राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पबाट पीडितहरूको उद्धार, राहत र घाइतेको शीघ्र उपचारको व्यवस्थापन कार्यलाई तीव्रता दिन प्रधानमन्त्री तथा गृहमन्त्रीलाई आग्रह गर्नुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले भूकम्पपीडितको उद्धार र उपचारमा कुनै पनि कसर बाँकी नराखेर काम गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।
सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा नेपाल टेलिकमका फोन र एसएमएस निःशुल्क गर्ने व्यवस्था गरेको छ ।
भूकम्पमा परी घाइते भएका यहाँका ३० जना उपचारपछि घर पठाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक नमराज भट्टराईले जिल्ला अस्पताल सल्ले र नगर अस्पताल आठबिसकोटबाट ३० जना उपचारपछि घर पठाइएको जानकारी दिनुभयो ।
भूकम्प प्रभावित क्षेत्रमा तत्काल सहजरुपमा बिजुली उपलब्ध गराउनका लागि आवश्यक जनशक्तिसहितको स्रोत साधन परिचालन गर्न ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।
गत बुधबारदेखि बाँकेको कोहलपुरमा सञ्चालन आएको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप २०८०’ को आज शनिबार हुने खेलमा टिकट विक्रीबाट आउने रकमको २५ प्रतिशत रकम जाजरकोटका भूकम्प पीडितलाई प्रदान गरिनेभएको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल एक करोड सहयोग उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल कर्णाली प्रदेश सरकारको कोषमा सहयोग गर्ने निर्णय गरेको हो ।
गण्डकी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली पठाएको छ । भूकम्प प्रभावितहरूको उद्धार र उपचारमा सहयोग गर्ने उद्देश्यले डाक्टर विकास गौचनको नेतृत्वमा विशेषज्ञ चिकित्सकसहितको टोली त्यसतर्फ गएको हो ।
जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले आज भूकम्प प्रभावितको तत्काल खोज, उद्धार, उपचार र राहतका लागि विभिन्न विषयमा निर्णय लिएको छ । जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिलाई ध्यानमा राख्दै जिल्लाबाट आवश्यक प्रतिकार्यका लागि सबै संयन्त्रलाई क्रियाशील बनाउने निर्णय समितिले गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जाजरकोटबाट रुकुम पश्चिम पुग्नुभएको छ । प्रधामन्त्री प्रचण्ड शुक्रबार राति भएको शक्तिशाली भूकम्पबाट प्रभावित बनेको रुकुम पश्चिम पुग्नुभएको हो ।
शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएकाहरूको प्रारम्भिक उपचारका लागि बाँकेका स्थानीय तहले औषधिसहित स्वास्थ्यकर्मीको टोली पठाएका छन् ।
शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी घाइते भएका एक जनाको भेरी अस्पतालमा मृत्यु भएको छ ।
नेकपा (एमाले) ले आज दसैँ, तिहार, छठ र नेपाल संवतमा राखेका शुभकामना कार्यक्रम स्थगित गरेको छ । एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले विभिन्न जिल्लामा पार्टीले आज राखेका शुभकामना आदानप्रदान तथा चियापानका सबै कार्यक्रम स्थगित गर्न निर्देशन दिइएको जानकारी दिनुभयो ।
नेपाल विद्युत प्राधिकरणले जाजरकोट र रुकुमपश्चिममा भूकम्पले घर भत्काएको ठाउँमाबाहेक अन्य स्थानमा विद्युत् सुचारु गरेको छ ।
जाजरकोटमा केन्द्र बनाएर आएको भूकम्पले जुम्लामा पाँच जना घाइते भएका छन् । स्थानीय प्रशासनको प्रारम्भिक जानकारी अनुसार जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प जाँदा जुम्लाको तातोपानी गाउँपालिका–३ बाहुनवाडा निवासी २६ कि सिर्जना गौतम र उहाँको ११ महिनाको छोरा आयुष गौतम सामान्य घाइते हुनुभएको छ ।