नेपालगन्जका विभिन्न पाँच स्थानमा ‘ट्राफिक लाइट’ जडान गरिएका छन् । गणेशमान चोकमा जडान गरिएको ट्राफिक लाइटको परीक्षण सफल भएको निर्माण कम्पनीले जनाएको छ ।
सोनाम ल्होसारको अवसरमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा गरेको छ । बौद्धधर्मालम्वीहरुको बाहुल्यता रहेको इन्द्रसरोवार गाउँपालिकामा आज शुक्रवारदेखि तीन सार्वजनिक बिदा दिने गाउँपालिकाको कार्यालयले निर्णय गरेको हो ।
न्याय सेवा आयोगले ४३ जना जिल्ला न्यायाधीशका लागि आवेदन खुल्ला गरेको छ । आयोगको परीक्षा महाशाखाले शुक्रवार सूचना जारी गर्दै जिल्ला न्यायाधीशको आन्तरिक खुला, खुल्ला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको लागि विज्ञापन गरेको हो ।
जाजरकोटको बारेकोट गाउँपालिकाका पाँच वटा ग्रामीण सडक एकै पटक स्तरोन्नति गर्न थालिएको छ । करिब तीन वर्षअघि गाउँपालिकाले ट्र्याक खोलेका ती पाँच वटा सडकको स्तरोन्नति गर्न थालिएको हो । जस अनुसार ती सडकमा कुलो मर्मत, तटबन्धन, घेराबारको काम सुरु भएको छ ।
प्रदेश लोकसेवा आयोगले लिखित परीक्षा तत्कालका लागि स्थगित गरेको छ । शुक्रवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दै आयोगले प्रदेश लोकसेवा आयोग मधेस प्रदेश, जनकपुरधाम परीक्षा शाखाले लिखित परीक्षा स्थगन गरिएको जनाएको हो ।
कर्णाली प्रदेश सरकारले शिक्षा विकास निर्देशनालय खारेज गरेपछि निर्देशनालय अन्तर्गतका योजना कार्यान्वयनमा अन्योल उत्पन्न भएको छ । सरकारले निर्देशनालय खारेज गर्दै कर्णाली प्रदेश निजामती सेवा नियमावलीबाटै हटाएको छ । उक्त नियमावली प्रदेश राजपत्रमा प्रकाशित भइसकेको छ ।
नेपाल प्रहरीले तीन सय ६५ जना प्रहरी सहायक निरीक्षक पदका लागि भर्ना खोलेको छ । शुक्रवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दे नेपाल प्रहरीले धेरै सङ्ख्यामा भर्नाका लागि आवेदन माग गरेको हो ।
बाजुरा सदरमुकाम मार्तडीदेखि कोल्टीसम्म चल्ने बस सेवा विवादका कारण रोकिएको छ । स्थानीय तह र स्थानीय प्रशासनले कोल्टीसम्म बस सेवा सञ्चालन गर्ने तयारी गरे पनि बस व्यवसायीले सडकको अवस्था देखाउँदै रोकेका हुन । गत माघ १३ गते प्रमुख जिल्ला अधिकारी, स्थानीय तह र बस व्यवसायीबिचको सहमतिमा जयमालिका यातायातको ना. ५ ख २०४१ नम्बरको बस मार्तडीबाट कोल्टीसम्म पु¥याइएको थियो ।
कैलालीको कैलारी गाउँपालिकामा १५ शय्याको अस्पताल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । हरेक स्थानीय तहमा अस्पताल हुनुपर्ने सङ्घीय सरकारको नीति अनुसार सो अस्पताल निर्माण गरिएको हो । यस पालिकाको वडा नम्बर ५ बैजपुरमा १५ शय्याको अस्पताल निर्माण गर्न लागिएको हो । दुई वर्षमा काम सम्पन्न गर्ने गरी निर्माण सुरु भएको थियो । हाल फिनिसिङको कार्य भइरहेको गाउँपालिकाका इन्जिनियर भरत चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पताल निर्माणको भौतिक प्रगति ८० प्रतिशत पुगेको छ ।
नेपाल प्रहरीले एक हजार नौ सय ५० जनाको भर्ना खोलेको छ । शुक्रवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दे नेपाल प्रहरीले १८५६ जना प्रहरी जवान, भान्छे ५३, हजाम ७, कुचीकार २० र खेलाडी १४ जनाका लागि पनि भर्ना आव्हान गरेको हो ।
परम्परागतरुपमा गरिँदै आएको गहुँ तथा तोरीखेतीबाट राम्रो आम्दानी नभएपछि म्याग्दीको बेनी नगरपालिका–२ अम्बोटका महिलाले सामूहिक आलुखेती गरेका छन् । अम्बोट आमा समूहमा आबद्ध ३० महिलाले ३० रोपनी जग्गामा सामूहिक आलुखेती गरेका हुन् ।
जिल्ला अस्पताल मुस्ताङमा गत भदौयता सामान्य खालको शल्यक्रियासमेत नहुँदा सर्वसाधारणलाई सास्ती भएको छ । जिल्ला अस्पतालले दक्ष चिकित्सकको समेत अभाव झेल्न बाध्य भएको छ । पर्यटकलाई हाई अल्टिच्युड (लेक लाग्ने) तथा सामान्य दुर्घटना भएमा पनि शल्यक्रियाका लागि चार जिल्ला पार गरेर पोखरा पुग्नुपर्ने बाध्यता मुस्ताङका सर्वसाधारणको छ । सङ्घीयता कार्यान्वयनसँगै मुस्ताङ अस्पताललाई २०७७ सालमा १५ शय्याबाट २५ शय्यामा स्तरोन्नति गरिएको छ । जिल्लामा रहेको संरचनामै प्रयोग गर्न मिल्ने गरी ल्याब, युएसजीलगायतका संरचना निर्माण गरेको भए पनि त्यसलाई प्रयोग गर्ने जनशक्ति नहुँदा उपलब्ध भएका सामग्री पनि जीर्ण बन्दै गएको जोमसोमका व्यवसायी अमृत सुवेदीको भनाइ छ ।
लुम्बिनी प्रदेश सरकारले सशस्त्र द्वन्द्वका क्रममा घाइते र अपाङ्गता भएका व्यक्तिको निःशुल्क उपचार सुरु गरेको छ । लुम्बिनी प्रादेशिक अस्पतालसँग सम्झौता गरेर उपचारको काम अघि बढाएको लुम्बिनी प्रदेश गृह मन्त्रालयले जनाएको छ । लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका घाइते तथा अपाङ्गता भएकाको निःशुल्क उपचारका लागि प्रदेश गृह मन्त्रालयले सम्झौताका लागि लुम्बिनी प्रादेशिक अस्पताल, भेरी अस्पताल र राप्ती प्रादेशिक अस्पताललाई पत्र पठाएर बोलाएको थियो । गृह मन्त्रालयका शाखा अधिकृत मेघराज सोनीले लुम्बिनी प्रादेशिक अस्पताल मात्र आएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “लुम्बिनी प्रादेशिक अस्पतालसँग सम्झौता भएर काम अगाडि बढेको छ । उपचारका लागि आउन सूचनासमेत प्रकाशन गरिसकेका छौँ ।”
बझाङमा सबैभन्दा अग्लो झरना भनेर चम्ला अर्थात् गोरखाली झरना चिनिन्छ । पूर्वाधारको समस्याले गुमनाम रहेको सो झरनासम्म पुग्न सडकको पहुँच पुगेसँगै अवलोकन गर्नेको भीड लाग्न थालेको छ । खप्तडछान्ना गाउँपालिका–७ मा अवस्थित झरना हेर्न हरेक दिन आन्तरिक पर्यटक आउन थालेका छन् ।
हेटौँडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन अन्तर्गत सर्लाही र महोत्तरी खण्डमा धमाधम काम हुन थालेको छ । विशेष गरी यी दुई जिल्लाको जङ्गल क्षेत्रमा तार विस्तारको कामले गति लिएको हो ।