काठमाडौँ, जेठ ६ गते । चलचित्र मालती मङ्गले मूलतः श्रीमान् र श्रीमतीबिच उत्पन्न हुने अविश्वास, संवादहीनता र त्यसले निम्त्याउने मानसिक सङ्कटलाई केन्द्रमा राखेर निर्माण गरिएको सामाजिक–मनोवैज्ञानिक चलचित्र हो । सामान्य पारिवारिक कथाभित्र शङ्काको एउटा सानो बिउले कुन तहसम्मको विनाशकारी रूप लिन सक्छ र त्यसले वैवाहिक सम्बन्धको जग नै कसरी हल्लाइदिन्छ भन्ने कुरालाई चलचित्रले सूक्ष्म रूपमा बुन्ने प्रयास गरेको छ ।
चलचित्रको कथाका दुई मुख्य पात्र मङ्गलप्रसाद अधिकारी (विजय बराल) र कमला थापा (वर्षा राउत) को वरिपरि घुम्छ । मङ्गलको जीवनमा सुखदुःखको सारथि, सल्लाहकार र आत्मीय मित्र हरिप्रसाद अधिकारी (मेक्सम गौडेल) देखिनुभएको छ । मङ्गल आफ्ना हरेक भावना, समस्या र सङ्कोच खुलेर हरिप्रसादसँग मात्र साट्नुहुन्छ, जसले उहाँहरूको बलियो साथीत्वको सम्बन्धलाई प्रस्ट्याउँछ । कथाको पृष्ठभूमि ग्रामीण परिवेशको छ, जहाँ श्यामश्वेत दूरदर्शनमा दुई/तीन रुपियाँ उठाएर गाउँलेलाई चलचित्र देखाउने चलन हुन्थ्यो । हलमा महिला र पुरुषलाई छुट्टाछुट्टै राखेर चलचित्र देखाउने त्यही परम्परागत र सरल वातावरणभित्रै मङ्गले र कमलाको प्रेमको अङ्कुरण हुन्छ ।
कमला बलिउड अभिनेता शाहरुख खानको निकै ठुली प्रशंसक हुन्छिन् । कमलाको सुत्ने कोठाका भित्ता शाहरुखकै तस्बिरले भरिएका छन् । यो कुरा बुझेर हरिले मङ्गलेलाई शाहरुखकै शैलीमा संवाद घोकाएर कमलालाई आकर्षित गर्न मद्दत गर्छन् । मङ्गलेले पनि कमलाको प्रेम पाउन शाहरुख बन्ने असफल तर प्रेमिल कोसिस गर्छन् । पारिवारिक असहमतिबिच अचानक घरमा विवाहको कुरा चलेपछि कमला मङ्गलेसँग भाग्छिन् । सुरक्षा र नयाँ पहिचानका लागि आपसी सल्लाहमा कमलाको नाम परिवर्तन गरी मालती राखिन्छ र उनीहरूको नयाँ जीवन सुरु हुन्छ ।
विवाहपछिको जीवनमा मालती निकै जिम्मेवार र मेहनती देखिएकी छन् तर मङ्गले भने गैरजिम्मेवार बन्दै चोकचौतारामा बस्ने, तास खेल्ने र रक्सी पिउने लतमा फस्छन् । पहिलो सन्तान हुर्काउँदाको आर्थिक र व्यावहारिक झन्झटका कारण आपसी सहमतिमा सो जोडी दोस्रो सन्तान नजन्माउने निर्णयमा पुग्छ तर कथाले त्यतिबेला एउटा गम्भीर मोड लिन्छ, जब मालतीको गर्भमा दोस्रो बच्चा रहन जान्छ । यही गर्भधारणसँगै मङ्गलेको मनमा अविश्वास र शङ्काको बिउ रोपिन्छ । आफैँले गरेको निर्णयविपरीत कसरी गर्भ रह्यो भन्ने प्रश्नले मङ्गलेलाई मानसिक रूपमा विक्षिप्त बनाउँछ । त्यही भ्रूणको वृद्धिसँगै श्रीमान् र श्रीमतीको सम्बन्धमा शङ्काको पहाड ठडिन्छ । चलचित्रको बाँकी भाग यही शङ्काले निम्त्याउने उतारचढाव, भावनात्मक दुरी र सम्बन्धको उत्कर्षमा केन्द्रित छ ।
मालती मङ्गलेको बलियो पक्ष मुख्य कलाकारको जीवन्त अभिनय र गहकिला संवाद हुन् । चलचित्रको केन्द्रविन्दु नै वर्षा राउतको अभिनय हो । एउटी प्रेमिका, जिम्मेवार श्रीमती र शङ्काको घेरामा परेर आत्मसम्मानमा ठेस पुगेकी आमाको भूमिकामा उहाँले उत्कृष्ट अभिनय गर्नुभएको छ । मङ्गलेका रूपमा विजय बरालको अभिनय पनि बलियो छ । एउटा सोझो तर कुलतमा फसेको र शङ्काले ग्रस्त पतिको भूमिकालाई उहाँले न्याय गर्नुभएको छ । भाइको भूमिकामा मेक्सम गौडेलले सहज र स्वाभाविक अभिनय गरेर कथालाई गति दिनुभएको छ । अन्य कलाकार सुचित्रा उप्रेती, सुषमा निरौला, सुवर्ण थापालगायतको अभिनयलाई पनि हामीले बिर्सन हुन्न ।
सकारात्मक पक्ष हुँदाहुँदै पनि चलचित्र केही ठाउँमा चुकेको छ । यसको सबैभन्दा ठुलो कमजोरी भनेकै कथाको अत्यन्तै सुस्त गति हो । कतिपय अवस्थामा कथा पर्दामा घिस्रिएको वा बामे सरेको जस्तो महसुस हुन्छ । निर्देशक प्रकु पाण्डेमा मङ्गलेको लोकप्रियताले मात्रै चलचित्र बिकाउन सक्छ भन्ने भ्रम देखिन्छ । चरित्रको सन्तुलन मिलाउन उहाँ धेरै ठाउँमा चुक्नुभएको छ । मालती मङ्गलेले मनोरञ्जन मात्र दिँदैन, वैवाहिक जीवनमा आपसी विश्वास र विचार आदानप्रदानको कति ठुलो महìव हुन्छ भन्ने कुरालाई दर्साउँछ । गति अलि सुस्त भए पनि कलाकारको सशक्त अभिनय र संवेगात्मक कथाका कारण चलचित्र एक पटक हेर्नलायक बनेको छ ।