक न्याय नारामा मात्र सीमित राख्ने छैनन् र दैनिक जीवनशैली नै बनाउने छन् भन्ने पूर्णविश्वास साथ भन्न सकिन्छ ।