• ८ जेठ २०८१, मङ्गलबार

भूकम्प प्रभावित क्षेत्रमा तत्काल बिजुली उपलब्ध गराउन मन्त्री बस्नेतको निर्देशन

blog

फाइल तस्बिर

काठमाडौँ, कात्तिक १८ गते । भूकम्प प्रभावित क्षेत्रमा तत्काल सहजरुपमा बिजुली उपलब्ध गराउनका लागि आवश्यक जनशक्तिसहितको स्रोत साधन परिचालन गर्न ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ । 

गएराति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्पले रुकुम पश्चिम र जाजरकोटको विद्युत आपूर्तिमा अवरोध पैदा भएको थियो । सूचना तथा सञ्चारका लागि बिजुली अत्यावश्यक भएकाले तत्काल साधन र स्रोत परिचालन गर्न प्राधिकरणलाई मन्त्री बस्नेतले निर्देशन दिनुभएको हो । 

भूकम्पका कारण प्राधिकरणको संरचनामा के कति क्षति भयो भन्नेबारेमा समेत आवश्यक विवरण सङ्कलन तथा सहज बिजुली आपूर्तिका लागि मन्त्री बस्नेतले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई निर्देशन दिनुभएको हो । मन्त्री बस्नेत प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत हुनुहुन्छ । 

रुकुम पश्चिम वितरण केन्द्रका प्रमुख शिव साहले स्थानीय राडीबजार अस्पतालमा बिजुली उपलब्ध भइसकेको जानकारी दिनुभयो । भूकम्पका कारण खम्बा ढलेर अवरुद्ध भएका प्रसारण तथा वितरण लाइन मर्मतसम्भारमा सम्पूर्ण जनशक्ति परिचालित भएको उहाँको भनाइ छ । आज साँझसम्म भूकम्प प्रभावित सबै स्थानमा बिजुली उपलब्ध गराउने र नजिकका कार्यालयबाट समेत जनशक्ति परिचालित गरिएको साहले जानकारी दिनुभयो । 

भूकम्पबाट क्षतिग्रस्त भएका घर तथा अन्य संरचनाको लाइन काटेर अवस्थाको मूल्याङ्कन गरेर जोडनका लागि विभिन्न समूह नै बनाएर टोली परिचालन गरिएको छ । भूकम्पबाट क्षतिग्रस्त संरचनाको यथार्थ विवरण नलिई लाइन जोड्दा थप दुर्घटना हुने भएकाले त्यसलाई विशेष ख्याल गरिएको कार्यालयको भनाइ छ ।

प्राधिकरण जाजरकोटका प्रमुख अभिषेकप्रसाद कलवारका अनुसार रुकुम पश्चिम र जाजरकोट जोड्ने रिम्नाको पुलमा ११ केभी क्षमताको प्रसारण लाइन र खम्बामा क्षति पुगेको छ । सो स्थानमा प्राविधिकसहितको कर्मचारी, खम्बा र तारसहित जनशक्ति परिचालन गरिएको छ । बिजुलीको अभावमा टेलिफोनको टावरसमेत नचल्ने तथा स्वास्थ्योपचारमा समेत समस्या हुने भएकाले आवश्यक व्यवस्थाका लागि प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालयलेसमेत आवश्यक सहजीकरण गरिरहेको छ । 

प्राधिकरण कर्णाली प्रादेशिक कार्यालय सुर्खेतका प्रमुख शम्भु कुसियत यादवले सुरुमा अस्पतालमा विद्युत आपूर्ति गरिएको बताउनुभयो । यादवले घर भत्किएको ठाउँमा उद्धार जारी रहेको र यस्तो अवस्थामा विद्युत् लाइन दिँदा थप दुर्घटना हुने भएकाले त्यहाँ आपूर्ति बन्द गरिएको उल्लेख गर्नुभयो । उहाँले धेरै घर भत्किएका क्षेत्रमा मात्र लाइन काटिएको र अन्य स्थानमा विद्युत् नियमितरुपमा आपूर्ति भइरहेको बताउनुभयो । रासस