• ३० असोज २०८२, बिहिबार

यस पटकका नोबेल पुरस्कार विजेता

blog

छ विधामा दिइने यस वर्षको नोबेल पुरस्कार घोषणा गरिएको छ । यो पुरस्कारमा यस पटक पनि उत्तर अमेरिका महादेशको वर्चस्व रहेको छ । यस वर्ष आठ जना अमेरिकी नागरिकले यो पुरस्कार पाउनुहुने भएको छ । यसै गरी युरोप महादेशबाट दुई जना र एसिया महादेशबाट दुई जनाले यो पुरस्कार जित्नुभएको छ । त्यसै गरी दक्षिण अमेरिका महादेश र अस्ट्रेलिया महादेशबाट एक/एक जना यो पुरस्कारका लागि छानिनुभएको छ । अफ्रिका महादेशबाट यस पटक कसैलाई पनि यो पुरस्कारप्राप्त नहुने भएको छ । 

नोबेल पुरस्कार विश्वकै प्रतिष्ठित र सम्मानित अन्तर्राष्ट्रिय पुरस्कार हो । यो पुरस्कार पाउने व्यक्ति तथा संस्था विश्वमै सम्मानित हुन्छन् । स्विडेनका वैज्ञानिक अल्फ्रेड नोबेलले सन् १८९५ मा आफ्नो अथाह सम्पत्तिबाट अक्षय कोष खडा गरी नोबेल पुरस्कार स्थापना गर्नुभएको हो । त्यसपछि सन् १९०१ देखि विभिन्न विधामा उत्कृष्ट व्यक्ति तथा संस्थालाई नोबेल पुरस्कार दिन थालियो । सुरुमा चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य र शान्तिका लागि यो पुरस्कार दिने व्यवस्था गरिएको थियो । सन् १९६८ देखि अर्थशास्त्रमा समेत यो पुरस्कार दिन सुरु गरिएको हो । 

चिकित्साशास्त्र

यस वर्ष चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार दुई अमेरिकी र एक जापानी नागरिकले जित्नुभएको छ । शरीरको रोग प्रतिरोधात्मक प्रणालीले आफ्नै स्वस्थ कोषिकालाई आक्रमण किन गर्दैन (पेरिफेरल इम्युन टोलरेन्स) भन्नेबारे आविष्कारका लागि उहाँहरूलाई पुरस्कार दिने घोषणा गरिएको हो । नोबेल पुरस्कार समितिका अनुसार पुरस्कार जित्नेमा अमेरिकी नागरिकहरू ‘मेरी ई ब्रन्को’ र ‘फ्रेड राम्सडेल’ हुनुहुन्छ भने जापानी नागरिक डा. ‘शिमोन साकागुची’ हुनुहुन्छ । 

प्रतिरोधात्मक प्रणालीले आफ्नै स्वस्थ कोषिका आक्रमण गर्दा हुने समस्यालाई अटोइम्युन रोग भनिन्छ । उहाँहरूको अनुसन्धानले अटोइम्युन रोगहरूबारे प्रकाश पारेको छ । ६४ वर्षीया ‘ब्रन्को सिएटल’ को ‘इन्स्टिच्युट फर सिस्टम्स’ बायोलोजीमा वरिष्ठ कार्यव्रmम प्रबन्धक हुनुहुन्छ । त्यस्तै ६४ वर्षीय ‘राम्सडेल सान फ्रान्सिस्को’ मा रहेको सोनोमा बायोथेराप्युटिक्सका वैज्ञानिक सल्लाहकार हुनुहुन्छ । ७४ वर्षीय साकागुची जापानको ओसाका विश्वविद्यालयमा रहेको इम्युनोलोजी फ्रन्टियर रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक हुनुहुन्छ । “प्रतिरोधात्मक प्रणालीले कसरी काम गर्छ र किन हामी सबैलाई गम्भीर अटोइम्युन रोगहरू लाग्दैन भन्ने हाम्रो बुझाइका लागि उहाँहरूका आविष्कारहरू निर्णायक साबित भएका छन्,” नोबेल समितिका अध्यक्ष ओले काम्पेले भन्नुभयो । 

गत वर्षको चिकित्साशास्त्रको नोबेल पुरस्कार ‘माइक्रोआरएनए’ पत्ता लगाउने दुई अमेरिकी वैज्ञानिकलाई प्रदान गरिएको थियो । अमेरिकी वैज्ञानिकद्वय भिक्टर एम्ब्रोस र ग्यारी रुभ्कुनलाई संयुक्त रूपमा यो पुरस्कार दिइएको थियो । अहिलेसम्म ११६ जनाले चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार पाएका छन् ।

भौतिकशास्त्र

क्वान्टम मेकानिक्ससम्बन्धी अनुसन्धानका लागि तीन जना अमेरिकी वैज्ञानिकलाई यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार संयुक्त रूपमा प्रदान गरिने भएको छ । 

‘म्याक्रोस्कोपिक क्वान्टम मेकानिकल टनलिङ र विद्युतीय सर्किटमा ऊर्जा क्वान्टाइजेसन’ हुन्छ भन्ने तथ्य पत्ता लगाएकाले जोन क्लार्क, मिसेल एच डेभोरेट र जोन एम मार्टिनिसलाई उक्त पुरस्कार दिन लागिएको नोबेल समितिले जनाएको छ । अहिलेसम्म ११९ पटक गरी कुल २२९ जनालाई यो नोबेल पुरस्कार दिइएको छ । क्लार्क बक्र्लीस्थित युनिभर्सिटी अफ क्यालिफोर्निया, डेभोरेट येल युनिभर्सटी अनि सान्टा बार्बरास्थित युनिभर्सिटी अफ क्यालिफोर्निया र मार्टिनिस सान्टा बार्बरास्थित युनिभर्सिटी अफ क्यालिफोर्नियामा कार्यरत हुनुहुन्छ । क्लार्कको जन्म सन् १९४२ मा बेलायतको केम्ब्रिजमा, डेभोरेटको जन्म सन् १९५२ मा फ्रान्सको पेरिसमा र मार्टिनिसको जन्म सन् १९५८ मा अमेरिकाको क्यालिफोर्नियामा भएको थियो । उहाँहरूले सन् १९८४ र १९८५ मा सुपरकन्डक्टरबाट निर्मित विद्युतीय सर्किटमा शृङ्खलाबद्ध प्रयोग गर्नुभएको थियो । त्यसकै आधारमा उहाँहरूले नयाँ तथ्य पत्ता लगाउनुभएको हो । नोबेल समितिका अनुसार हामीले प्रयोग गर्ने क्वान्टम प्रविधिको एउटा उदाहरण कम्प्युटरका माइव्रmोचिपमा हुने ट्रान्जिस्टर हो । यो वर्ष भौतिकशास्त्रको नोबेल पुरस्कारले क्वान्टम क्रिप्टोग्र्याफी, क्वान्टम कम्प्युटर र क्वान्टम सेन्सरसहित अझ उन्नत क्वान्टम प्रविधि विकास गर्ने अवसर प्रदान गरेको छ । 

गत वर्ष भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी अनुसन्धानका लागि दुई वैज्ञानिकले संयुक्त रूपमा प्रदान गरिएको थियो । अमेरिकी वैज्ञानिक जोन जे हप्फिल्ड र ब्रिटिस क्यानडेली कम्युटर वैज्ञानिक जेफ्री ई हिन्टनलाई ‘आर्टिफिसियल न्युरल नेटवर्कमार्फत मेसिन लर्निङलाई सक्षम बनाउन आधारभूत खोज तथा आविष्कार गरेकोमा’ उक्त पुरस्कार दिइएको थियो । भौतिकशास्त्रतर्फ अहिलेसम्म २२६ जनाले नोबेल पुरस्कार पाएका छन् ।

रसायनशास्त्र

रसायनशास्त्रतर्फको नोबेल पुरस्कार यो वर्ष तीन देशका तीन वैज्ञानिकले जित्नुभएको छ । जापान, अस्ट्रेलिया र अमेरिकाका तीन वैज्ञानिकले संयुक्त रूपमा सो पुरस्कार जितेका हुन् । पुरस्कार छनोट समितिले ‘मेटल अग्र्यानिक फ्रेमवर्क’ (एमओएफ) विकास गरेकामा जापानका सुसुमु कितागावा, अस्ट्रेलियाका रिचर्ड रब्सन र अमेरिकाका ओमर यागीलाई नोबेल पुरस्कार दिन लागिएको हो । समितिका अनुसार उहाँहरूले ‘मलिक्युलर आर्किटेक्चर’ को नयाँ शैली विकास गर्नुभएको छ । धातुका आयन र प्राङ्गारिक अणु मिलेर बन्ने स्फटिक जस्तो र सूक्ष्म प्वाल भएको संरचना नै एफओएफ हो । पर्यावरण शुद्धीकरणसहित विभिन्न प्रयोजनमा यसको प्रयोग हुन सक्ने विज्ञ बताउँछन् ।

सुसुमुको जन्म सन् १९५१ मा जापानमा भएको हो । उहाँ क्योटो विश्वविद्यालयमा प्राध्यापक हुनुहुन्छ । रब्सनको जन्म सन् १९३७ मा बेलायतमा भएको हो । अहिले उहाँ मेलबर्न विश्वविद्यालयमा प्राध्यापन गर्नुहुन्छ । यागीको जन्म सन् १९६५ मा जोर्डनमा भएको हो । उहाँ बक्र्लीस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियामा प्राध्यापक हुनुहुन्छ । तिनै जनाले सन् १९९२ देखि २००३ मा भिन्नाभिन्नै एमओएफबारे खोज गर्नुभएको थियो । त्यसपछि रसायनशास्त्रीले हजारौँ एमओएफ निर्माण गरेका छन् । नोबेल पुरस्कार समितिका अनुसार तीमध्ये केही पदार्थ पानीबाट पिएफएएस भनिने कृत्रिम रासायनिक पदार्थ छुट्याउन, वातावरणमा सूक्ष्म मात्रामा चुहिएका औषधीय पदार्थलाई टुक््रयाउन, कार्बनडाइअक्साइड जम्मा गर्न वा मरुभूमिको हावाबाट पानी सङ्कलन गर्न प्रयोग गर्न सकिन्छ ।

गत वर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकले संयुक्त रूपमा प्रदान गरिएको थियो । वासिङ्टन विश्‍वविद्यालयका डेभिड बेकरलाई ‘कम्प्युटेसनल प्रोटिन डिजाइन’ का निम्ति र गुगल डिपमाइन्डका डेमिस हसाबिस तथा जोन एम जम्परलाई ‘प्रोटिनको स्ट्रक्चर प्रेडिक्सन’ का निम्ति पुरस्कार दिइएको थियो । रसायनशास्त्रतर्फ अहिलेसम्म ११७ पटक नोबेल पुरस्कार दिइएकोमा २०० जनाले यो पुरस्कार पाएका छन् । दुई जना वैज्ञानिक दुई–दुई पटक पुरस्कृत भएका छन् ।

साहित्य

यो वर्षको साहित्यतर्फको नोबेल पुरस्कार हङ्गेरीका लेखक लास्लो क्राज्नाहोर्काइलाई दिइने भएको छ । उहाँलाई ‘प्रभावशाली र दूरदर्शी रचनाहरू, जसले प्रलयकारी भयबिच पनि कलाको शक्ति पुनः पुष्टि गर्छन्, तिनका लागि’ पुरस्कृत गर्ने निर्णय गरिएको नोबेल पुरस्कार छनोट समितिले जनाएको छ । उहाँको जन्म सन् १९५४ मा दक्षिण–पूर्वी हङ्गेरीको एउटा सानो सहरमा भएको थियो । उक्त स्थान रुमेनियाको सीमानजिकै पर्छ । नोबेल पुरस्कार पाउने उहाँ हङ्गेरीका दोस्रो साहित्यकार हुनुहुन्छ । सन् २००२ मा इम्रे केर्टेस पनि सो पुरस्कारबाट सम्मानित हुनुभएको थियो । क्राज्नाहोर्काइका कैयौँ कृति हङ्गेरियन भाषामा प्रकाशित छन् । उहाँले विभिन्न चलचित्रका लागि कथा पनि लेख्नुभएको छ । उहाँका कृतिहरू अङ्ग्रेजी, फ्रेन्च, जर्मन र स्विडिस भाषामा पनि प्रकाशित भएका छन् । सन् १९०१ देखि अहिलेसम्म साहित्यतर्फ ११८ पटक पुरस्कार प्रदान गरिएको छ भने १२२ साहित्यकार पुरस्कृत भएका छन् । गत वर्ष साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाका साहित्यकार हान काङलाई प्रदान गरिएको थियो । 

शान्ति

यस वर्षको नोबेल शान्ति पुरस्कार भेनेजुएलाका विपक्षी नेता मारिआ कोरिना मचाडोले जित्नुभएको छ । पुरस्कार दिन लागिएको खबरले आफू छक्क परेको उहाँले प्रतिक्रिया व्यक्त गर्नुभएको छ । नर्वेली नोबेल पुरस्कार छनोट समितिले मचाडोलाई आँटिली र शान्तिप्रति प्रतिबद्ध अगुवा भन्दै उहाँले प्रजातन्त्रका पक्षमा निर्वाह गरेको भूमिकाका लागि पुरस्कृत गर्ने निर्णय गरेको हो । आगामी डिसेम्बर १० मा विजेतालाई पुरस्कार वितरण गरिने कार्यक्रम छ ।

मचाडो भेनेजुएलामा प्रजातान्त्रिक व्यवस्था स्थापना गर्ने अभियानमा सक्रिय हुनुहुन्छ । गत वर्ष उहाँलाई राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्न रोकिएको थियो । उहाँ अहिले भूमिगत हुनुहुन्छ । मचाडो नोबेल शान्ति पुरस्कार पाउने बिसौँ महिला हुनुहुन्छ । सन् १९०१ देखि अहिलेसम्म १०६ पटक यो पुरस्कार घोषणा भएको छ । अहिलेसम्म ११२ व्यक्ति र ३१ वटा संस्था पुरस्कृत भएका छन् ।   ५८ वर्षीया मचाडो गत वर्ष अगस्तदेखि सार्वजनिक स्थानमा उपस्थित हुनुभएको छैन । गत जनवरीमा आयोजित एउटा विरोध प्रदर्शनमा उहाँ देखा पर्नुभएको थियो । उहाँलाई पक्राउ गरेर केही समयपछि छाडिएको थियो ।

गत वर्ष मचाडोलाई उम्मेदवार बन्न रोकिएपोछि गन्जालिज राष्ट्रपतीय निर्वाचनमा निकोलस मदुरोविरुद्ध उठ्नुभएको थियो । भेनेजुएलामा निकोलस मदुरो तेस्रो पटक राष्ट्रपति बनेपछि उहाँविरुद्ध र देशमा प्रजातान्त्रिक व्यवस्था स्थापना गर्न भन्दै सुरु भएको आन्दोलनमा मचाडो अग्रमोर्चामा देखिनुभएको थियो । मचाडोलाई बधाई दिँदै गन्जालिजले भन्नुभयो, “भेनेजुएलाको पहिलो नोबेल ! भेनेजुएला स्वतन्त्र हुन्छ !”

गोन्जालेजले सो निर्वाचन आफूले जिते पनि मदुरोले धाँधली गरेर हराएको आरोप लगाउनुभएको छ । गोन्जालेजको निर्वाचनमा राम्रो प्रदर्शनको श्रेय मचाडोलाई नै दिइन्छ । नोबेल पुरस्कार छनोट समितिले माचाडोले ‘बढ्दो अन्धकारको विरुद्ध लोकतन्त्रको ज्योति बलिरहने’ काममा सहयोग गरेको उल्लेख गरेको छ । गत वर्ष जापानी संस्था निहन हिडन्क्योलाई विश्‍वलाई आणविक हतियारमुक्त बनाउन गरेको प्रयत्न र आफ्नो साक्षात् अनुभवका माध्यमबाट परमाणुअस्त्र पुनः कहिल्यै प्रयोग गर्नुहुँदैन भन्ने प्रदर्शन गरेकाले नोबेल शान्ति पुरस्कारबाट पुरस्कृत गरिएको थियो ।

अर्थशास्त्र

नवप्रवर्तन र नवीनताद्वारा प्रेरित आर्थिक वृद्धिको व्याख्या गर्ने असाधारण योगदानका लागि प्रख्यात अमेरिकाका अर्थशास्त्रीद्वय जोएल मोकिर, पिटर होविट र बेलायतका फिलिप अघियनलाई यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । मोकिर अमेरिकाको नर्थवेस्टर्न विश्वविद्यालयसँग सम्बद्ध हुनुहुन्छ । अघियन फ्रान्सको कलेज डे फ्रान्स र लन्डन स्कुल अफ इकोनोमिक्ससँग तथा हाविट अमेरिकाकै ब्राउन विश्वविद्यालयसँग आबद्ध हुनुहुन्छ ।

नोबेल समितिले भनेको छ, “मोकिरले आविष्कारहरू कसरी आत्मउत्पादन प्रक्रियामा एकअर्कालाई प्रोत्साहित गर्छन् भन्ने देखाउनुभयो । उहाँको शोधले के काम गर्छ भन्ने मात्रै होइन, किन गर्छ भन्ने वैज्ञानिक स्पष्टीकरणको आवश्यकता पनि औँल्याएको छ ।” त्यस्तै अघियन र हाविटले सन् १९९२ मा प्रकाशित एक प्रसिद्ध शोधपत्रमार्फत निरन्तर आर्थिक वृद्धिको संयन्त्र स्पष्ट गर्नुभयो । उहाँहरूले ‘रचनात्मक विनाश’ (क्रिएटिभ डिस्ट्रक्सन) को अवधारणामा आधारित गणितीय मोडेल विकास गर्नुभयो, जसमा नयाँ र उन्नत उत्पादन बजारमा प्रवेश गर्दा पुराना उत्पादनहरू र तिनीहरू बेच्ने कम्पनीहरू प्रतिस्थापित हुने प्रक्रिया समावेश छ । 

गत वर्ष यो पुरस्कार तीन अर्थशास्त्री डारोन एसेमोग्लु, साइमन जोनसन र जेम्स ए रोबिन्सनलाई प्रदान गरिएको थियो । अहिलेसम्म यो पुरस्कार ५६ पटकमा ९६ जना विज्ञलाई प्रदान भइसकेको छ । यसमा तीन जना मात्र महिला छन् ।

Author
रामप्रसाद आचार्य

उहाँ गोरखापत्र दैनिकको प्रबन्धसम्पादक हुनुहुन्छ ।