दिपकप्रसाद गौतम
वीरगञ्ज, मङ्सिर ६ गते। वनबाट मानववस्ती पसेका जङ्गली हात्तीले पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ को पथलवाघाट टोलका पाँच वटा फुसको घर भत्काएको छ।
ईलाका प्रहरी कार्यालय पथरैयाका प्रहरी निरीक्षक राजाराम केशरीका अनुसार राष्ट्रिय वनबाट गएराति २ बजेतीर मानव वस्तीमा प्रवेश गरेका जङ्गली हात्तीले पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ को पथलवाघाट टोलका ५ जनाको फुसको घर भत्काएको हो।
स्थानीय मेघनाथ राम, राजदेव राम, दसै राम, आसा माझी, गणेश मुसहर र विश्वनाथ मुसहरको घर भत्काएको हो। घर भत्काएर हात्तीले स्थानीयको घरमा रहेको धान, चामल र खाद्यान्न खाएर नष्ट गरिदिएको उहाँले जानकारी दिनुभयो।
जङ्गली हात्ती गाँउमा प्रवेश गरेर धमाधम घर भत्काउन लागेपछि स्थानीयले आगो बालेर पटका पड्काएर हात्ती धपाएको स्थानीय वीरबहादुर रामले बताउनुभयो। हात्ती वस्ती प्रवेश गरेर घर भत्काउदै छ भनी वन कर्मचारी र स्थानीय प्रहरीलाई खबर गर्दा पनि समयमा नआएको स्थानीयले गुनासो समेत गरेका छन्।