फुङ्लिङ, फागुन २ गते । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा खेतीयोग्य जमिन बाँझो राखे जरिवाना लाग्ने भएको छ । पालिकाले जारी गरेको आर्थिक विधेयक २०८१ को अनुसूची–११ मा जरिवानाको व्यवस्था गरेको हो ।
यस्तै जथाभाबी पशु चौपाया छाड्ने व्यक्तिलाई समेत सजाय र जरिवानाको व्यवस्था गरिएको छ । जस अनुसार खेतीयोग्य जमिन बाँझो राखेमा तोकिएको मालपोत करको थप एक सय प्रतिशत जरिवाना लिइने छ । विधेयकमा खेतीयोग्य जमिन हो की होइन भनेर ठहर गर्ने जिम्मेवारी सम्बन्धित वडाध्यक्षलाई दिइएको छ । खेतीयोग्य जमिन बाँझो राख्नेबाट प्राप्त भएको जरिवानाको २५ प्रतिशत रकम सम्बन्धित टोल विकास संस्थालाई पुरस्कार स्वरूप प्रदान गरिने छ ।
विधेयक अनुसार जथाभाबी पशु चौपाया छाड्ने व्यक्तिलाई प्रति पशु एक सय रुपियाँ जरिवाना लिने छ । उक्त कार्यको अनुगमनको जिम्मेवारी सम्बन्धित टोल विकास संस्थालाई दिइएको छ । यस्तै गाउँपालिका क्षेत्रभित्रका नदी, खोला खोल्सी आदिमा पाइने दुर्लभ असला र तिते लगायतका माछा मार्न रासायनिक विषादी वा, करेन्ट वा महाजाल प्रयोग गर्ने व्यक्ति तथा समूहलाई प्रचलित सङ्घीय तथा प्रादेशिक कानुनमा उल्लेखित बाहेक गाउँपालिकाले थप १० हजार रुपियाँ जरिवाना लिने पालिकाले जारी गरेको विधेयकमा उल्लेख गरिएको छ ।