आजदेखि राजधानीका विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गरिने भएको छ । काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीच आइतबार भएको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेको हो । सोमबारदेखि राजधानीको न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने सहमति भएको प्राधिकरणका उपनिर्देशक अच्युतानन्द मिश्रले जानकारी दिनुभयो ।
नेपाल प्रहरीले कम्बोडिया पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने गोरखा नगरपालिका–१० घर भई काठमाडौँको नयाँबसपार्क बस्ने ३१ वर्षीय सुदीप लामा तामाङलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
गोरखापत्र संस्थानले संस्थानका नेपाली प्रकाशनहरूमा लागु हुने गरी गोरखापत्र प्रकाशन शैली प्रयोगमा ल्याएको छ । संस्थानका प्रकाशनहरूका समाचार सामग्री भाषिक तथा अन्य विविध पक्षमा एकरूपता कायम गर्दै अझ स्तरीय बनाउन गोरखापत्रका यसअघिका शैली पुस्तिका, नेपाल प्रज्ञा–प्रतिष्ठानको पछिल्लो शब्दकोश तथा अन्य समाचार संस्थाका शैली पुस्तिकाहरूलाई आधार बनाएर गोरखापत्र प्रकाशन शैली प्रकाशनमा आएको हो । गोरखापत्र दैनिकको १२३ औँ तथा गोरखापत्र संस्थानको ६१ औँ वर्ष प्रवेशका अवसरमा आइतबार आयोजित विशेष समारोहमा प्रकाशन शैलीको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विमोचन गर्नुभयो ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँबाट थप सात दिनको अनुमति दिएको छ ।
काठमाडौं, वैशाख २४ गते । वि.सं. १९५८ वैशाख २४ मा गोरखापत्र प्रकाशनको प्रारम्भ नेपालमा पत्रकारिताको शिलान्यास मात्र थिएन, सञ्चारको विकासमा पनि एउटा फड्को थियो। नागरिकलाई निरन्तर सूचना र शिक्षा प्रदान गर्दै आएको गोरखापत्रले आइतबार १२३ वर्ष लामो अविचलित यात्रा तय गरेको छ ।यो गौरवपूर्ण यात्रामा गोरखापत्र जहानियाँ राणा शासन, राजा, प्रजातन्त्र, पञ्चायतदेखि संघीय लोकतान्त्रिक गणतन्त्रको साक्षी बनेको छ । सरकारले गोरखापत्र प्रकाशन भएको मितिलाई नै राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णयसमेत गरेको छ । दिवसको अवसरमा आइतबार विभिन्न कार्यक्रमसमेत गरिएको छ । गोरखापत्र संस्थानले काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम गरेको छ । १२३ औं वार्षिकोत्सवको अवसरमा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिले दिनुभएको शुभकामना सन्देशलाई भिडियो मार्फत प्रस्तुत गरिएको छ ।
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शितगंगा नगरपालिका वाड ४ रातामाटामा बारी जोत्ने क्रममा ट्याक्टर पल्टदा सोही स्थानका चालक मानबहादुर नेपाली (राजु) को मृत्यु भएको हो ।
सर्लाहीको बरहथवा र धनकौलमा आइतबार दिउँसो भएको आगलागीबाट तीन घर र एउटा गोठ जलेर नष्ट भएको छ । आगलागीबाट बरहथवा नगरपालिका –११, हीरापुरमा धर्मेन्द्र पासवान र होरिल हजारीको फूसले छाएका दुईवटा घर पूर्णरुपमा जलेको वडाध्यक्ष नवराज राईले जानकारी दिनुभयो ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणको छानवीनमा सरकारको निष्पक्षतामाथि प्रश्न उठाउनुभएको छ । आइतबार संघीय संसद भवनमा आयोजित पार्टी संसदीय दलको बैठकमा उहाँले सो प्रश्न गर्नुभएको हो ।
सङघीय संसद्को बर्खे अधिवेशन आजदेखि सुरु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्को अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ भएको हो ।
उच्च अदालत पाटनले काठमाडौं उपत्यकाको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा) ढल नभइ खोला नै भएको फैसला गरेको छ ।
नेपाली कांग्रेसका नेता उमेशजङ्ग रायमाझीले एउटै मान्छे पटकपटक मन्त्री हुन खोज्ने प्रवृत्ति नक्कली भूटानी शरणार्थी प्रकरणले स्पष्ट गरेको बताउनुभएको छ ।
प्रतिनिधिसभामा ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ पेश भएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजनीतिक व्यवस्था परिवर्तन र लोकतन्त्रको रक्षामा नेपाली पत्रकारिताले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।
अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा शुक्रबार रातिदेखि आएको भारी वर्षा र बाढीका कारण चार जनाको मृत्यु भएको छ भने अन्य १२५ जना घाइते भएका छन् ।
नेकपा (एमाले) संसदीय दलको बैठकमा पार्टीको नेतृत्वलाई नक्कली भुटानी शरणार्थीलगायत विषयमा सांसदहरूले चासो देखाएका छन् ।