• १२ मंसिर २०८१, बुधबार

पाँच सडकको एकै पटक स्तरोन्नति

blog

खलङ्गा समाचारदाता 

जाजरकोट, माघ २६ गते । जाजरकोटको बारेकोट गाउँपालिकाका पाँच वटा ग्रामीण सडक एकै पटक स्तरोन्नति गर्न थालिएको छ । करिब तीन वर्षअघि गाउँपालिकाले ट्र्याक खोलेका ती पाँच वटा सडकको स्तरोन्नति गर्न थालिएको हो । जस अनुसार ती सडकमा कुलो मर्मत, तटबन्धन, घेराबारको काम सुरु भएको छ । 

स्थानीय सरकारसँगको साझेदारीमा विश्व खाद्य कार्यक्रम, स्थानीय पूर्वाधार सहयोग कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति थालिएको छ । स्थानीय विकास पूर्वाधार सहयोग कार्यक्रमका इन्जिनियर शैलेश शर्माका अनुसार विद्युत् कुलो मर्मत, तटबन्धन, घेराबार पाँच वटा सडक स्तरोन्नतिको काम चालु आर्थिक वर्षमा सकिने गरी थालिएको छ । बारेकोट गाउँपालिका–३ वडा कार्यालयदेखि मुल्सामसम्म सडक निर्माण स्थानीय पूर्वाधार सहयोग कार्यक्रमले ८४ लाख ३३ हजार ७६० रुपियाँ, बारेकोट–७, स्याला खोला सडक स्तरोन्नति गर्न ३२ लाख चार हजार ३६३ रुपियाँ, सोही वडाको कार्कीज्युलादेखि वडा कार्यालयसम्म सडक स्तरोन्नति गर्न ३१ लाख ९८ हजार ५४९ रुपियाँको लागतमा निर्माण समितिसँग सम्झौता गरी काम सुरु भएको छ । 

यस्तै बारेकोट गाउँपालिका–२, लिम्सा, कुजे खोलादेखि रोकायगाउँसम्मको सडक स्तरोन्नतिका लागि ५२ लाख ६९ हजार आठ सय, सोही वडाको सेरी सडक निर्माणका लागि ३१ लाख ६६ हजार ३८० रुपियाँको लागतमा सम्झौता गरी स्तरोन्नति भइरहेको उहाँले बताउनुभयो । बारेकोट गाउँपालिका–३, गाग्रा खोला लघु जलविद्युत् आयोजनाको कुलो मर्मतका लागि २८ लाख ५८ हजार ११६, वडा नं. ४ को जडीबुटी भवनको घेराबारका लागि छ लाख ८९ हजार १३३, वडा नं. ८, सेपु खोला तटबन्धनका लागि १९ लाख २६ हजार ८१७ रुपियाँको लागतमा निर्माण समितिसँग सम्झौता गरी काम अघि बढाइएको छ । 

स्थानीय सरकारले ट्र्याक खोलेर अलपत्र परेका सडक स्तरोन्नतिको जिम्मा विश्व खाद्य कार्यक्रमले लिएपछि सरकारलाई सहयोग पुगेको छ । गाउँपालिकासँग सडक सञ्जाल नजोडिएको मुल्साममा सडक पुग्ने भएपछि बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले विश्व खाद्य कार्यक्रमलाई धन्यवाद दिनुभयो । सडक स्तरोन्नतिको काम सम्पन्न भएपछि ग्रामीण बस्तीका सर्वसाधारणको गाडी चढ्ने सपना पूरा हुने उहाँको भनाइ छ । बारेकोट गाउँपालिका–५ का केशव रोकायले पालिकासँग सडक सञ्जाल नजोडिएका गाउँबस्तीका सडक निर्माणको काम सुरु भएपछि गर्भवती, सुत्केरी, दीर्घरोगीलाई उपचारका लागि अस्पताल ल्याउन, स्थानीय तहमा सेवा लिन आउने सेवाग्राहीलाई सहज हुने बताउनुभयो । भौगोलिक विकटता दुर्गम बस्तीमा सडक निर्माणको काम सुरु भएपछि स्थानीयवासी खुसी छन् ।