• ६ जेठ २०८१, आइतबार

गठबन्धन राजनीति खराब र विकृतिपूर्ण : महामन्त्री थापा

blog

कांग्रेस महामन्त्री गगनकुमार थापाले नवलपुरको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, मङसिर ६ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उहाँले गठबन्धनको राजनीति खराब र विकृतिपूर्ण भएको बताउनुभएको छ । पछिल्लो समय विभिन्न राजनीति दललाई सडकको राजनीति प्यारो लाग्ने गरेको महामन्त्री थापाले टिप्पणी गर्नुभयो । 

यस्तै, उहाँले २०८४ सालको चुनावमा नेपाली काँग्रेसले कुनै पनि दलसँग गठबन्धन नगर्ने बताउनुभयो । उहाँले बुधबार नेपाली कांग्रेस सङ्घीय क्षेत्र २ नवलपुरको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै सो विचार व्यक्त गर्नुभएको हो । महामन्त्री थापाले नेपाललाई अहिले विवेक, चेतना र शक्ति सम्हाल्ने राजनीति चाहिएको बताउनुभयो । 

उहाँले आवेगको राजनीति सजिलो र विवेकको राजनीति गर्न गाह्रो हुने बताउनुभएको छ । सडक, आवेग र विवेकहीन राजनीति र गठबन्धनले गर्दा नेपालमा समृद्धिभन्दा विकृति आएको बताउनुभयो ।  

गठबन्धनको राजनीतिले विचार होइन, केवल सरकार हो र सरकार टिक्ने कुराजस्ता कुराहरूलाई बढवा दिएको बताउनुभयो । कांग्रेस जित हारसँग नभई जनताका समस्यासँग जुध्न तत्पर रहेकाले जस्तो परिणाम आए पनि गठबन्धन नगर्ने निर्णय कांग्रेस पार्टीले लिएको बताउनुभयो ।  

कांग्रेस महामन्त्री थापाले पछिल्लो समय जनतामा देखिएको असन्तुष्टि समाधान गर्नेतर्फ सरकार र दलहरू लाग्नुपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “जनतामा अहिले असन्तुष्टि बढ्दैगएको छ । यसका कारण आक्रोशित नागरिकको असन्तुष्टि प्रयोग गरेर आफ्नो बदनियत राखेको छ । नागरिक असन्तुष्टि कम भए पनि बदनियत राख्नेको स्वर र सङ्ख्या आफैँ घट्दै जान्छ ।” 

गणतन्त्रमा आम नागरिकले यो व्यवस्था ठीक छैन भनेर आफ्नो विचार राख्न पाउने बताउँदै उहाँले प्रचलित कानुनको सीमाभित्र रहेर आफ्नो अधिकारको प्रयोग गर्न पाउने बताउनुभयो । उहाँले भन्नुभयो, “कसैलाई व्यवस्था मन पर्दैन भने मलाई यो बेवास्ता मन पर्दैन भन्न पाउनुपर्छ । तर प्रचलित कानुनको सीमाभित्र बसेर सबैले आफ्नो अधिकारको प्रयोग गर्ने हो ।” 

अहिले देशमा देखिएको आर्थिक समस्या हल गर्न लाग्यो भने व्यवस्थाविरुद्ध उठेका कुराहरू आफैँ निस्तेज भएर जाने उहाँको भनाइ छ । देशमा देखिएको आर्थिक समस्याका कारण अहिले व्यापार व्यवसाय धराशायी बन्दैगएको अवस्थामा सरकारले सचेत हुन आवश्यक रहेको बताउनुभयो । सानादेखि ठुला व्यापारिक केन्द्र किन बन्द हुँदैछन् । यसलाई चलायमान गराउन सरकारले कस्तो भूमिका निर्वाह गर्नुपर्छ, त्यतातिर ध्यान दिन सबैलाई आग्रह गर्नुभयो ।