फुङलिङ, फागुन ४ गते । ताप्लेजुङको ओलाङचुङगोलमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । गत वर्ष पुसमै भएको हिमपात यस वर्ष फागुनमा मात्र भएको छ । स्थानीय तेन्जिङ शेर्पाका अनुसार यस वर्षको पहिलो पटक गए राति देखि हिमपात भएको हो ।
ओलाङचुङगोला बस्तीमा करिब ४ सेन्टिमिटर हिमपात भएको उहाँले बताउनुभयो । उहाँले यस वर्षको हिउँद याममा आफूहरूले जाडो नै महसुस नगरेको समेत बताउनुभयो । गत वर्ष अत्यधिक हिमपात भएको र यस वर्ष हिमपात नै नभएकाले जाडोको अनुभूति नभएको उहाँको भनाइ थियो ३ हजार २ सय मिटरको उचाइमा रहेको यस बस्तीमा पहिलो पटक हिमपात हुँदा भ्रमण लागि पुगेका पर्यटक हर्षित भएका छन् । शेर्पाका अनुसार हिजो साँझ १० जना पर्यटक चीनको सीमावर्ती क्षेत्र टिपताला भञ्ज्याङसम्म भ्रमणका लागि पुगेका छन् । बस्ती क्षेत्रमा कम मात्रामा हिमपात भए पनि सीमावर्ती क्षेत्रमा अत्यधिक हिमपात भएको हुनाले गाडीमा यात्रा गर्न जोखिम हुने स्थानीयको भनाई छ ।
यस्तै सबैभन्दा बढी पर्यटक तथा तीर्थयात्री आउने क्षेत्र पाथीभरा मन्दिरमा समेत हिमपात भएको छ । तीन हजार सात सय ९४ मिटरको उचाइमा रहेको पाथीभरा देवी मन्दिरदेखि करिब ४ किलोमिटर तल रहेको माथिल्लो फेदीसम्म हिमपात भएको स्थानीय राजेन्द्र महतले जानकारी दिनुभयो । जिल्लाका अन्य विभिन्न उच्च स्थानमा गएरातिदेखि नै हिमपात जारी रहेको छ ।