काठमाडौं, मङ्सिर ६ गते। सरकारले एक सयदेखि ३ सय बेडसम्म बेड भएका सरकारी अस्पतालमा नर्सिङ र पारामेडिक्स पढाउने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्रालयले सो निर्णय गरेको जानकारी दिनुभएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सम्बन्धित निकायसँग पटकपटक छलफल गरेपछि आफूले सो नीतिगत निर्णय लिएको उहाँको भनाइ थियो। मन्त्री बस्नेतले नेपालमा पढ्न नसक्ने र बाहिर पनि जान नसक्ने डिप्रेसनमा जानेक्रम बढेपछि आफूले चिकित्सा शिक्षा अध्ययनका लागि क्रान्तिकारी रूपान्तरण नै हुनेगरी सो निर्णय लिएको पनि पटकपटक दोहोर्याउनुभयो।
उहाँले सो निर्णय कार्यान्वयनका लागि सम्बन्धित अस्पतालसँग सुझाव लिने काम सुरु गरिएको बताउनुभयो। मन्त्री बस्नेतले ३ सय भन्दा बढी बेड भएका सरकारी अस्पतालमा भने एमबिबिएसको पनि पठनपाठन हुनेगरी सम्बन्धित निकायसँग छलफल गरिएको पनि बताउनुभयो।
मन्त्री बस्नेतले आफूले स्वास्थ्य क्षेत्रमा पर्याप्त सुधारको काम गरेको र त्यसका लागि बजेटको अभाव हुन नदिने दाबीसमेत गर्नुभयो।